ad ad

समाज


रुपन्देही बस दुर्घटना : मृतक ४ जनाको सनाखत

रुपन्देही बस दुर्घटना : मृतक ४ जनाको सनाखत

सुदीप भण्डारी
जेठ २२, २०७९ आइतबार ८:५२, बुटबल

आज बिहान रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ९ जनामध्ये चार जनाको सनाखत भएको छ। 

दुर्घटनामा ज्यान गुमाउने रुपन्देही ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीकै तिलोत्तमा नगरपालिका २ योगिकुटी ५६ वर्षीय विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्यालको सनाखत भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

दुर्घटनामा ज्यान गुमाउने अन्यको नाम संकलन भइरहेको छ। उनीहरुको रुजु गर्ने काम भइरहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए। दुर्घटनामा २५ जना घाइते भएका छन्। जसमध्ये १६ जनाको अवस्था गम्भीर छ।

आइतबार बिहान साढे चार बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ को सीमा क्षेत्रमा पर्ने रोहिणी खोलामा बस दुर्घटना भएको हो।

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी खोलाको पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ। दुर्घटनाको कारण खुलेको छैन। 

अहिले बुटवल–नारायणगढ सडक विस्तारको क्रममा रहेको छ। राजमार्गको सडक खाल्डाखुल्डी भएकाले पूर्वबाट भैरहवा आउने कतिपय गाडी नवलपरासीको भुमहीबाट परासी भएर आउने गर्छन्। 

दुर्घट्नाग्रस्त बस पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गतको हो। 

उक्त बस बुटबलबाट जनकपुर जाँदा रिजबमा गएको प्रालीका सञ्चालक सदस्य जिवन बन्जाडेले जानकारी दिए। ‘यताबाट जाँदा बुकिङ भएर गएको होइन । रिर्जब गएको हो। कहाँबाट रिर्जब गयो भन्ने खोज्दै छौं,’ उनले भने, ‘उताबाट फर्किंदा नम्बरमै आयो कि रिर्जबमै आयो, त्यो पनि बुझ्दै छौं।’ 

घाइतेहरुको व्यवस्थापनको लागि प्रालिले पनि कर्मचारी पठाएको उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .