ad ad

राजनीति


अनेक रूपका बदर मत!

अनेक रूपका बदर मत!

तारानाथ आचार्य
मंसिर ७, २०७९ बुधबार १३:२९, बलेवा

सानो मत पत्र, चुनाव चिह्न थोरै। एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने। स्थानीय तहको सक्रियतामा घरघरमा स्वयंसेविका खटाएर दिइएको मतदाता शिक्षा। उम्मेदवार तथा दलहरुले आ–आफ्नो चिह्नमा मत राख्नका लागि सञ्चालन गरेको मतदाता शिक्षा। 

मतदानको दुई दिन पहिलेसम्मका यी सबै क्रियाकलाप हेर्दा लाग्थ्यो– यो पटक बदर मत निकै कम आउँछ। स्थानीय निर्वाचनमा बदर मत धेरै देखिएपछि यसपटक मतदाता शिक्षा पनि दिइएको हो।

महिला स्वास्थ्य स्वयंसेविका खटाएर पनि यस्तो शिक्षा दिइयो भने अर्कातर्फ राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि घरघर पुगेर अभियानमा पनि मत हाल्न सिकाएकै थिए। तर शिक्षा र सचेतनाको कमी भनौँ या दल या उम्मेदवारहरुप्रतिको वितृष्ण। धेरै र अनेक तरहका बदर मत भेटिएका छन् बागलुङमा। 

मतगणना जारी रहेको बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभामा छवटा चुनाव चिह्न छन्। मत सङ्केत गर्न निकै सहज मतपत्र हुँदाहुँदै पनि मतदाताले भने एउटा मात्रै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्नेमा छवटै चिह्नमा छाप लगाएका छन्। यस्तो बदर मतको सङ्ख्या गन्ने हो भने उल्लेख्य छ।

मत पत्रमा रहेका कुनै पनि चिह्नमा छाप नलगाएका मतपत्रको सङ्ख्यामा पनि कमी छैन। नेपालको संविधानले नो–भोटको व्यवस्था गरेको छैन। त्यसैले मतपत्रमा नो भोटको विकल्प राखिएको छैन। सायद यसैको प्रतिफल पो हो कि? मानिसहरुले नो भोटको स्वरुपमा मत बदर गराइरहेको देखिँदै छ। 

केही बदर भएका मतपत्र यस्ता छन् - जहाँ नो भोट लेखेर छाप नलगाई छोडेको पाइयो। बागलुङ क्षेत्र नं १ मा १४ हजार एक हजार २३ मतगणना हुँदा चार सय ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको सूचनामा उल्लेख छ। बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन्। 

‘कैयौँ मत खाली छन्, सायदै कसैले नजानेर खाली खसालेको होस्’, मतगणनामा सहभागी एक कर्मचारीले भने, ‘कतिपय मतपत्रमा नो भोट लेखेको भेटेका छौँ भने कुनै मतपत्रमा चाहिँ सबै चिह्नमा छाप लगाइएको पनि छ। दलहरु तथा उम्मेदवाररहरुप्रतिको वितृष्णा मतदाताले मतपत्रमा पोखेको भेटेको ती कर्मचारीले बताए। बागलुङ क्षेत्र नं १ प्रदेशसभा (१) मा १५ हजार नौ सय तीन मतगणना हुँदा तीन सय ५२ र प्रदेशसभा ९२०मा १५ हजार एक सय ६५ मतगणना हुँदा तीन सय ९१ मत बदर भएका छन्। 

‘वृद्धवृद्धा र अशक्तहरुका मत वारेसमार्फत खसेका हुन्, एकाघरको व्यक्तिलाई वारेस बस्न दिइएकाले बदर कम हुनुपर्ने हो’, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खगेन्द्र पौडेलले भने, ‘सबै चिह्नमा लगाउने, खाली मत खसाल्ने गतिविधि नजानेरभन्दा जानेरै गरेको हुनुपर्छ।’ 

दलहरुले बदर मत, विगतका निर्वाचनमा भन्दा फरक नतिजा आउनेगरी खसेको मत र मत जाहेर गर्दा मतदातामा देखिएको वितृष्णा किन उत्पन्न भइरहेको छ भन्ने विषयको अब खोजी हुनुपर्ने बागलुङ नगरपालिका–२ का युवा मनिष रायमाझी बताउँछन्। 

‘एक मतदाताले भने मैले मत दिएँ तर मन लागेर दिएको होइन। आफ्नो अधिकार प्रयोग गरौँ भनेर गएँ तर सबैमा लगाइदिएँ’, बागलुङ नगरपालिका–२ का एक मतदाताले भने, ‘निर्वाचन हारजितको खेल मात्रै भयो, जितेकाले जनतालाई फर्केर हेरेनन्, न त उनीहरु चुनाव जितेर गएपछि जनताका दुःख के छन् भनेर हाम्रो घरमा फर्केर आए, त्यसैले मलाई मत दिनै मन लागेन।’ 

स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपर्थ्यो। त्यसैले भूलवश या नजानेर पनि मत बदर हुने सम्भवान धेरै थियो। तर अहिले त्यस्तो छैन। सानो मतपत्र, थोरै उम्मेदवार र स्पष्ट र थोरै चिह्न। तर पनि यो निर्वाचनमा बदर मत धेरै अनि विभिन्न स्वरुप र तरहमा आएका छन्। त्यसैले आगामी निर्वाचनहरुमा समृद्ध व्यक्ति र निकायले यस विषयमा सोचविरचार गर्नुपर्ने देखिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .