ad ad

समाज


यसपालि चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

यसपालि चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

नेपालखबर
असोज ८, २०८१ मंगलबार १९:२२, काठमाडौँ

यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए। उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए।

प्रवक्ता खड्काले भने, ‘यो वर्षको दसैँमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढीले उपत्यका छाड्ने अनुमान गरिएको छ।’

चाडपर्वका बेला आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए।

‘सडक राम्रो नहुनु, सवारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायत कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ,’ उनले भने।

खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ। दसैँमा सजगतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए।

प्रवक्ता खड्काले चाडबाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसियारी अपनाउन र यात्रुलाई पनि सजग रहन आग्रहसमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .