ad ad

राजनीति


संघीय ससंदको झल्को दिने गाउँपालिकाको त्यो बैठक

संघीय ससंदको झल्को दिने गाउँपालिकाको त्यो बैठक

नेपालखबर
पुस २९, २०७६ मंगलबार ६:१९,

संघीय संसद् बैठक सञ्चालनको शैलीमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले गाउँँसभा बैठक आयोजना गरेको छ।

सोमबार दिउँसो २ बज्न लागेको थियो। बैठक कक्षमा राष्ट्रिय धुन बज्दा सबै आ आफ्नो आसनबाट उठे। यसपछि बैठक प्रारम्भ भयो। गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई गाउँपालिका अध्यक्ष तथा गाउँसभाध्यक्ष गीताकुमारी गुरुङले संशोधित आर्थिक विधेयक २०७६ सभामा प्रस्तुत गर्न अनुमति दिए।

विधेयकलाई पालिका सदस्य बलराम त्रिपाठीले समर्थन जनाए। विधेयकमाथि केही सदस्यले आफ्नो धारणा तथा सुझाब राखेका थिए।

अध्यक्ष गुरुङले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पक्षमा ‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’, विधेयकको विपक्षमा ‘हुन्न भन्नेले हुन्न भन्नुहोस्’ भने। सदस्यले हात उठाएर हुन्छ भने। सबैले हात उठाएर सहमति जनाएपछि गाउँसभाध्यक्ष गुरुङले हुन्न भन्ने आवाज नआएकाले विधेयक सम्मानित सभाबाट पास भएको घोषणा गरे। सबै सदस्यले ताली बजाइ विधेयक पारित गरे।

यसैबीच अन्य विधेयक सम्बन्धित विषयका संयोजकबाट क्रमशः प्रस्तुत भयो। ती विधेयकलाई क्रमशः सोही प्रक्रियामा अघि बढाइयो। गाउँपालिकामा व्यवस्थापिका संसद्कै शैलीमा गाउँसभा बैठक आयोजना गरिएको पहिलोपटक भएको बताइन्छ।

विधेयकको बारेमा छलफल गर्न चाहने सदस्यलाई तीन मिनेटको समय प्रदान गरिएको थियो। विधेयकमाथि सदस्यले उठाएको प्रश्नको जवाफ सम्बन्धित विषयका संयोजकले जवाफ दिएका थिए। कतिपय बोल्ने सदस्यले सभाध्यक्षलाई ‘सभामुख’ भनेर सम्बोधनसमेत गरेका थिए।

प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गाउँसभामा सोमबार संशोधित आर्थिक विधेयक २०७६, सहकारी विधेयक, संशोधित विनियोजन विधेयक २०७६, भवन निर्माणसम्बन्धी विधेयक, स्वास्थ्य संस्था दर्ता सञ्चालन तथा नियमन विधेयक २०७६, न्यायिक समितिसम्बन्धी विधेयक २०७६ गरी छ वटा विधेयक प्रस्तुत भएका छन्। प्रस्तुत विधेयकको सोमबारदेखि नै दफाबार छलफल शुरु भएको छ।

झण्डै तीन घण्टा बसेर गाउँसभाको बैठक सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष गुरुङले स्थगित गरे। उनले आगामी बैठक माघ २० गते बस्ने जानकारी दिए। गाउँसभामा गाउँसभा सदस्यबाहेक पत्रकार र कर्मचारीलाई मात्र प्रवेशको अनुमति थियो।

चेपाङ जनप्रतिनिधिको सक्रियता सहभागिता
झण्डै तीन घण्टा चलेको उक्त गाउँसभामा चेपाङ जनप्रतिनिधिको सक्रियता प्रशंसनीय थियो। वडासदस्य तथा गाउँसभा सदस्य खिरबहादुर चेपाङले सबैभन्दा बढी विधेयकमा आफ्नो भनाइ राख्न हात उठाएका थिए।

उनले तीन वटा विधेयकमा आफ्नो सुझाब र केही विमति राखेका थिए। यसैबीच अर्का सदस्य डम्मरकुमारी चेपाङले पनि छलफलमा आफ्नो भनाइ राखिन्।

यसअघिको गाउँसभामा खासै सक्रियता नदेखाएका सदस्यले यस पटकको गाउँसभामा भने खुलेरै आफ्नो भनाइ राखेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .