ad ad

समाज


नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ६:२७, चितवन

नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबारदेखि दैनिक चार घण्टा सवारीसाधन आवागमन रोकिने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले यातायात रोक्न लागिएको हो। 

एक महिनाका लागि सडक बन्द गरेर काम गर्न लागिएको हो। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिनेछ। भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायत कामका लागि सवारीसाधन आवागमन रोक्न लागिएको हो। 

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्न लागिएको हो। मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्याङ्करलगायत भारी सवारीसाधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने छ।

काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ। काठमाडौँतर्फबाट आउने मालवाहक सवारीसाधनलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीसाधनलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ।

बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीसाधनलाई अनुकूलता हेरी छडिनेछ। पोखरा–काठमाडौँ सञ्चालन हुने सवारीसाधनलाई सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्नेछ। निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्नेछन्। सडकखण्डको ठाउँठाउँमा मर्मत पनि यसै समय गरिने छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा २० पुल छन्। तीमध्ये पाँच पुल बनिसकेका छन्। बाँकी पुल बन्ने चरणमा रहेका छन्। आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी कामअघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ। 

विश्व बैंकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। असारसम्ममा १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको उनी बताउँछन्। तीमध्ये सेती दोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे दुई वटा पुल तीन महिनाभित्रमा सम्पन्न हुने कार्कीको भनाइ छ।

तुइन र जुगेडी पुललाई थप केही समय लाग्ने उनले जानकारी दिए। सो सडक विस्तारको कामसँगै साँघुरा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो। हाल सो सडक नौदेखि ११ मिटर फराकिलो छ। ती पुललाई दुई भागमा विभाजन गरेर ठेक्का लगाइएको छ। प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिम्पान्जी, तुइन, काली, टोपे, न्याम्सी र रिद्धीखोला गरी सात पुल छन्। प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान खोल गरी आठ पुल छन्।

प्याकेज–१ को कूल ठेक्का रकम रु ६७ करोड ९९ लाख छ । दोस्रो प्याकेजको कूल ठेक्का रकम ५९ करोड पाँच लाख छ। विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। दुवै ठेक्काको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ। पुलको गाडी हिँड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो हुनेछ। दुवैपट्टि एक दशमलव पाँच मिटर फराकिलो फुटपाथ र २५ सेन्टिमिटर रेलिङका लागि छुट्याइएको छ। पुल बनाउने ठाउँमा ठाडो कडा पहाड काट्नुपर्ने भएकाले सडक बन्द गरेर काम गर्नुपरेको कार्की बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .