ad ad

समाज


नेपालमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालखबर
पुस ७, २०७९ बिहिबार १९:२, काठमाडौँ

नेपालमा छिमेकी मुलुकमा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको छैन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको बीएफ ७ नामक प्रजातिको नयाँ भेरिएन्ट नेपालमा फेला नपरेको जानकारी दिए।

उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा बीएफ ७ नामक प्रजातिको भेरिएन्ट फेला नपरेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट फेला परेको उनले बताए। 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरिएन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ। हाम्रै छिमेकी देशहरुमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सूसुचित हुँदै सजक हुन आवश्यक रहेको उनले बताए। 

कोभिड–१९ को सङ्क्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ। मन्त्रालयले सबै सिमानाका बिन्दुका स्वास्थ्य सहायता कक्षहरुमा स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी गर्न आग्रह गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .