सुदूरपश्चिम प्रदेश सरकारले आज (बिहिवार) आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम ल्याउँदै छ।
बजेटमाथिको पूर्व छलफल सकिएपछि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो। त्यसका लागि बिहिवार दिउँसो ४ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको संसद सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिए।
उनका अनुसार सो प्रदेश सभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले अगामी आर्थिक वषको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ।
कोरोना संक्रमणको दोस्रो लहरका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ भएकाले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर नीति तथा कार्यक्रम ल्याउन लागिएको प्रवक्ता चटौत बताउँछन्।
‘कोरोनाका कारण समयमा नै बजेट अधिवेशन बोलाउन सकिएन। त्यसैले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर केही प्रक्रिया छोट्याएर नीति तथा कार्यक्रम ल्याउन लागिएके हो।’ उनले भने।
सुदूरपश्चिम प्रदेशसभा नियमावलीमा बजेट प्रस्तुत हुनुभन्दा १५ दिनपहिले नै प्रिबजेट प्रस्तुत भएर छलफल प्रारम्भ गर्नुपर्ने र एक साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गरेर छलफल गर्नुपर्ने व्यवस्था छ।
यद्यपी कोरोनाका कारण समयमै बजेट अधिवेशन बोलाउन नसकिए पछि यस वर्ष अध्यादेशमार्फत ऐन संसोधन गरिएको थियो।
सुदूरपश्चिम प्रदेशमा २१ जेठदेखि बजेट अधिवेशन सुरु भएको थियो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर असार १ गते झण्डै २८ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया