राजनीति


बागमती प्रदेश सरकारको उपलब्धि, पाँच महिनामै १९ जना मन्त्री

बागमती प्रदेश सरकारको उपलब्धि, पाँच महिनामै १९ जना मन्त्री

फाइल तस्बिर


सुनिता विष्ट
जेठ ९, २०८० मंगलबार १७:१९, हेटाैंडा

बागमती प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको जेठ १३ गते पाँच महिना पूरा हुन्छ।

यो अवधिमा बागमती प्रदेश सरकारले मुख्यमन्त्रीसहित १९ मन्त्री पाइसकेको छ। १४ मन्त्रालयबाट ३ मन्त्रालय समायोजन गरेर ११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको ५ महिना पनि नपुग्दै एक मन्त्रीको संख्या बढ्यो। सत्ता गठबन्धन टिकाउने मेलोमा लागेका मुख्यमन्त्रीले बिनाविभागीय मन्त्री नियुक्त गरे।

मन्त्रालयको संख्या बढाउने कि राज्यमन्त्री थप्ने भन्ने टुंगो नलाग्दै कांग्रेसका रामकृष्ण चित्रकारलाई बिनाविभागीय मन्त्रीमा नियुक्त गरेर शपथ ग्रहण गराइयो। जसकारण अहिले यहाँ मन्त्रालयभन्दा मन्त्रीको संख्या बढी छ। 

उसो त, सरकारमा अस्थिरता आउँदा बागमतीमा ५ महिनाकै अवधिमा १९ मन्त्री पुगिसेका छन्। पहिलोपटक एमाले, राप्रपा र माओवादीको गठबन्धनबाट सरकार बनेको १ महिना पनि नपुग्दै राप्रपा सरकारबाटै बाहिरियो।

राप्रपा बाहिरिएको १ महिना नबित्दै एमालेका मन्त्रीहरू पनि सरकारबाट बाहिरिए। १ महिनामा सरकारलाई पूर्णता दिन सफल भए पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रयास अधुरै रह्यो।

दोस्रो कार्यकाल सुरु भएको ३ महिनामा नै बागमतीका ७ मन्त्री निर्वतमान बने। जुन ७ रिक्त मन्त्रालयमा कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट ७ मन्त्री नियुक्त गर्नुपर्नेमा भागबन्डा मिलाउन ८ मन्त्री नियुक्त भए।

पहिलोपटक गठन भएको सरकारमा मुख्यमन्त्रीसहित ११ सदस्य रहँदा हाल १२ सदस्यीय मन्त्रीपरिषद् बनेको छ। हाल कांग्रेस र नेकपा एसबाट ८ मन्त्री थपिँदा दोस्रो कार्यकालको ५ महिनाको अवधिमा मन्त्रीको संख्या १९ पुगिसकेको छ। 

पुस ११ गते सांसदले सपथ खाएपछि पुस २६ गते माओवादी नेता शालिकराम जम्मकट्टेलको नेतृत्वमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन भयो। जसमा माओवादीका मुख्यमन्त्रीसहित ४, एमालेका ४ र राप्रपाको भागमा ३ मन्त्रालय पर्‍यो। 

मन्त्रिपरिषद्‌मा एमालेका जगन्नाथ थपलिया अर्थमन्त्री, एकलाल श्रेष्ठ श्रम, रोजगार तथा यातायातमन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री बने। यसैगरी राप्रपाबाट उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइँमन्त्री, राजु विष्ट वन तथा वातावरणमन्त्री र डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री बनेका थिए।

रिक्त रहेको ७ मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारीमा जुटिरहेका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई १ मन्त्री बढाउनैपर्ने दबाब आइपर्‍यो। कांग्रेसले ६ र नेकपा एसले २ मन्त्रालयको दाबी नछोडेपछि केन्द्रकै निर्देशनमा ८ मन्त्री नियुक्त भए। 

यसअघि माओवादीबाट मुख्यमन्त्रीसहित समाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा योजनामन्त्री गंगानारायण श्रेष्ठ छन्।

यसरी पहिलोपटकको सरकार गठनमै ११ सदस्य पुगिसकेको बागमतीमा चौथो पटक मन्त्रिपरिषद् विस्तार हुँदा १९ पुगेको हो।

तेस्रो पटक गत चैत्र २६ गते कांग्रेस संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामा अर्थमन्त्री र कांग्रेसकै तिर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिंचाइँमन्त्रीमा नियुक्त भएका थिए। 

त्यसपछि गत आइतबार ६ मन्त्री नियुक्त भए। कांग्रेसबाट ४ र नेकपा एसबाट २ मन्त्री नियुक्त भएका हुन्।

जसमध्ये एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात मन्त्री, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री, मसिना खड्का वन तथा वातावारण मन्त्री, पुकार महर्जन उद्योग, पर्यटन तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हुन्।

रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्रीमा नियुक्त भए। 

मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ११ बनाउनुलाई मुख्य उपलब्धिको रूपमा प्रचार गर्दै आएका मुख्यमन्त्री जम्कट्टेलले यसरी आफ्नै निर्णय उल्टाएर सरकारलाई पूर्णता दिए।

गत पुस २६ गते मुख्यमन्त्री पदको शपथ गरेलगत्तै उनले मन्त्रालयको संख्या घटाउने निर्णय गर्दै माघ १० गते १४ मन्त्रालयलाई ११ वटा कायम गरेका थिए । गठबन्धन फेरिएसँगै दलीय भागबण्डा मिलाउन उनले आइतबार ११ मन्त्रालयमा १२ मन्त्री नियुक्त गरे ।

यस विषयमा मुख्यमन्त्री जम्मकट्टेलले बागमती क्याबिनेटलाई पूर्णता दिन मन्त्रालयको संख्या बढाउनपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। मन्त्रालय विभाजन नभई एक बिनाविभागीय मन्त्री थपिएको उनले बताए। 

‘सबैतिर सन्तुलन मिलाउँदा सरकारमा सहभागी सबै दलको प्रतिनिधित्वलाई मिलाएर लाने अवस्थामा केही जटिलता, केही अप्ठ्यारा आइपरेकै छन्,' उनले भने, 'त्यसलाई मिलाउने क्रममा हामीले एक जना बिनाविभागीय मन्त्री नियुक्त गरेका हौं।’

भागबण्डा मिलाउनकै लागि थप एक मन्त्री नियुक्त गरिएको स्वीकार उनले गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .