ad ad

प्रविधि


नेपाल हेर्ने गरी टिकटकले माग्यो ‘पोलिसी म्यानेजर’, यी हुन् आवश्यक योग्यता

नेपाल हेर्ने गरी टिकटकले माग्यो ‘पोलिसी म्यानेजर’, यी हुन् आवश्यक योग्यता

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १५:४३, काठमाडौँ

चर्चित समाजिक सञ्जाल टिकटकले नेपाललाई हेर्ने गरी एक जना नीति व्यवस्थापक (पोलिसी म्यानेजर)को दरखास्त आह्वान गरेको छ। 

नेपाल सरकारले टिकटकमाथि १० महिना प्रतिबन्ध लगाएर फुकुवा गरेको पृष्ठभूमिमा टिकटकले नेपाल सरकारसँग सम्बन्ध स्थापित गर्न सक्ने गरी नेपालीभाषी नीति व्यवस्थापक नियुक्त गर्न लागेको हो।

टिकटकमा यो उच्च तहको पद हो। उसले नेपालको बजार र सरकारसँग निकट सम्बन्ध राखेर काम गर्ने प्रयासस्वरूप यो विज्ञापन गरेको हो।

नेपालमा कार्यालय खोल्ने र टिकटकमा आउने सामग्रीमाथि सरकारले दिएको सुझावलाई पनि मनन् गर्दै निगरानीमा राख्न सहमति जनाउँदै टिकटकले प्रतिबन्ध फुकुवाका लागि निवेदन दिएको थियो। 

पूर्वप्रतिबद्धता अनुसार नै टिकटकले नेपाल हेर्ने गरी एकजना म्यानेजरको दरखास्त आह्वान गरेको हो। यूएईको दुबईमा रहेको कार्यालयमा रहने गरी टिकटकले म्यानेजर मागेको हो। 

आवश्यक योग्यता
टिकटकले आवश्यक योग्यताका रूपमा सार्वजनिक नीति, सरकार सम्बन्ध र वकालतका कामबारेमा प्रत्यक्ष अनुभव हुनुपर्ने, विधायिकी प्रक्रिया र प्रविधि नीतिबारे ज्ञान हुनुपर्ने, नेपाली र अंग्रेजी भाषामा लेख्न, बोल्न र पढ्न पोख्त हुनुपर्ने भनेको छ।

यस्तै राजनीति शास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, सरकार, सार्वजनिक मामिला, सम्बन्धित क्षेत्रमा उच्च शिक्षा हासिल गरेको वा व्यावहारिक अनुभव हुनुपर्ने विज्ञापनमा खुलाइएको छ । 

अन्तर्राष्ट्रिय संगठन वा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीमा काम गरेको पूर्वअनुभव हुनुपर्ने, सार्वजनिक नीतिको व्यापारिक प्रभावहरू विश्लेषण र सञ्चार गर्ने क्षमतासहितको अनुभव भएको हुनुपर्ने पनि योग्यतामा तोकिएको छ।  

उत्कृष्ट लेखन सीप, जटिल नीतिगत विषयहरूको सरल व्याख्या र आकर्षक सन्देश खोज्न सक्ने, टिममा काम गर्न सक्ने, तत्काल निर्णय दिन सक्ने र विवेक प्रयोग गर्न सक्ने क्षमता हुनुपर्ने पनि विज्ञापनमा उल्लेख छ।
 
म्यानेजरको जिम्मेवारी
टिकटकले नीति व्यवस्थापकको जिम्मेवारीमा सरकार, नीति निर्माता र विचार निर्मातासँग सम्बन्ध निर्माण गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेको छ।

टिकटक र सामाजिक सञ्जालका लागि महत्त्वपूर्ण विषयमा नीति निर्मातासँग जोडिराख्ने रणनीति कार्यान्वयन गर्नुपर्ने, सान्दर्भिक नीति, प्रवृत्ति र विधायिकी प्रस्तावहरूको पहिचान, अनुमगन र विश्लेषण गर्ने, ब्रिफिङ पेपर, परामर्श प्रक्रिया र आन्तरिक नीति बैठकहरूमा नीतिगत स्थिति स्पष्ट गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ।

टिकटकको बृहत् रणनीतिक उद्देश्यहरूसँग मिल्ने गरी जनसम्पर्क, कानुन, उत्पादन तथा इन्जिनियरिङ क्षेत्रका टोलीसँग नजिकबाट सहकार्य गर्नुपर्ने, उद्योग संगठन, शिक्षाविद्हरू र गैरसरकारी संस्थासँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने काम पनि नीति व्यवस्थापकको हुनेछ।

अवसरहरूलाई पहिचान गर्न, सम्पर्क सञ्जाल बनाउन र टिकटकलाई सबैभन्दा विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्न बाह्य कार्यक्रमहरूमा कम्पनीको प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि यस पदका लागि तोकिएको छ।

टिकटकले आफ्नै वेबसाइटमा दरखास्त दिन मिल्ने गरी सूचना प्रकाशित गरेको छ।

टिकटकले सेवा सुविधा भने विज्ञापनमा खुलाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .