ad ad

समाज


सेतोपाटीलाई सोधिएको स्पष्टीकरण आयोगले फिर्ता लियो

काउन्सिलले पठायो २४ घण्टे स्पष्टीकरण पत्र
सेतोपाटीलाई सोधिएको स्पष्टीकरण आयोगले फिर्ता लियो

फाइल फोटो


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार २२:१३, काठमाडौँ

सेतोपाटी अनलाइनसँग सोधिएको स्पष्टीकरण निर्वाचन आयोगले फिर्ता लिएको छ।

झापा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार अग्नि खरेलका छोराबारे लेखिएको समाचार २४ घन्टाभित्र हटाएर स्पष्टीकरण दिन भनेर शनिबार लेखेको पत्र आयोगले आइतवार फिर्ता लिएको हो। 

आयोगले आइतवार एक वक्तव्य निकालेर आमसञ्चार नीति र मान्यताभन्दा फरक हुने गरी प्राविधिक कारणवश सेतोपाटीलाई पत्र लेखिएकाले फिर्ता लिइएको जनाएको छ।

'आयोगको आमसञ्चार माध्यमप्रतिको नीति र मान्यताभन्दा फरक हुने गरी यहाँ (अमित ढकाल) प्रधानसम्पादक रहेको सञ्चारमाध्यम (सेतोपाटी) बाट प्रकाशित समाचारको विषयलाई लिएर प्राविधिक कारणले यहाँलाई प्रेषित हुन गएको स्पष्ट गर्ने विषयको पत्र यसै पत्रमार्फत फिर्ता लिइएको बेहोरा आदेशानुसार सादर अनुरोध छ,' वक्तव्यमा भनिएको छ।

सेतोपाटीले गत शुक्रबार ‘अग्नी खरेलका छोरा निशान अमेरिकी सेनामा, नेपाली नागरिकता पनि कायमै’ शीर्षकमा खबर छापेको थियो।

पूर्वमन्त्री तथा महान्ययाधिवक्ता अग्नी खरेल झपा १ बाट प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार छन्। 

यही खबरलाई लिएर आयोगले मंसिर ४ को निर्वाचनमा उम्मेदवार भएका व्यक्ति र उनका परिवारको चरित्रहत्या भएको जनाउँदै व्यक्तिगत लाञ्छना लगाउने गरी समाचार प्रकाशन भएको देखिएकाले २४ घन्टाभित्र समाचार हटाई स्पष्टीकरण दिन भनेको थियो।

काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट विरोध भएपछि आयोग पछि हटिसकेको छ।

यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ। 

सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आयोग आफैँले गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले विरोध गरेका थिए। 

उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारवाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिना अघि पत्राचाार समेत गरेको थियो। त्यसविपरित आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो।

काउन्सिलको पत्र
यसैबीच यो विषय हेर्ने कार्यक्षेत्र पाएको नेपाल प्रेस काउन्सिलले उक्त समाचारलाई लिएर सेतोपाटीलाई २४ घण्टे पत्र काटेको छ। 

काउन्सिलले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न भन्दै सेतोपाटीलाई आइतवार २४ घण्टे स्पष्टीकरण सोधेको हो। 

काउन्सिलले चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारवाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकाशन गर्नुको कारण मागेको हो। 

निर्वाचनमा भाग लिएका कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनको सम्मुखमा नकरात्मक प्रभाव पार्ने किसिमको सामाग्री के कसरी सम्प्रेषण हुन गएको हो?, काउन्सिलले पठाएको पत्रमा उल्लेख छ।

जबकी सेतोपाटीको खबरमा अग्नी खरेलले नै आफ्नो छोरो सात वर्षदेखि अमेरिकी सेनामा कार्यरत रहेको र नेपाली नागरिकता त्याग्ने विषय उनको व्यक्तिगत इच्छामा भर पर्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .