ad ad

राजनीति


जसले पार्टीको ह्वीप मानेनन्

जसले पार्टीको ह्वीप मानेनन्

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार ११:४८,

पार्टी संसदीय दलको ह्वीपका बाबजुद पनि प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्तावको पक्षमा नेपाली कांग्रेसका ५ सांसदले मतदान गरेका छन्।

काँग्रेसले ह्वीप नै जारी गरेर राजधानी दाङ राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न भनेको थियो।

मंगलबार राजधानीबारे सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा काँग्रेसका सांसदहरु भुवनेश्वर चौधरी, मोहम्मद याकुव अन्सारी, शंकर गिरि, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन्।

उनीहरुमध्ये डिल्ली चौधरी, गिरी र श्रेष्ठ दाङका, भुवनेश्वर चौधरी बर्दिया र अन्सारी बाँकेका हुन्। कांग्रेसका सांसद सुरेन्द्र हमाल मतदानमा सहभागी भएनन्। उनी अहिले काठमाडौंमा छन्।

प्रदेशसभामा कांग्रेसका १९ सांसदमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका छन्।

कांग्रेसले हाल अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने भन्दै सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी गरेको थियो।

यस्तै, दाङ राजधानी राख्ने पक्षमा मतदान गर्न जनता समाजवादी पार्टीले ह्वीप जारी गरेको भए पनि २ जना सांसदले भने मतदान प्रक्रिया नै बहिष्कार गरेका छन्।

पार्टीको ह्वीपविपरीत गएरै समाजवादीका सांसद सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेले मतदान बहिष्कार गरेका हुन्।

सन्तोष रुपन्देहीको क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन् भने कल्पना समानुपातिकतर्फकी सांसद हुन्। प्रदेश सभामा समाजवादीका ६ जना सांसद छन्।

मंगलबार प्रदेश सभामा भएको मतदानमा दुईतिहाइ बहुमत सांसदले दाङको देउखुरी (भालुवाङ) क्षेत्रलाई राजधानी बनाउन मतदान गरेका थिए।

नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम दुईतिहाइ बहुमत पुगेकाले राजधानी देउखुरी क्षेत्रलाई कायम गरिएको सभामुख पूर्णबहादुर घर्तीले सभा समक्ष जानकारी गराएका थिए।

देउखुरी राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका छन् भने त्यसको विपक्षमा १३ जना सांसदले मतदान गरेका छन्। प्रदेश सभामा ८७ जना सांसद भए पनि मतदानमा ८२ जना मात्रै सहभागी भएका थिए।

जसले लुम्बिनी प्रदेश नामविरुद्ध मतदान गरे
प्रदेश पाँचको नाम लुम्बिनी प्रदेश राखियोस् भन्ने प्रस्तावमा समाजवादी पार्टीका ४ जना सांसदले विपक्षमा मतदान गरेका छन्।

विपक्षमा मतदान गर्नेमा संसदीय दलका नेता सहषराम यादव, विजय यादव, सुमन शर्मा रायमाझी र पुरमती ढेगा मगर छन्।

मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको थियो।

प्रदेश सभामा रहेका ८७ मध्ये ८३ जना सांसद मतदानमा सहभागी भएका थिए।

समाजवादीका ४ जनाले विपक्षमा मतदान गरे पनि दुई जनाले भने लुम्बिनी प्रदेश राखियोस् भन्ने पक्षमा मतदान गरेका छन्।

मतदान गर्नेमा सांसद सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डे छन्। उनीहरु साविक लुम्बिनी अंचलका भएकाले पनि लुम्बिनी प्रदेश नाम राख्न मतदान गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .