राजनीति


ओलीका दुई विश्वासपात्र ढुंगेल र दाहालमा को बन्लान् एमालेको बागमती अध्यक्ष?

ओलीका दुई विश्वासपात्र ढुंगेल र दाहालमा को बन्लान् एमालेको बागमती अध्यक्ष?

सुनिता विष्ट
असोज १०, २०८० बुधबार १४:०, हेटौँडा

एमाले बागमती प्रदेशको नेतृत्व चयन पेचिलो बन्ने देखिएको छ। निर्वाचन कार्यतालिका तय गरिसकेर पनि यो सामग्री तयार पार्दासम्म सहमतिबाटै एमालेको बागमती प्रदेश अध्यक्ष चयनमा सहमति जुटाउने प्रयास जारी छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिको प्रयास असफल भएपछि उनले नेतृत्व चयनको जिम्मा अधिवेशन प्रतिनिधिहरूलाई सुम्पेका थिए।

जसअनुसार मंगलबारको बन्दसत्रले सर्वसम्मति जुटाउने भरमग्दुर प्रयास गर्‍यो। तर नसकेपछि बिहीबार (असोज ११ गते) मतदान गर्नेगरी निर्वाचन तालिका सार्वजनिक गर्‍यो। सोबमोजिम आज बिहान ९ बजेदेखि ११ बजेसम्मलाई उम्मेदवारीको समय ताेकिए पनि नेताहरुले सहमतिमै नेतृत्व चयन प्रयास गरिरहेकाले उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइएको छैन। 

निर्वाचन कार्यतालिका अनुसार मतदान बिहीबार बिहान ८ बजेदेखि पार्टीको प्रदेश कार्यालयमा हुनेछ। विद्युतीय प्रक्रियाबाट निर्वाचन हुनेछ। सो प्रक्रियामा एक पटकमा ४४ जनाले मतदान गर्न सक्नेछन्। एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने बताइएको छ।

एमालेको बागमती प्रदेश अधिवेशन मंगलबार काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको थियो। 

महत्त्वका साथ हेरिएको एमालेको बागमती अधिवेशनले नेतृत्व चयन कसरी गर्ला? चासोको विषय बनेको छ। 

एमाले अध्यक्ष ओलीले सोमबार अधिवेशन उद्घाटन गर्दै प्यानल बनाएर निर्वाचनमा उत्रिए उम्मेदवारी नै खारेज गरिदिने चेतावनी दिएका छन्। अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्ष पदका केही आकांक्षी ब्याक हुने सम्भावना बढेको अधिवेशनको प्रचार विभाग प्रमुख महेश कुमार बर्तौलाले बताए। आफू पनि उपाध्यक्ष पदको आकांक्षी रहेको उनले बताए। 

ढुंगेल र दाहाल उत्रिएलान् प्रतिस्पर्धामा?
एमाले बागमतीको अध्यक्ष पदका लागि आकांक्षीको संख्या धेरै भएकै कारण सहमति जुट्न नसकेको हो। तर बालकोटले आकांक्षीको संख्या घटाइरहेको एमाले निकट नेताहरु बताउँछन्। 

‘आकांक्षा देखाउने त एक दर्जन बढी थिए नि! के गर्नु सबैजना अध्यक्ष बन्न मिल्दैन। उहाँहरुमध्ये केहीलाई अध्यक्षज्यू, महासचिवज्यूलगायतले शान्त बनाइरहनुभएको छ,’ उनले नेपालखबरसँग भने। 

प्रदेशको नयाँ अध्यक्ष बन्न निवर्तमान अध्यक्ष केशवराज पाण्डेदेखि मकवानपुरका कृष्णप्रसाद दाहाल र पूर्वमन्त्री कैलाश ढुंगेलसम्म लबिङमा छन्। पाण्डे पुनः दोहोरिने दाउमा भए पनि केन्द्रीय स्तरका नेताहरु ढुंगेल र दाहालमध्ये एकलाई अध्यक्ष बनाउन चाहन्छन्। तर ढुंगेल र दाहाल दुवै ब्याक हुन नमानेपछि अन्तिममा निर्वाचन होमिने सहमति भएको एमालेका एक नेताले बताए। 

नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले कैलाश ढुंगेललाई समर्थन गरेका छन् भने एमाले महासचिव शंकर पोखरेलले कृष्णप्रसाद दाहाललाई। तर कैलाश र कृष्णप्रसाद दुवै एमाले अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन्। ढुंगेललाई ओलीले नै अघि सारेको चर्चा भइरहेको छ भने दाहाल पनि ओली पक्षकै बलियो विश्वासपात्र भएका कारण कसलाई समर्थन गरेर अघि बढ्ने भन्ने सकस सिर्जना भएको छ। 

‘भन्न त कैलाश ढुंगेलजीलाई यो पटक अध्यक्ष बनाएर लैजाने र उपाध्यक्षमा कृष्णजीलाई लैजाने प्रस्ताव अध्यक्ष ओलीले गर्नुभएको थियो। तर उपाध्यक्ष बन्न कृष्णजी तयार नहुनुभएका कारण दुईजना बीचमा निर्वाचन हुन लागेको हो’, ओलीनिकट एक नेताले नेपालखबरसँग भने।

एमालेको बागमती प्रदेश अध्यक्षमा दाबी गरिरहेका रामेछापका ढुंगेल बागमती प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन्। वाम गठबन्धनबाट २०७४ मा प्रदेश सभामा निर्वाचित उनी एमाले–माओवादीको गठबन्धन सरकारमा मन्त्री भएका थिए।

प्रतिनिधि सभामा भने तीनपटक उम्मेदवार बने पनि ढुंगलले चुनाव जित्न सकेनन्। ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग १६ हजारभन्दा बढी मतान्तरले हारे। 

यस्तै, अर्का आकांक्षी दाहाल एमालेका केन्द्रीय सदस्य हुन्। उनी संसदीय राजनीतिका पनि अनुभवी मानिन्द्छन्। २०४८ सालयता दाहाल निरन्तर निर्वाचित जनप्रतिनिधि हुन्। ४ मंसिर २०७९ मा भएको निर्वाचनमा भने उनी उम्मेदवार बनेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .