जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र नै सिध्याउने खेलमा लागेको आरोप लगाएका छन्। उनले संसद विघटन गर्ने निर्णय संविधानविपरीत भएको बताउँदै गणतन्त्र सिध्याउन ओली उद्धत रहेको जिकिर गरेका हुन्।
मंगलबार रुपन्देहीको भैरहवामा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै पनि अधिकार नदिएको बताउँदै संसद पुनस्र्थापना हुनुपर्ने माग गरे।
‘प्रधानमन्त्रीको गैरसंवैधानिक कदमलाई अदालतले सच्याउने हाम्रो विश्वास छ। यदि अदालतले पनि नसच्याए हामी जनतामाझ जान्छौं र लाखौं जनता सडकमा ल्याएर आन्दोलन र जनताको बलबाट संसद विघटन गर्ने निर्णय फिर्ता गराउँछौं’, उनले भने।
अध्यक्ष यादवले ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर देशलाई नै अस्थिरतातर्फ धकेलेको बताए। उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिश गर्नु नै प्रतिगमनको पराकाष्ठा भएको जनाए।
‘ओलीको कदमले नेपालको संविधान र लोकतन्त्रलाई नै ध्वस्त बनाउने छ। त्यसैले यसविरुद्ध लड्नुको विकल्प छैन’, यादवले भने। उनले संविधानको रक्षक राष्ट्रपतिबाटै संविधानको मर्ममाथि प्रहार हुने कामसमेत भएको दावी गरे।
यादवले कम्युनिस्ट र राजसंस्था एउटै भएको जनाउँदै त्रिभुवनको पालादेखि नै कहिले राजाले त कहिले कम्युनिस्टले संविधानलाई नष्ट गरेको आरोप लगाए। ‘घटना क्रमले देखाएका छन्, राजसंस्था र कम्युनिस्ट एउटै हुन्, उनीहरुले संविधान मान्दैनन्’, उनले भने।
अध्यक्ष यादवले मुलुकमा तत्काल निर्वाचन सम्भव नभएको बताउँदै निर्वाचन हुनेमै शंका गरे। मुलुकको अर्थतन्त्रले नै न धान्ने उनको भनाइ छ। ‘चुनाव भए पनि निष्पक्ष हुँदैन, ओलीले धाँधली गर्छन्, त्यसैले हामी सहभागी हुने, नहुने भन्नेमा निश्चित छैन’, उनले भने। मुलुकमा भ्रष्टाचार व्याप्त रहेको जनाउँदै नियन्त्रणमा ओली असफल भएको बताए।
जसपाका नेता शरदसिंह भण्डारीले राजनीतिक मुद्दालाई लिएर लाखौं जनताको मर्ममाथि प्रहार हुने गरी संसद विघटन गरिएको बताए। उनले राष्ट्रपतिले संसद विघटन गर्दा उल्लेख गरिएका शब्दाबली र संविधानका धारा नै ठीक नभएको जिकिर गरे। जसपा नेताहरुले कुनै पनि हालतमा संसद पुनस्र्थापना हुनुपर्ने बताउँदै यदि संसद पुनस्र्थापना भएन भने चुनाव हुन्छ, हुँदैन भन्ने नै यकीन नभएको बताएका थिए।
नेताहरुले चुनाव भए पनि भाग नलिने संकेत गरे। कार्यक्रममा राप्रपा, नेकपा, कांग्रेसलगायत दल परित्याग गरी करिब ३ सय जना जसपा प्रवेश गरेका थिए। अध्यक्ष यादवले उनीहरुलाई अबीर लगाएर स्वागत गरेका थिए।
Shares
प्रतिक्रिया