ad ad

राजनीति


कांग्रेसको ५० लाख सहयोग लिँदै प्रधानमन्त्रीले भने- राहत वितरण प्रभावकारी बनाउँछौँ

कांग्रेसको ५० लाख सहयोग लिँदै प्रधानमन्त्रीले भने- राहत वितरण प्रभावकारी बनाउँछौँ

नेपालखबर
असोज २०, २०८१ आइतबार १८:१२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो पीडितलाई राहत दिने कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताएका छन्।

आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसले राहत स्वरुप दिएको ५० लाख रुपैयाँ ग्रहण गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। 

विपत्तिको बेलामा सामाजिक संघ, संस्थाहरूले पनि पीडितलागि गरेको सहयोग उत्साहपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरूको राहतको काममा सरकार अझै क्रियाशील भएर लागि पर्ने बताए।

‘विपत्तिका बेला सबै पक्षहरू, सबै शक्तिहरू, राष्ट्रिय जीवनका सबै पक्षहरू मिलेर एकतावद्ध भएर जानुपर्दछ। यो साझा विपत्तिको सामना सबैले मिलेर गर्नुपर्छ भन्ने मुख्य भावना र अरु त्यसका लागि के कस्ता कदम चाल्नुपर्छ, के कस्ता नीतिहरू लिनुपर्छ भन्ने समेत ३४ वटा बुँदामा विस्तृत रुपमा प्रश्तुत गर्नुभएको छ सुझावहरु,’ प्रधानमन्त्री ओलीले भने, ‘म नेपाली कांग्रेसका सभापतिज्युलगायत सबै साथीहरू र सिंगो पार्टीलाई धन्यवाद भन्न चाहन्छु। विपत्तिले हामी सबै उमेर, समुह, जात कसैका पनि छोडेको छैन। यो विपत्ति सबैका लागि समान रुपमा आएको छ। सबैले मिलेर यसको सामना गरौँ।’

विपद्को सामना सबैले मिलेर गर्नुपर्ने उल्लेख गर्दै त्यस काममा केन्द्रित भएर लागेकोमा सबै राजनीतिक दल, व्यक्ति, शक्ति लगायतका सबैप्रति आभार पनि उनले व्यक्त गरे।

‘यस काममा नेतृत्व स्वभाविक रुपमा सरकारले लिनुपर्छ। र सरकारले गरिपनि आएको छ। यसमा रेस्क्यु अपरेसनमा खासगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, असाधारण योगदान रहेको छ। सबैलाई धन्यवाद दिनुपर्छ, जसले आफ्नो आफ्नो ठाउँबाट व्यक्तिहरुले आफ्नो ज्यान जोखिममा राखेर पनि व्यक्तिगत तवरमा पनि काममा लाग्नु भएको छ साथीहरू। कसैले भनेर होइन, लगाएर होइन, आफनै हिसावले पनि गर्नु भएको  छ। संघ, संस्थाहरु बैंकिङ क्षेत्र, अरु संघ, संस्थाहरूले पनि उत्साहपूर्ण ढंगले सहयोग गरिरहनुभएको छ। यसप्रति म खुसी व्यक्त गर्न चाहन्छु। र राजनीतिक दलहरुले पनि यसमा सहयोगको हात बढाइरहनुभएको छ। धन्यवाद भन्न चाहन्छु। र के विश्वास दिलाउन चाहन्छु भने सरकारले यस कामको लिड लिनेछ। र प्रभावकारी ढंगले यसको समाधानको अगुवाई पनि गर्नेछ। सरकारले एक्लै गर्छ म भन्दिन। अगुवाई गर्छ, सरकारले लिड गर्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .