समाज


सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

थुनामै फर्काउनु नपर्ने ठहर
सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १७:२७, काठमाडौँ

सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जाने अनुमति दिएको छ।

लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो।

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो।

त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो।

सोमबार सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले बहस गरेका थिए। 

सरकारी वकिलको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जवाफी बहस गरेका थिए।

सन्दीपलाई एकजना किशोरी (गौशाला २६) लाई बलात्कार गरेको अभियोग लागेको थियो। त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो।

जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए। जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो।

उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए। 

तर त्यसपछि सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं छाड्न पूर्वअनुमति लिनुपर्ने र विदेश जान नपाउने आदेश दिएको थियो।

त्यसविरुद्ध सन्दीप सर्वोच्च अदालत पुगेका थिए। उनले आफूलाई विदेश जान रोक लगाउने उच्च अदालतको आदेश बदर गर्न माग गरेका थिए।

सर्वोच्चमा बहस हुँदा नेपाली क्रिकेट टिमका व्यवस्थापक विनोद दास सर्वोच्चको बन्द इजलासमै पुगेर सन्दीपलाई विदेश लैजाँदा आफूले फर्काउने ग्यारेन्टी लिएका थिए।

दुई दिन चलेको बहसबीच पीडितको पक्षबाट महान्यायाधिवक्ताको कार्यालले सन्दीपलाई थुनामै फर्काउनुपर्ने मागलाई पनि अस्वीकार गरेको छ।

सर्वोच्चले बिहीबार सन्दीप र पीडित पक्ष दुवैको निवेदन एकै ठाउँ पेश गर्न भनेको थियो। त्यसपछि दुवै निवेदन एकै ठाउँ राखेर सुनुवाइ भएको थियो। 

सर्वोच्चको यो आदेशसँगै अब सन्दीप क्रिकेट खेल्न युएई जान पाउने भएका छन्। नेपालले सोमबार त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीसँग खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .