ad ad

राजनीति


लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन

लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन

नेपालखबर
असोज २०, २०८१ आइतबार १८:२८, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरुलाई निर्देशन दिएका छन्।

ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएका थिए।

सो बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उहाँहरू र उनका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएका थिए।

सो बैठकमा मन्त्री डा राणाले भने, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु।’

मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका हेल्पडेस्क स्थापना गरेर समस्यामा परेका नेपालीहरुलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएका थिए।

इजिप्टका लागि नेपाली राजदूत सुशिल लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए।

त्यहाँ हाल करिब एक हजार २०० नेपाली रहेका अनुमान गरिएको र उहाँहरुमध्ये अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको उनले बताए। 

हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी रिपोर्टिङ नगर्नुभएको तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित भएको पनि उनले जानकारी दिए।

त्यसैगरी इजरायलका लागि नेपली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार ५०० नेपाली सुरक्षित रहनुभएको बताए।

त्यस्तै, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .