ad ad

राजनीति


कोशीमा एमाले नेतृत्वको सरकार ढाल्ने कांग्रेसको कसरत

मन्त्रिपरिषद् छाड्न माओवादी र जसपालाई दबाब
कोशीमा एमाले नेतृत्वको सरकार ढाल्ने कांग्रेसको कसरत

फाइल तस्बिर


नेपालखबर
जेठ ४, २०८० बिहिबार १९:२०, काठमाडौँ

नेपाली कांग्रेसले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमाथि दबाब बढाएको छ।

गत पुस १० गते बनेको एमाले नेतृत्वको गठबन्धन अनुसार कोशीमा अझै पनि एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकार कायमै छ। अन्य प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व लिइसक्दा कोशीमा अझै हेरफेर भएको छैन। 

यस्तोमा कांग्रेसले माओवादी र जसपालाई एमाले नेतृत्वको सरकार छाड्न दबाब बढाएको हो। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा गत वैशाख २८ गते बसेको वर्तमान र पूर्वपदाधिकारीहरुको छलफलले कोशीको सरकार फेर्ने पहल थाल्ने निष्कर्ष निकालेको थियो।

त्यहीअनुसार कांग्रेसको प्रदेश कमिटीले माओवादी र जसपालाई प्रदेश सरकार छाड्न भनेको हो। यदि मा‌‌ओवादी र जसपाले खुट्टा झिकेर कार्की नेतृत्वको सरकार ढल्न पुग्छ।

नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा कार्की नेतृत्वको सरकार जुटेका बेला त्यसलाई असफल बनाउने योजनामा कांग्रेस लागेको हो।

तर कोशीमा माओवादीले एमालेको सरकार छाडेपछि आफैंले नेतृत्व लिने पनि दाउ हेरेको छ। कोशीका पूर्वअर्थमन्त्री इन्द्र आङ्बो सकेसम्म आफैँ मुख्यमन्त्री हुने दाउमा छन्।

तर केन्द्रमा रहेको सत्ता गठबन्धनको भागबन्डाअनुसार कोशीमा फेरि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना छ। 

कांग्रेस केन्द्रको वैशाख २८ को बैठकले कोशी प्रदेशमा अझै पनि माओवादीको सहयोगमा एमाले नेतृत्वको सरकार रहेको भन्दै केन्द्रीय गठबन्धनअनुसार फेर्ने पहल गर्ने निष्कर्ष निकालेको थियो।

त्यही रणनीतिअनुसार बिहीबार विराटनगरमा बसेको कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठकले नयाँ सरकार बनाउने गरी माओवादी र जसपालाई एमाले नेतृत्वको सरकार छाड्न आग्रह गर्ने निर्णय लिएको हो। 

कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले माओवादी र जसपा १० दलीय गठबन्धनमा रहेकाले अब कोशीको सरकार पनि छाड्नुपर्ने बताए। कोशी प्रदेश सरकारम कांग्रेस र एकीकृत समाजवादी मात्रै प्रतिपक्षमा छन्। 

कांग्रेसको योजना अनुसार माओवादी र जसपा बाहिरिएमा कार्की नेतृत्वको सरकारले आगामी वर्षको बजेट, नीति कार्यक्रम पारित गर्न सक्दैन। कांग्रेसले सरकार ढाल्ने योजना बनाएपछि मुख्यमन्त्री कार्कीले पनि सबैलाई विश्वासमा लिने गरी कुरा गरिरहेका छन्। 

कार्की नेतृत्वको सरकार ढले नै पनि अहिलेको गठबन्धनले नयाँ सरकार बनाउन सजिलो छैन। ९३ सांसद रहेको कोशीमा बहुमतका लागि ४७ जनाको समर्थन चाहिन्छ। बजेट पारित गर्न पनि ४७ जनाको साथ चाहिन्छ।

सरकारको नेतृत्वको गरिरहेको एमालेसँग कोशीमा ४० प्रदेशसभा सदस्य छन्। उसका लागि अझै ७ सांसद चाहिन्छ। सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी उसको पक्षमा उभिँदा पनि ४६ हुन्छ। १ सांसद रहेको जसपा अहिले एमाले र कांग्रेस नेतृत्वको गठबन्धन दुवैतिर निर्णायक छ। 

कोशीमा सभामुखसहित माओवादीका १३ प्रदेशसभा सदस्य छन्। अहिले जसपा केन्द्रमा सत्ता गठबन्धनमै छ। यहाँ कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद् हुन्छन्। 

तर कोशीका सभामुख बाबुराम गौतमले सरकार बनाउँदा मत दिन पाउने नपाउनेमा विवाद छ। कांग्रेस र माओवादीले सभामुखले पनि निर्णायक मत दिन पाउने दाबी गरेका छन्। 

तर एमालेले भने यदि सभामुखले मत दिएर पक्ष विपक्षमा उभिने हो भने पद छाड्नु पर्ने अडान लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .