ad ad

समाज


थारु समुदायमा माघीको रौनक

थारु समुदायमा माघीको रौनक

प्रकाश न्यौपाने
पुस २९, २०७६ मंगलबार ६:३६,

माघी पर्व आउन एक दिन बाँकी छ। खासगरी यो पर्वमा थारु समुदायले विशेष कार्यक्रम आयोजना गरी माघी मनाउँछन्।

यतिबेला प्रदेश पाँचका थारु बस्तीमा माघीको रौनक छाएको छ। रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दियालगायत जिल्लाका थारु बस्तीहरुमा चहलपहल बढेको छ। थारु संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ठाउँठाउँमा थारु कल्याणकारिणी सभा जिल्ला, क्षेत्र र इकाई समितिहरुले माघी तथा खिचडी महोत्सवको आयोजना गरेका छन्। केही ठाउँमा महोत्सव समेत गरिसकिएको छ।

रुपन्देहीमा थारु कल्याणकारिणी सभा ओमसतिया गाउँपालिका–४, इकाई समितिको आयोजनामा थारु राष्ट्रिय पर्व माघ खिचिडी महोत्सव २०७६ सम्पन्न भएको छ। यस क्षेत्रमै पहिलोपटक आयोजित महोत्सवमा थारु संस्कृतिसम्बन्धी बिभिन्न झाँकीको साथै थारु संस्कृतिहरु प्रस्तुत गरिएको थियो। इकाई समिति अध्यक्ष रामलखन चौधरीले माघीको अवसरमा थारु संस्कृति झल्कने नृत्यले गाउँघर गुन्जयमान भएको बताए।

माघीमा थारुबस्तीहरुमा युवायवतीहरु मघौटा, सखिया र हुरदंगाा नाच नाच्ने गर्छन्। उनी भन्छन्, ‘माघीकै अवसर पारेर गरिने कार्यक्रमले नै थारु संस्कृतिको जर्गेना हुने गरेको छ।’ माघी अर्थात् माघे संक्रान्तीको अघिल्लो दिन यो समुदायमा जीता मार्ने (सामूहिकरुपमा सुँगुर, बंगुर मारेर खाने) प्रचलन समेत छ। माघीपछि थारुहरुको नयाँ वर्षसमेत सुरु हुन्छ। माघीसँगै थारु समुदायका वस्तीहरु चिटिक्क पारिएको छ। टाढा रहेका आफन्तहरु घर फर्किइसकेका छन्। केही फर्किने तरखरमा छन्।

थारु समुदायको नयाँ वर्ष २६४४ र महान् पर्व माघी खिचडीका अवसरमा कपिलवस्तुका चार स्थानमा मेला लाग्ने भएको छ। वाणगंगा नगरपालिकाको गजेहडा, बुद्धभूमि नगरपालिकाको बरकुलपुर र शिवराज नगरपालिकाको चन्द्रौटा तथा भगवानपुरमा माघी मेला आयोजना भएको थारु अगुवा रामबहादुर थारुले जानकारी दिए। महोत्सवमा थारु पुख्र्यौली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामग्रीको प्रदर्शन, झुम्रा, झर्रा, लाठी, मयूर, सजनी बिरहानीलगायतका थारु नृत्य, थारु खानाको परिकार, थारु वेशभूषाको प्रदर्शन गरिने थारु कल्याणकारिणी सभाले जनाएको छ।

यस्तै किसिमले प्रदेश पाँचका विभिन्न जिल्लाहरुमा थारु कल्याणकारिणी सभाले कार्यक्रमको आयोजना गरेको छ। खासगरी थारु समुदायको बाहुल्यता रहेको बर्दियाको ठाकुरद्वारामा परम्परातग माघी मेला लाग्ने गर्छ। ठाकुरद्वारामा रहेको ठाकुरबाबा मन्दिरमा माघ १ गतेका दिन विशेष पूजाआजा हुने गर्छ। ठाकुरबाबा मन्दिरको दर्शनका लागि बर्दियाका विभिन्न ठाउँसहित दाङ, सुर्खेत, कैलाली र सीमावर्ती भारतीय बस्तीबाट पनि दर्शनार्थी आउने गर्छन्। माघीमा ठाकुरबाबाको दर्शन गरेमा मनोकामना पुरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

माघीलाई थारु समुदायले पारिवारिक मिलन, निसराउ चढाएर अग्रजको सम्मान, सुख–दुःख साटासाट, नाचगान र मीठो–मसिनो खानपानका साथै वर्षभरिको योजना बनाउने पर्वकारुपमा मनाउने गर्छन्। माघीमा थारु समुदायको मुख्य परिकारका रुपमा ढिक्रीलाई लिने गरिएको छ। यो पर्वमा ढिक्रीको ठूलो महत्व रहने थारु अगुवा नरसिंह चौधरीले जानकारी दिए। ‘माघीमा रातभरी नै नाचगान गर्ने गरिन्छ। बिहानपख नजिककैका तलाउ, नदीमा पुगेर नुहाउने र पूजाआजा गरिन्छ’, उनले भने। भगवानको नाममा स्नान गर्दा जेठो छोराबाट सुरु गरी पालैपालो नदीमा स्नान गर्ने गरिन्छ। स्नान गरिसकेपछि तिलको डाँठको आगो बालेर तापी कसैसँग नबोलेर टिकाउने र त्यसपछि एक अर्काप्रति सदभाव व्यक्त गरिन्छ।

ठाउँठाउँमा आयोजना गरिएका महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकारको प्रवद्र्धन हुने गरेको छ। विशेषगरी महोत्सवहरुमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी प्रदर्शन गरिँदै आएको छ । माघी पर्वको अवसर पारेर प्रदेश पाँच सरकारले माघ १ र २ गते प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .