ad ad

समाज


अध्यागमनमा राख्ने ठाउँ भएन, चार्ल्स शोभराज भोलि मात्रै कारागारबाट छुट्ने

अध्यागमनमा राख्ने ठाउँ भएन, चार्ल्स शोभराज भोलि मात्रै कारागारबाट छुट्ने

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:५६, काठमाडौँ

अमेरिकी नागरिकसहितको हत्यामा मुछिएर जेल सजाय भोगिरहेका कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार केन्द्रीय  कारागार सुन्धारामै रहने भएका छन्। 

अध्यागमन विभागले उनलाई राख्ने अलग्गै ठाउँ नभएको जानकारी दिएपछि केन्द्रीय कारागारले उनलाई बुधबार अन्तिम समयमा रिहा गरेन। आजै रिहा गर्ने भनेर कारागारको अस्पतालमै शोभराजको स्वास्थ्य जाँच भइसकेको थियो।

केन्द्री कार्यालयका जेलर ईश्वरी पाण्डेले शोभराज बिरामी भएकाले अलग्गै ठाउँ नरहेको जानकारी दिएको बताए।

'अध्यागमन विभागले आजलाई शोभराजलाई राख्ने ठाउँ नभएको जानकारी दिएको छ। उनलाई राख्ने अलग्गै ठाउँ व्यवस्थापन गरेपछि शोभराजलाई रिहा गर्ने कुरा भएको छ', पाण्डेले भने, 'अब शोभराजलाई शुक्रबार बिहान १० बजेपछि मात्रै यहाँबाट अध्यागमन पठाउने छौँ।'

विभागले शोभराज विभिन्न रोगका बिरामी रहेकाले अन्य मानिसलाई राख्ने कोठामा राख्न नमिल्ने जानकारी कारागारलाई दिएको छ। 

पछिल्लो समय अमेरिकी नागरिकको हत्या र केन्द्रीय कारागारमै रहेका जाली नोटसहितका आपराधिक कार्यमा संलग्न युनुस अन्सारीमाथिको गोलीकाण्डको सजाय भोगिरहेका उनलाई ज्येष्ठ नागरिकलाई दिइने सुविधाअनुसार रिहा गर्न बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो।

'भक्तपुर र काठमाडौं जिल्ला अदालतमा रहेका अलग अलग मुद्दामा सजाय काटेको पत्र आइसकेको छ', उनले भने, 'दुवै अदालतबाट पत्र आएकाले उनको रिहाइका लागि अहिले कारागारभित्रकै अस्पतालमा स्वास्थ्य जाँच हुँदैछ। स्वास्थ्य जाँच सकेर सकेसम्म आजै उनलाई अध्यागमन विभागमा बुझाउने तयारी गरेका छौँ।'

अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो। 

सर्वोच्चको आदेशअनुसार बिहीबार नै दुवै अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका थिए। 

काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज शुक्रबार रिहा हुन लागेका हुन्। उनलाई अब जेलबाट सिधै अध्यागमन विभागमा लगेर बुझाइँदैछ। 

त्यहाँबाट उनलाई अध्यागमन विभागले उनलाई फ्रान्सतर्फ डिपोर्ट गर्ने छ। 

अमेरिकी नागरिकको हत्यासँगै २०६७ माघ २२ गते भारतको लखनउबाट आएका जस्जीत सिंहले शोभराजलाई नै भेट्ने बहानामा युनुसमाथि गोली हानेको घटनामा पनि मुद्दा लागेको थियो।

उक्त गोलीकाण्डमा काठमाडौं जिल्ला अदालतले शोभराजलाई पनि ५ वर्षको जेल सजाय सुनाएको थियो।

केन्द्रीय कारागारमा थुनामा रहेका समयमा पटक पटक शोभराजलाई भेटेका सिंहले युनुसमाथि गोली हानेका थिए। 

शोभराजलाई भेट्ने बहानामा कारागारभित्र प्रवेश गरी अन्सारीलाई गोली हानेको त्यसबेला खुलेको थियो। त्यही आधारमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो। 

सर्वोच्चले शोभराजलाई बुधबार १५ दिनभित्र प्रक्रिया पूरा गरेर रिहा गर्न आदेश बुधबार नै दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .