राजनीति


प्रदेश १ : जसपाकी एक्ली सांसद, जसलाई माओवादीले जुराइदियो मन्त्री बन्ने अवसर

प्रदेश १ : जसपाकी एक्ली सांसद, जसलाई माओवादीले जुराइदियो मन्त्री बन्ने अवसर

निर्मला लिम्बू


ध्रुव भट्टराई
पुस २७, २०७९ बुधबार १०:५३, विराटनगर

ताप्लेजुङकी निर्मला लिम्बू त्यस्ती भाग्यमानी प्रदेश सांसद भइन्, जो पार्टीका तर्फबाट एकमात्र प्रदेशसभा सदस्य मात्र बनिनन्, प्रदेश १ सरकारको मन्त्री पनि बनिन्। 

प्रदेशसभा चुनाव प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिकतर्फ भने एकजना प्रदेशसभा सदस्य चुनिने मत ल्यायो। जसमा पार्टीका तर्फबाट एकमात्र सांसद बन्ने सौभाग्य पाइन्– निर्मलाले। उनको पहिलो संसद्‌ यात्रा यतिमै रोकिएन, एमाले नेतृत्वको प्रदेश १ सरकारमा मन्त्रीसमेत बनिन्।  

फुङलिङ ६ मा ढाका कपडा उद्योगसमेत चलाइरहेकी ४२ वर्षीया निर्मलाले प्रदेशमन्त्री बनेपछि नेपालखबरसँगको कुराकानीमा भनिन्, ‘राजनीतिमा कतिखेर के हुन्छ, कसैले अनुमान लगाउन सकिन्न। त्यस्तै भएको छ, मेरो जीवनमा पनि। पहिला राज्यमन्त्री मात्र दिने कुरा आएकाले सरकारमा जाने सोचमा म थिइनँ। तर पछि मन्त्री नै दिने भनेपछि सरकारमा सहभागी हुन पुगेँ।’

उनलाई मन्त्री बन्न सहज बाटो खोलिदिएको थियो– नेकपा माओावादी केन्द्रले। केन्द्रमा सत्ता गठबन्धनभित्र प्रदेश १ सरकारको नेतृत्व पाँचै वर्ष एमालेलाई दिने सहमति भए पनि माओवादीको प्रदेश नेतृत्व यसप्रति असहमत हुँदै सरकारमा सहभागी भएन। यसपछि एक सिटमा सीमित जसपाकी प्रदेशसभा सदस्य निर्मला मन्त्री हुने बाटो खुलेको हो। 

किनकि माओवादी केन्द्र सरकारमा सामेल नहुने भएपछि प्रदेशसभामा बहुमत पुर्‍याउन जसपा अर्थात् यसकी एक्ली सांसद निर्मलाको समर्थन अनिवार्य थियो। सोही कारण एमालेले निर्मलालाई मन्त्री बन्न प्रस्ताव गर्‍यो। निर्मालाले पनि एमालेको प्रस्तावलाई स्वीकार गर्दै गत सोमबार बिनाविभागीय मन्त्रीका रूपमा प्रदेश सरकारमा सहभागी भइन्। 

यसअघि कांग्रेस नेतृत्वको गठबन्धन हुँदा पनि प्रदेश १ मा जसपा सरकार गठनका लागि निर्णाायक थियो। किनकि त्यो समयमा प्रदेशसभामा एक सिटको जसपा जता उभियो उतै नयाँ सरकार बन्ने अवस्था थियो। ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत हासिल गर्न ४७ सिट आवश्यक थियो। नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ गरी अघिल्लो गठबन्धनसँग पनि ४६ सिट हुन्थ्यो भने उता ४० प्रदेशसभा सदस्य भएको एमालेलाई पनि आफूसँग तालमेल गरेर चुनाव लडेको राप्रपाका ६ सिट मिलाउँदा सरकार गठनका लागि १ सिटकै अभाव हुन्थ्यो। 

तर अघिल्लो गठबन्धन भंग हुँदै कांग्रेस प्रतिपक्ष बन्न पुग्यो भने एमाले सत्तारुढ भयो। र, पनि केन्द्रमा सत्ता साझेदार माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएपछि जसपाकी एक्ली सांसद निर्मलालाई मन्त्री बन्ने संयोग जुर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .