नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।
सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गरे।
साथै उनले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७९’ र नेपाल मेडिकल जर्नलकोसमेत लोकार्पण गरे।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिने अस्पतालका पूर्व मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. काशीराम कुँवरलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गरे।
साथै, उनले लुम्बिनी प्रदेश प्रहरी अस्पतालका भिजिटिङ कन्सल्टेन्ट डा. अशिम किद्धाईलाई कदरपत्र, लुम्बिनी प्रदेश प्रहरी अस्पताल र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत इमर्जेन्सी विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गरे।
सो अवसरमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे।
अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उनले अस्पतालबाट प्रवाह हुने सेवा प्रहरी कर्मचारीको मनोबलसँगसमेत गाँसिने भएकोले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
अस्पतालमा आउने सेवाग्राहीको पृष्ठपोषणको आधारमा सेवा प्रवाह गर्न सकेमा अस्पतालप्रतिको छवि अझै राम्रो हुनेतर्फ उनले जोड दिए।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकोले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको छवि उच्च गर्न र संगठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए।
अस्पतालले प्रवाह गर्ने सेवालाई अझै उत्कृष्ट एवम् पारदर्शी रूपमा अगाडि बढाउँदै सेवाग्राहीले अनुभूति गर्ने गरी सेवा प्रदान गर्नसमेत अस्पताल प्रशासनलाई उनले निर्देशन दिए।
कमि कमजोरीप्रति निर्मम रूपमा लागेर सेवा प्रवाहलाई नै प्रमुख दायित्व मानेर अगाडि बढेमा सेवाको गुणस्तरीय र अस्पतालप्रतिको छवि सुधार्न सकिने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पतालले प्रवाह गर्ने सेवा सुविधा समग्र सेवाग्राही र प्रहरी कार्यसम्पादनको मनोबलसँग जोडिने हुनाले सेवा प्रवाहमा संवेदनशील भई लाग्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
प्रतिक्रिया