प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो। नेता श्रेष्ठले पूर्वतयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए। विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको पनि उनले बताए।
प्रधानमन्त्री ओलीले विपद् न्यूनीकरण र आइलागेको विपद्को सामना सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने प्रतिक्रिया दिए।
सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरू वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरू सहभागी थिए।
Shares
प्रतिक्रिया