राजनीति


प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै, मुख्यमन्त्री कार्की कि आङ्बो?

केन्द्रको निर्णय कुर्दै दलहरू
प्रदेश १ सरकार गठनको समयसीमा आज सकिँदै, मुख्यमन्त्री कार्की कि आङ्बो?

ध्रुव भट्टराई
पुस २४, २०७९ आइतबार ९:४४, विराटनगर

केन्द्रबाट निर्णय नआउँदा प्रदेश १ मा सत्ता गठबन्धनका दल सरकार गठनको समयसीमा घर्किनै लाग्दा पनि अनिर्णित देखिएका छन्। 

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशका दलहरूलाई मुख्यमन्त्री पद दाबी गर्न दिएको एक साताको समय आज साँझ ५ बजे सकिँदै छ। तर सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवैले प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दा र केन्द्रबाट नेताहरूले यसको छिनोफानो नगरिदिँदा अझै सरकार गठनको प्रक्रिया अघि बढ्न सकेको छैन। 

आज यसको टुंगो लगाउने ती दलले दाबी गरेका छन्। एमालेले प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ। यसले माथि केन्द्रमा प्रदेश १ एमालेले पाउने निश्चित भएकाले सरकार गठनमा कुने समस्या नरहेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी गरे।

‘केन्द्र सत्ता बाडफाँडको विषयमा सबै कुरा टुंगिसकेको अवस्था छ’, मुख्यमन्त्रीका दाबेदारसमेत रहेका नेता कार्कीले भने,  ‘एमालेको नेतृत्वमा प्रदेश १ मा सरकार गठन हुनेछ।’ 

उनले नेताहरूले आज अपराह्नसम्म यसबारे निर्णय गरेपछि मुख्यमन्त्रीको दाबी पेस गरिने बताए। 

माओवादी केन्द्रले भने केन्द्रमा छलफल जारी रहेका कारण प्रदेश १ मा मुख्यमन्त्री को बन्ने भन्ने निश्चित भइनसकेको बताएको छ। माओवादी केन्दबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘काठमाडौंमा शीर्ष नेताहरूबीच छलफल जारी रहेका कारण प्रदेशमा कसको नेतृत्व भन्ने टुंगो लागिसकेको छैन।’ 

केन्द्रको छलफलको निष्कर्ष नआएसम्म के हुने भन्ने प्रस्ट नहुने उनको भनाइ छ। यो खबर लेख्दासम्म सत्ता साझेदार दल शक्ति बाँडफाटको टुंगोमा पुगेका छैनन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आह्वान गरेका थिए। 

मुख्यमन्त्रीको दाबी गरिरहेका दल एमाले र माओावदी केन्द्रले आफ्ना  पार्टीका शीर्ष नेताहरूलाई भेटेर प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडान यसअघि नै राखिसकेका छन्।

एमालेबाट मुख्यमन्त्रीका रूपमा अघि सारिएका दलका नेता हिक्मत कार्कीसहितको टोलीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसअघि भेटेर एमालेकै नेतृत्वमा प्रदेश १ मा सरकार गठनका लागि अडान प्रस्तुत गरेका छन्। नेता कार्की ओलीका विश्वास पात्र हुन्। 

त्यसैगरी माओवादी केन्द्रको प्रदेश संसदीय दल तथा पार्टी कमिटीले प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। त्यही विषयमा शनिबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आङ्बोले भेटेर छलफल गरेका छन्। 

प्रधानमन्त्रीसँगको छलफलबारे भने उनले खुलाउन चाहेनन्। ‘समग्र राजनीतिक अवस्थाबारे छलफल भयो’, उनले भने ‘प्रदेशको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ गठबन्धन अन्तिम निर्णयमा पुगिसकेको छैन।’ प्रदेश १ मा माओवादीसँग १३ सिट छ।

सत्ता साझेदार दुई ठूला दलबीचकै फरक–फरक दाबीले अन्योल कायमै छ। एमाले प्रदेश अध्यक्ष न्यौपानेले प्रदेशको मुख्यमन्त्री र सभामुखको भागबन्डा केन्द्रले गरिनसकेको बताएका छन्। ‘सभामुख र मुख्यमन्त्रीको भागबन्डा गठबन्धनको केन्द्रबाटै हुनेछ। आइतबार अपराह्नसम्म यसको टुंगो हुनेछ’, उनले भने,  ‘बाँकी यहाँको मन्त्रिमण्डलबारे भने प्रदेशमै निर्णय हुनेछ।’

प्रदेशसभामा सबै भन्दा ठूलो एमालेसँग ४० सिट छ। एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। केन्द्रीय गठबन्धनमा सामेल राप्रपाका ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।

आफूहरू सरकारमा सामेल हुने/नहुने टुंगो भइनसकेको बताउने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले एमाले नेता हिक्मतकुमार कार्की नै मुख्यमन्त्री बन्ने र आइतबार नै सानो मन्त्रिमण्डल गठन हुनसक्ने बताएका छन्।

‘सहमति त्यस्तै भएको छ’, उनले भने ‘आइतबार नै सानो मन्त्रिमण्डल बन्ने सम्भावना छ।’

प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्। कुनै पनि दलसँग एक्लै सरकार बनाउन पुग्ने बहुमत नभएका कारण दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .