राजनीति


६० सदस्यीय नगरसभाका ‘एक्ला’ माओवादी मेयर

एमाले–कांग्रेसका ५९ जनप्रतिनिधिबीच कसरी गराउँछन् सर्वसम्मत निर्णय?
६० सदस्यीय नगरसभाका ‘एक्ला’ माओवादी मेयर

जनार्दन पोखरेल
पुस १३, २०८० शुक्रबार १३:४, काठमाडौँ

३० वैशाख ०७९ मा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँमा बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमाल महानगर र उपमहानगरपालिकाको प्रमुखमा विजयी हुँदै गर्दा धेरैले सर्लाहीका रमेश बुढाथोकी (कमल) को पनि नाम सुने। 

शाह, साम्पाङ र हमाल स्वतन्त्र उम्मेदवार बनेर महानगर र उपमहानगरको मेयरमा विजयी भएको चर्चा देश विदेशमा हुँदै थियो। त्यही मेसोमा बुढाथोकी पनि ‘राजनीतिक दलबाट ‘एक्लै’ विजयी हुने मेयर’का रुपमा समाचारका हेडलाइनमा छाए। 

शाह, साम्पाङ र हमाल स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा निर्वाचित हुँदै गर्दा बुढाथोकी माओवादी केन्द्रबाट उम्मेदवार बनेर सिंगो पालिकामा त्यो पार्टीबाट निर्वाचित हुने एक्लो जनप्रतिनिधिका रुपमा उदाउँदै थिए। 
०००
गएको स्थानीय तहको निर्वाचनअघि कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तहको चुनावमा पनि तालमेल हुने चर्चा खुबै चल्यो।

केन्द्रमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सर्लाहीको हरिवन नगरपालिकाको नेतृत्व आफ्नो पार्टीलाई दिनुपर्ने अडानमा थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त्यसमा सहमत भइसकेका थिए, तर उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डलाई त्यो निर्णय गर्नबाट रोके।

उनले हरिवनमा कमल बुढाथोकीको विकल्प खोज्नुनहुने अडान लिए। अन्ततः प्रचण्डले हरिवनमा मेयरको टिकट कमल बुढाथोकीको नाममा पठाए। हरिवनमा माओवादी र एकीकृत समाजवादीबीच चुनावमा तालमेल हुने गाइँगुइँ चर्चामै सीमित भयो। दुवै पार्टीले चुनावमा आआफ्ना उम्मेदवार खडा गरे।

हरिवन नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिँदै गर्दा बुढाथोकीलाई मेयर, उपमेयरसहित कम्तीमा पनि ४–५ वटा वडामा माओवादीका उम्मेदवार विजयी हुन्छन् भन्ने लागेको थियो। चुनाव प्रचारका क्रममा घरदैलो गर्दा पनि उनले मतदातासँग यस्तै दाबी प्रस्तुत गर्दै मत मागे। एमाले फुटेको थियो। सांगठानिक रुपमा हरिवनमा कांग्रेको अवस्था राम्रो थिएन।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेका गणेश प्रसाईंसँग मेयरमा झण्डै ७ सय मतान्तरले चुनाव हारेका बुढाथोकी यसपटक उनैलाई हराएर मेयरको कुर्सीमा पुग्न चाहन्थे। त्यसका लागि मुख्य रुपमा उनले भर्खरै सकिएको पाँचवर्षे कार्यकालमा ‘प्रसाईंले हरिवनको विकासमा उल्लेख्य काम गर्न नसकेको, नगरको बजेट अपचलन गरेको’ जस्ता आरोप लगाए। 

नभन्दै उनको आरोपले जनअनुमोदन पायो। निर्वाचन परिणाम उनको पोल्टामा पर्‍यो। हरिवनको सबैभन्दा शक्तिशाली पार्टी एमालेका उम्मेदवार प्रसाईंलाई उनले झिनो (१५३ मात्रै) मतान्तरले भए पनि पराजित गरे। बुढाथोकीले ७ हजार २ मत पाउँदा प्रसाईंले ६ हजार ८४९ मत मात्रै पाए।

मेयर जिते पनि निर्वाचन परिणाम माओवादीका लागि उत्साहजनक थिएन। चुनावमा एमालेका प्रसाईंलाई त बुढाथोकीले मेयरमा दोहोरिनबाट रोके, तर आफूबाहेक उनको पार्टीबाट नगरमा कुनै पनि उम्मेदवार विजयी भएनन्। 

मेयर पदमा हारे पनि एमाले हरिवनको कार्यपालिका र नगरसभामा उपमेयर र पाँच वडाध्यक्षसहित स्पष्ट बहुमतका साथ खडा भयो। सिंगो कार्यपालिका र नगरसभामा बुढाथोकीको पार्टी (माओवादी) बाट उनी एक्लै विजयी भए।

हरिवनका ११ वटा वडामध्ये एमालेले उपमेयरसहित पाँच, कांग्रेसले ४ र नेकपा (एकीकृत समाजवादी) ले दुईवटा वडामा जित्दा माओवादीको वडा प्रतिनिधित्व शून्य भयो। मेयरबाहेक कतै एउटा वडा सदस्य पनि माओवादीले जित्न सकेन। 

त्यतिबेला माओवादी कार्यकर्ता ‘हामीले नगरको मुख्य पद मेयर जित्यौँ, अरु पद नजिते पनि केही छैन’ भन्दै चित्त बुझाउँदै थिए। आफ्ना मेयरले चुनाव हारेको रनाहामा परेका एमालेका कार्यकर्ता भने ‘मेयर जितेर मात्रै केही हुन्न, कार्यपालिकामा हामी बहुमतमा छौँ’ भन्दै चित्त बुझाउँथे।

देशव्यापी रुपमा माओवादी ओरालो लागिरहेका बेला हरिवन नगरपालिकामा पार्टीबाट मेयरमा ‘एक्लै’ विजयी भएर ‘माओवादीको नाक जोगाएको’ जस बुढाथोकीले पाए। धेरै शुभचिन्तकले बुढाथोकीको नेतृत्व क्षमता र व्यक्तित्वको प्रशंसा गरे। देशभरका सयौँ माओवादी नेता–कार्यकर्ताले फोन गरेर ‘तपाईंले त अचम्मै गर्नुभयो’ भन्दै बधाई दिए। 
०००
०७९ जेठ पहिलो साता हरिवनको ६० सदस्यीय नगरसभामा माओवादीबाट ठिङ्ग एक्लो जनप्रतिनिधि (मेयर) का रुपमा उदाएका बुढाथोकीले हरिवनमा नगर प्रमुख भएर १९ महिना गुजारिसकेका छन्।

नगरसभाका ‘एक्ला’ मेयर बुढाथोकीले कसरी नगरपालिका सञ्चालन गरिरहेका होलान्? एमालेको बहुमत र कांग्रेसको बलियो उपस्थिति रहेको कार्यपालिकामा माओवादीका एक्ला प्रतिनिधि बुढाथोकीको कार्यसम्पादन कस्तो होला?

नगरपालिकामा विपक्षीहरुबाट उनले कस्ता-कस्ता अवरोध सामना गरिरहेका होलान्? कार्यपालिकामा एकजना सदस्यसमेत नभएका मेयरलाई कर्मचारीले टेर्लान् कि नटेर्लान्? धेरैलाई चासो लागिरहेको हुनसक्छ। 

मेयरमा निर्वाचित भएपछि बुढाथोकीले हरिवन नगरपालिकामा दुईपटक बजेट ल्याइसके। यतिबेला उनी आफ्नो कार्यकालको दोस्रो वर्षको बजेट कार्यान्वयन गर्ने चरणमा छन्। 

निर्वाचनपछि पहिलो कार्यपालिका बैठक बस्दै गर्दा उनलाई ‘चुनावमा विजयी त भइयो, अब कसरी काम गर्ने होला’ भन्ने चिन्ता थियो। उनकै भनाइअनुसार यतिबेला उनलाई त्यस्तो चिन्ता लाग्न छाडेको छ।   

‘नगरमा विजयी भएपछि पहिलो कार्यपालिका बैठक बस्दै गर्दा मेरो प्रस्तावमा समर्थन गर्ने एकजना सदस्य पनि कार्यपालिका बैठकमा हुँदैनथे,’ नेपालखबरसँग बुढाथोकीले भने, ‘तर, अहिले अवस्था त्यस्तो छैन। अहिलेसम्म भएका कार्यपालिका बैठकमा अल्पमत र बहुमतका आधारमा कुनै पनि निर्णय गर्नुपरेको छैन। हामीले सबै निर्णय सर्वसम्मत रुपमा गर्दै आएका छौँ। मेरो नेतृत्वलाई कार्यपालिकाका सबै सदस्यले अहिले हार्दिकतापूर्वक स्वीकार गर्नुभएको छ।’

उनकै शब्दमा आजभोलि उनलाई ‘नगरमा माओवादी केन्द्रबाट म एक्लै छु, अरु सबै विपक्षी पार्टीका जनप्रनिधि छन्, कसरी काम गर्ने होला’ भन्ने लाग्न छाडेको छ। 

एमालेबाट निर्वाचित हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगाना पनि यो कुरा स्वीकार्छन्। ‘बाहिरबाट हेर्दा उहाँ (मेयर) माओवादीबाट एक्लै निर्वाचित भएको देखिए पनि भित्र टिमवर्कमा काम भइरहेको छ,’ उनले भने, ‘मेयरसँग कुनै पनि जनप्रतिनिधको मनमुटाव छैन। उहाँले ल्याएका सबै एजेन्डा कार्यपालिका बैठकबाट पास भएका छन्। नगरको विकासमा हामी कोही कसैले फरक राजनीतिक पार्टीका रुपमा व्यवहार गरेका छैनौँ।’ 

ढुंगानाले यस्तो दाबी गरे पनि गएको असारमा चालु आर्थिक वर्षको बजेट ल्याउने बेलामा भने बुढाथोकीलाई निकै सकस परेको थियो। त्यतिबेला उनलाई नगरसभाबाट बजेट पास गर्नै हम्मेहम्मे परेको थियो। वडाध्यक्षहरुले वडामा धेरै बजेट छुट्याउन दबाब दिएपछि बुढाथोकीले केही समय अनिर्णयको बन्दी भएर गुजारेका थिए। 

वडाध्यक्षहरु उनले भनेअनुसार बजेट पास गर्न नमान्ने, वडाध्यक्षहरुको इच्छाअनुसार वडामा बजेटको आकार बढाउन उनी तयार नहुने परिस्थित सिर्जना भयो।  

१० असारमा हुनुपर्ने नगरपरिषद् १० दिन ढिलागरी (असार २०) मा बसेको थियो। नगरसभाले त्यही दिन नीति तथा कार्यक्रम त पास गर्‍यो, तर बजेट पास गरेन। मुख्य रुपमा एमालेबाट निर्वाचित प्रतिनिधिले ‘वडामा छुट्याउने बजेटको आकार वृद्धि नगरेसम्म बजेट पास गर्दैनौँ’ भन्दै बुढाथोकीलाई दबाबमा राखे। एमालेका जनप्रतिनिधिको चित्त नबुझेसम्म उनले नगरसभाबाट बजेट पास गर्न सक्ने अवस्था पनि थिएन। 

लामो सयमसम्म वडाध्यक्षसँग उनको छलफल र रस्साकस्सी चल्यो। अन्ततः वडामा जाने बजेटको आकार केही वृद्धि गर्न उनी राजी भए। वडाध्यक्षहरुको चित्त बुझेपछि असोज १४ गते (दुई महिनाभन्दा ढिलो गरेर) मात्रै हरिवन नगरपालिकाको चालु आर्थिक वर्षको बजेट पास भएको थियो।

‘यसपालि बजेट बाँडफाँडका विषयमा अलि लामो सयम तर्कवितर्क भयो,’ बुढाथोकीले भने, ‘यसलाई नाजायज भन्न मिल्दैन। अन्तिममा हामीले सर्वसम्मत रुपमा बजेट पास गरेका छौँ। अहिले त्यो बजेट कार्यान्वयनको चरणमा छ।’ 

हरिवन नगर कार्यपालिकामा एमालेको बहुमत भए पनि कांग्रेस र समाजवादीका ६ जना वडाध्यक्षसहितका जनप्रतिनिधि छन्।

बैठकमा एमालेका जनप्रतिनिधिले खोँचे थाप्दा कांग्रेस र समाजवादी, कांग्रेस र समाजवादीका प्रतिनिधिले अप्ठेरो पार्दा एमालेका प्रतिनिधिले प्रतिवाद गरेका उदाहरण पनि छन्। जसका कारण कतिपय बेला बुढाथोकीलाई काम गर्न केही सहज पनि हुने गरेको छ।

तर, बुढाथोकी आफैँ भने त्यो स्वीकार्दैनन्।

‘नगरको विकास बजेट तलमाथि गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने लालसा ममा छैन,’ उनले भने, ‘नगरको विकास बजेट तलमाथि गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरौँला भन्ने लालासा नहुँदा र आफू सफा भएपछि कसैले तैँले गलत गरिस् भनेर औँलो ठड्याउन सक्दैनन्। आफू ठीक ठाउँमा उभिएपछि जनप्रतिनिधि, कर्मचारी सबैको सहयोग पाइन्छ। अहिले म सबै जनप्रतिनिधि र कर्मचारीलाई साथमा लिएर नगरको कामलाई अघि बढाइरहेको छु।’

१९ महिनामा बुढाथोकीले के गरे? 
मेयरको कार्यभार सम्हाल्दै गर्दा भ्रष्टाचाररहित ढंगले नगर विकासको सारथि बन्ने उद्घोष उनले गरेका थिए। चुनावमा मत माग्दा उनले ‘नगरपालिकाको बजेटमा भ्रष्टाचार हुन नदिने र आफूले नगरमा कुनै पनि अनियमितता र भ्रष्टाचार नगर्ने’ प्रतिबद्धता जनाएका थिए। ‘कतै आफू भ्रष्टाचार र अनियमिततामा सहभागी भएको थाहा पाए झाडु लगाउन’ उनले नागरिकलाई आह्वान गर्दै मत मागेका थिए। 

बुढाथोकी नेतृत्वमा आएपछिको पहिलो कार्यपालिका बैठकले हरिवन नगरका सम्पूर्ण सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो। बैठकबाट बाहिरिँदै गर्दा उनले ‘सार्वजनिक बिदा र शनिबारको दिन आफूले नगरपालिकाको गाडी प्रयोग नगर्ने घोषणा गरेका थिए। 

सरकारी गाडी दुरुपयोग नगर्ने प्रतिबद्धतामा उनी अहिलेसम्म चुकेका छैनन्। शनिबार र सार्वजनिक बिदाको दिन उनले चढ्ने गरेको सरकारी गाडी नगरपालिकाको कम्पाउन्डबाट बाहिर निस्कँदैन। शनिबार र सार्वजनिक बिदाको दिन कतै जानुपर्दा उनी साथीभाइको मोटरसाइकलमा लिफ्ट माग्छन्। कतिपय बेला साइकल र पैदलै भए पनि गन्तव्यमा पुग्छन्। तर, सरकारी गाडी चढ्दैनन्।  

बुढाथोकीले हरिवन नगरपालिकाको कार्यभार सम्हालेपछि नगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिनेगरी केही सकारात्मक परीवर्तन भएका स्थानीय पनि स्वीकार्छन्। उनले चुनावमा गरेको प्रतिबद्धताअनुसार नगर क्षेत्रका सबै सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ। नगर अस्पतालका रुपमा रहेको सासापुर स्वास्थ्य चौकी सुविधायुक्त र विश्वसनीय बन्दै गएको छ। 

सासापुर स्वास्थ्य चौकीमा आजभोलि दैनिक दुईजना एमबीबीएस डाक्टरले सेवा दिन्छन्। स्वास्थ्य चौकीमा एम्बुलेन्स, ल्याब, एक्स रे, अल्ट्रासाउन्ड सेवा उपलब्ध छ। पाठेघरको क्यान्सर र क्षयरोगको परीक्षण पनि स्वास्थ्य चौकीमै हुन थालेको छ। प्रत्येक साता काठमाडौँ र वीरगन्जबाट जाने विशेषज्ञ डाक्टरले पनि स्वास्थ्य चौकीमा बसेर निःशुल्क सेवा दिन्छन्। त्यो सबै व्यवस्था उनले निकै मेहनत गरेका छन्।

‘चाँडै स्वास्थ्य चौकीमै ‘होलबडी चेकअप’ गर्ने सुविधाकोसमेत हामी विस्तार गर्दै छौँ,’ मेयर बुढाथोकीले भने। आफू बिरामी हुँदा बुढाथोकी आफैँ पनि सासापुर स्वास्थ्य चौकीमै उपचारको लागि पुग्छन्।

गाउँकै स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा पाउन थालेपछि सरकारी स्वास्थ्य संस्थाप्रति स्थानीयको आकर्षण पनि बढ्दै गएको छ। स्वास्थ्य क्षेत्रमा गरेका यस्तै कामको कारण मधेश प्रदेश सरकारले यस वर्ष हरिवन नगरपालिकालाई मधेश प्रदेशकै उत्कृष्ट पालिकासमेत घोषणा गरेको छ।

आफू नेतृत्वमा आएपछि हरिवनको ५५ किलोमिटर सडक स्तरोन्नति गरिएको बुढाथोकी बताउँछन्। ग्रामीण सडकको स्तरोन्नतिका लागि छिमेकी बागमती नगरपालिकासँग ‘ट्याक्स फ्रि’मा ग्राभेल ल्याउने सम्झौता हरिवन नगरपालिकाले गरेको छ। बागमती नगरपालिकाको नेतृत्व पनि माओवादीकै (मेयर भरतकुमार थापा) भएकाले उनलाई त्यस्तो सम्झौता गर्न सहज पनि भएको छ। 

‘हामीले यसबीच १५ किलोमिटर सडक पिच गरेका छौँ, २२ किमी सडक ढलान भएको छ,’ उनले भने, ‘चुरे क्षेत्रमा पर्ने केराबारी, कैलाशपुरी, बिलन्दीजस्ता नगरका पिछडिएका र दुर्गम ठाउँका धेरै सडक हामीले ढलान गरिसकेका छौँ। खानेपानी पुर्‍याएका छौँ।’ 

लामो समयदेखि बिजुलीविहीन दुर्गम र पिछडिएका ठाउँमा आफ्नै पहलमा विद्युत् पुर्‍याइएको उनले सुनाए। 

‘खानेपानी आयोजना सञ्चालन भएका ठाउँमा आठ हजार लिटरसम्म पानी प्रयोग गर्ने परिवारलाई खानेपानीमा ९० प्रतिशत सहुलियत दिने योजना कार्यान्वयनमा आएको छ,’ उनले भने, ‘पानीको हाहाकार भएका चुरेका बस्तीमा लिफ्टिङ प्रणालीमार्फत पानी वितरण गरिएको छ। चुरे क्षेत्रका कोठीखोला, बिलन्दी, केराबारी, सखुवनीमा खानेपानीको समस्या मोटामोटी समाधान भएको छ।’

क्याम्पसका बसलाई इन्धनमा अनुदान दिएर विद्यार्थीलाई भाडा छुट गर्ने योजना पनि नगरपालिकाले बनाएको उनले सुनाए। ‘यसै वर्षबाट स्नातक तहमा पढ्दै गरेका झण्डै पाँच सय विद्यार्थी त्यसबाट लाभान्वित हुनेछन्,’ उनले भने।

सर्लाहीमा मलंगवा नगरपालिकापछि आफ्नै दमकल भएको पालिका हरिवन मात्रै हो। २० वटा स्थानीय तह रहेको सर्लाहीका १८ पालिकासँग आफ्नै दमकल छैन। विगतमा हरिवन नगरपालिकासँग भएको दमकल वरपरका अन्य पालिकाले सित्तैमा प्रयोग गर्दै आएका थिए। बुढाथोकी नेतृत्वमा आएपछि ईश्वरपुर, लालबन्दी, हरिपुर, बागमती र बरहथवा नगरपालिकासँग साझेदारीमा दमकल सञ्चालन गर्ने समझदारी भएको छ। दमकल प्रयोग गरेबापत ती पालिकाले हरिवन नगरपालिकालाई वार्षिक ३ लाख रुपैयाँका दरले आर्थिक सहयोग गर्ने सम्झौता गरेका छन्। 

विगतमा फोहोर व्यवस्थापनमा हरिवन नगरपालिकाले वार्षिक २० लाख रुपैयाँ खर्च गरिरहेको थियो। आफू नगर प्रमुख भएर आएपछि शून्य लगानीमा नगरको फोहोर व्यवस्थापन गर्ने गरिएको दाबी मेयर बुढाथोकीले गरे।

बुढाथोकीका अनुसार ०७८/०७९ मा अतिथि सत्कारको नाममा नगरपालिकाको कोषबाट ३३ लाख रुपैयाँ खर्च भएको थियो। ०७९/०८० मा त्यो खर्च घटेर ११ लाखमा झरेको उनले सुनाए। 

‘त्यतिबेला हरिवन नगरपालिकाले १ करोड ९५ लाख मात्रै राजस्व उठाउन सकेको रहेछ। यसपटक हामीले आन्तरिक रुपमा ३ करोड पाँच लाख रुपैयाँ राजस्व उठाएका छौँ,’ बुढाथोकीले भने, ‘कसरी हुन्छ थोरै भन्दा थोरै खर्चमा नगरपालिका सञ्चालन गर्ने योजनामा हामी छौँ। फजुल खर्च रोक्न र नगरको आम्दानी बढाउन सकियो भनेमात्र धेरै भन्दा धेरै विकासको काम गर्न सकिन्छ। जसको प्रतिफल हजारौँ नागरिकले पाउँछन्।’

यतिबेला नगरमा सिस्टम विकासको लागि आफूले मेहनत गरिरहेको बुढाथोकी बताउँछन्। ‘म निर्वाचित भएर आएपछि नगरपालिकाबाट कार्यकर्तालाई इन्धन बाँड्न छाडिएको छ। कानुनी रुपमा जजसले इन्धन पाउने हो, उहाँहरुबाहेक अरु कसैले पनि अहिले नगरपालिकाबाट इन्धन सुविधा पाउँदैनन्,’ उनले भने, ‘चुनावमा भोट हालेको भरमा, मेयरको पार्टीको कार्यकर्ता भएकै आधारमा कसैले डिजेल र पेट्रोलको कुपन पाउने, साँझ परेपछि रक्सी र मासु पार्टीमा सहभागी हुने विगतका चलनलाई मैले अन्त्य गरेको छु।’ 

३१ वर्ष अघि (०४९ सालमा) २८ वर्षको उमेरमै सर्लाहीको घुर्कौली गाविसको निर्वाचित उपाध्यक्ष र जिविस सर्लाहीको सदस्य भएर काम गरेका बुढाथोकीसँग लामो सयम सर्लाहीमा पार्टीको नेतृत्व गरेको अनुभव पनि छ।

लामो राजनीतिक अनुभव र तुलनात्मक रुपमा स्वच्छ छबिको रुपमा चिनिएका बुढाथोकीले सर्लाहीमा धेरैवटा जनसंघर्षमा नेतृत्व प्रदान गरेका छन्। बुढाथोकीकै नेतृत्वमा सर्लाहीमा माओवादीले सञ्चालन गरेको मिटरब्याज बिरोधी आन्दोलनकै कारण यतिबेला यो मुद्दा राष्ट्रिय राजनीतिमा पनि स्थापित भइसकेको छ।

अरु तीन वर्ष कार्यकाल बाँकी छँदा उनीसँग हरिवनको विकासका लागि गर्नुपर्ने दजनौँ कामका योजना छन्। 

नागरिकका घरदैलामा खानेपानी र खेतीयोग्य जमिनमा सिंचाइँ सुविधा पुर्‍याउने, स्थानीय खोलानाला नियन्त्रण, सडकको स्तरोन्नती र पुलपुलेसा निर्माण, शिक्षा ऐन र स्वास्थ्य नीति बनाउने, फोहोर व्यवस्थापन गर्ने, ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको क्षेत्रमा पूर्वाधार निर्माण, नगरपालिकाको डिजिटल एप र प्रोफाइल बनाउने, वैकल्पिक उर्जाबाट विजुली निकाल्ने, फलफूल र तरकारीको थोक बजार व्यवस्थित गर्ने, उखु, टमाटर, दूध, आँप जस्ता किसानका स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने, अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्ने नीति नगरपालिकाले बनाएको छ। 

नगरको विकासलाई लिएर मेयर बुढाथोकी सधैँ प्रदेशदेखि केन्द्रसम्म धाइरहेका देखिन्छन्। ५८ वर्षको उमेरमा पनि उनी २०/२२ वर्षका युवा जस्तै फुर्तिला छन्। निर्वाचित भएपछिका केही महिना उनले हरेक शनिबार जनश्रमदानमा आधारित भएर नगर क्षेत्रमा विभिन्न सामाजिक काममा अगुवाइ गरे। ढुंगा बोके, बाटो घाटो, पोखरी र सार्वजनिक स्थलहरुको सफाइ गरे। तर, उनले सुरु गरेको शनिबारे जनश्रमदान अभियान भने केही समययता स्थगित छ।

‘उहाँमा नगरको विकासमा धेरै काम गरौँ भन्ने हुटहुटी छ। युवाकाे जस्ताे जाँगर र भिजन पनि छ,’ वडाध्यक्ष ढुंगाना भन्छन्, ‘नगरको समग्र विकासको लागि हामीले अझै धेरै गर्न बाँकी छ।’

पार्टीको अवस्था कमजोर हुँदाहुँदै पनि बुढाथोकी हरिवनको मेयरमा निर्वाचित हुनुको प्रमुख आधार भनेको उनको सादगीपन, भ्रष्टाचाररहित र निस्कलंकित छवि नै हो। बाँकी तीन वर्ष हरिवन नगरपालिकाको नेतृत्व गर्दा उनले आफ्नो त्यो छबिलाई अझ निर्खाछन् कि भुत्ते बनाउँछन्, उनको आगामी राजनीतिक भविष्य त्यसमै निर्भर रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .