प्रदेश ५ को राजधानी सार्ने प्रदेश सरकारको प्रस्तावविरुद्ध असन्तुष्टि जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का करिब २३ सय पार्टी सदस्यले राजीनामा दिएको घोषणा गरेका छन्।
विभिन्न उद्योग व्यवसायमा आबद्ध नेकपा कार्यकर्ताले बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन्।
पार्टीबाट राजीनामा दिएको घोषणा गर्नेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरु समेत रहेको बताइएको छ।
बुटवल र आसपासको क्षेत्रमा रहेका ३५ वटा व्यावसायीक संघसंस्थामा नेकपाका करिब २३ सय हाराहारी क्रियाशील पार्टी सदस्य छन्।
उनीहरुले पत्रकार सम्मेलनमार्फत् सामूहिक राजीनामा दिएको जानकारी गराएका हुन्। रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीका सयौं कार्यकर्ता र आम सर्वसाधारणको जनभावनाविपरीत राजधानी सार्न लागिएकाले आफूहरुले सामूहिक राजीनामा दिएको जानकारी दिए।
पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी नेतृत्वले निरंकुश शैली अपनायो। यस क्षेत्रका कयौं नागरिकको जनभावना बुझेन। आफूखुशी राजधानी सार्न प्रदेश सरकारलाई निर्देशन दियो। अब हामी कसरी पार्टीमा बसिरहन सक्छौं?’
बोहराले यस क्षेत्रका सांसदहरुको मत राख्ने अधिकार समेत पार्टीले ह्वीप लगाएर बञ्चित गरेको आरोप लगाए। यस्तो गरिरहँदा पार्टीमा बस्नुपर्ने कुनै औचित्य नरहेको उनले बताए।
व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका छन्।
होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन र बलियो बनाउन व्यवसायीहरुको ठूलो भूमिका रहे पनि त्यसको अवमूल्यन गरेको जनाउँदै पार्टीबाट राजीनामा दिएको बताए।
नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काँध चढेर चुनाव जितेका पार्टीका नेताहरुसँगै बस्नुको कुनै औचित्य नभएको बताए।
उनले नागरिकको मर्म र पार्टी कार्यकर्ताको भावना नबुझ्नु पार्टीको ठूलो भुल भएको जिकिर गरे। उनले रुपन्देहीमा पार्टीलाई बचाइ राख्ने हो भने संसदमा पेस भएको राजधानीसम्बन्धी प्रस्ताव फिर्ता लिन माग गरे। उनी तत्कालीन एमालेको जिल्ला कमिटी समस्य समेत भइसकेका उद्योगी हुन्।
रुपन्देहीका नेकपासम्बद्ध उद्योगी व्यवसायीले प्रदेशको अस्थायी राजधानी तोकिएपछि प्रदेश सरकार र संसद सचिवालयलाई ठूलो सहयोग गरेका छन्। बुटवल उद्योग बाणिज्य संघले त आफ्नो भवन नै प्रदेश सभालाई प्रयोग गर्न दिएको छ।
संसदमा प्रस्ताव दर्ता भएदेखि नै विरोधमा उत्रिएका नेकपा सम्बद्ध व्यवसायीले दिएको राजीनामाका कारण रुपन्देही नेकपामा ठूलो धक्का लागेको छ।
याे पनि:
- प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावमा आज मतदान हुँदै, विपक्षमा उभिन कांग्रेसको ह्विप
- राजधानी विवादः सतहको नेकपा–कांग्रेस कलहभन्दा ओली गुटकै दुई खम्बाबीचको टक्कर झनै पेचिलो
- कांग्रेस र जसपा सांसद : जसले प्रदेश सभालाई रणभूमि बनाए (भिडियाे)
प्रतिक्रिया