राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गरिएको रिट बुधबारका लागि पेशी तोकिएको छ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि पेशी सरेको हो।
सुनुवाइ सुरु गर्न लाग्दा सिन्हाले यसअघि संवैधानिक इजलासमा रहेर आफूले रविको मुद्दा हेरेकाले अन्य न्यायाधीशकहाँ पेशी तोक्न आदेश दिएका छन्।
यो मुद्दामा अब बुधबार पुन: गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने नबढ्ने निश्चित हुनेछ।
रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको थियो। रविविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो।
यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए।
मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए।
रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।
उक्त प्रकरणमा रविलाई कारबाही गरी पाउन मागसहित सफलले गत माघ १७ मा जाहेरी दिएका थिए। लामिछानेले पनि नेपाली नागरिकता लिएको बयानको क्रममा स्वीकार गरिसकेका थिए।
नेपालमा दोहोरो नागरिकताको प्रणाली नभएको र विदेशको नागरिकता प्राप्त गरे पश्चात नेपाली नागरिक कायम नहुने ब्याख्या भएको निवेदनमा उल्लेख थियो।
Shares
प्रतिक्रिया