ad ad

समाज


३५ वर्षपछि फेरि उही जेलका ‘रुम पार्टनर’ बने बालकृष्ण र टोपबहादुर

३५ वर्षपछि फेरि उही जेलका ‘रुम पार्टनर’ बने बालकृष्ण र टोपबहादुर

उजिर कार्की
असार ६, २०८० बुधबार २०:३२, काठमाडौँ

बालकृष्ण खाँण र टोपबहादुर रायमाझी गत शुक्रबार एउटै गाडीमा सुन्धारा कारागार पुगे। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नागरिकलाई ठगेको आरोपमा दुवै नेता पुर्पक्षका लागि थुनामा पुगेका छन्। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पक्राउ परेका १८ मध्ये १६ जनालाई थुनामा पठाउँदा त्यसमा दुवै पूर्वमन्त्री परे। 

उनीहरुलाई केन्द्रीय कारागारको भद्र बन्दीगृहमा एउटै कोठामा राखिएको छ।

दुर्लभ संयोग, यी दुई नेता ३५ वर्षअघि पनि यही जेलको यही बन्दीगृहमा एउटै कोठामा थुनिएका थिए।

३५ वर्षपछि फेरि उनीहरु उही जेलमा सँगै फर्केका छन्। र, उनीहरुले फेरि जेलको एउटै कोठा ‘सेयर’ गर्नुपरेको छ।

२०४५ सालमा पञ्चायतविरुद्ध उत्रँदा बालकृष्ण खाँण र टोपबहादुर रायमाझी सँगै पक्राउ परेका थिए। त्यतिबेला पनि उनीहरुलाई केन्द्रीय कारागारको भद्र बन्दी गृहमा तीन महिना राखिएको थियो। 

विद्यार्थी नेता हुँदा सँगै जेल जीवन बिताएका खाँण र रायमाझी आआफ्नो मूल पार्टीको नेतृत्वदायी भूमिकामा हुँदा जेल फर्किए। यसअघि २७ वर्षको हुँदा जेल परेका दुवै नेता अहिले ६० काटिसकेका छन्।

दुवै नेता २०१८ सालका हुन्। रायमाझी र खाँण यतिबेला ६२ वर्ष पुगेका छन्। खाँण स्याङ्जा र रायमाझी अर्घाखाँचीमा जन्मिएका हुन्। अहिले खाँण रुपन्देही सरेपछि एउटै प्रदेश लुम्बिनीमा छन्। 

खाँण गृहमन्त्री बन्नुअघि रायमाझी उर्जामन्त्री थिए। त्यसअघि नै उनी उपप्रधानमन्त्री समेत भइसकेका थिए। 

२०६६ मा भौतिक पूर्वाधार, २०६७ मा स्थानीय विकास र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्हालेका रायमाझी २०७२ मा केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेर गएका थिए। त्यतिबेला उनी उपप्रधान एवम् उर्जामन्त्री बनेका थिए। पछि नेकपा फुटेपछि पनि उनलाई ओलीले मन्त्री बनाएका थिए। तर सर्वोच्च अदालतले खारेज गरिदिएपछि बाहिरिनु पर्यो। 

अहिले उनी अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्। एमालेमा जाँदा माओवादीले कारबाही गरेपछि रायमाझी सांसद नै नरहँदा बालकृष्ण खाँण भने सांसद थिए। 

रायमाझी सरकारबाट बाहिरिएपछि देउवा नेतृत्वको सरकारमा खाँण गृहमन्त्री बने। त्यसअघि उनी रक्षामन्त्री भइसकेका थिए। अहिले रायमाझी चुनाव जितेर आउँदा खाँण भने रुपन्देहीमा पराजित भए। 

दुवै नेता विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका हुन्। दुवैले आ–आफ्नो पार्टीका विद्यार्थी संगठनको नेतृत्व गरे। त्यसपछि दुवैले युवा संगठनको पनि नेतृत्व सम्हाले। बालकृष्ण खाँण तरुण दलको अध्यक्ष भए। टोपबहादुर रायमाझी वाईसीएलको संस्थापक संयोजक हुन्। 

यसबीचमा दुवै जना पटकपटक जेल परे। रायमाझीले २ वर्षजति जेलमा बिताएका छन्। खाँणले पनि यसअघि तीन पटकमा एक वर्ष बढी यही जेलमा बिताइसकेका छन्। 

तर अहिले खाँण गृहमन्त्री हुँदा र रायमाझीले त्यसअघि नै भुटानी शरणार्थी प्रकरणमा गरेका कसुरका कारण अदालतले सँगै थुनामा पठाएको हो। 

केन्द्रीय कारागारमा तीनवटा बन्दीगृह छन्। तीन वटामा ३ हजार ४ सय बढी कैदीबन्दी छन्। शरणार्थी प्रकरणमा थुनामा पुगेका १६ जनालाई दुई वटा केन्द्रमा ८÷८ जना राखिएको छ। प्रशासनले खाँण र रायमाझीलाई भने एउटै केन्द्रको एकै कोठामा राख्यो। ३५ वर्षपछि रायमाझी र खाँण पुनः जेलभित्रै रुम पार्टनर बने। 

बालकृष्ण खाँण र टोपबहादुर रायमाझी रहेको भद्र बन्दी गृहमा टोपबहादुरका छोरा सन्दीप, बालकृष्णका पूर्व निजी सचिव नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मिया, कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा, गोविन्द चौधरी र रामशरण केसी छन्। 

अरुलाई पछि छुट्टाछुट्टै कोठामा राखिएको छ। 

खाँण र रायमाझी रहेको भद्र बन्दीगृहको त्यो कोठामा ६ जना कैदीबन्दी छन्। खाँण र रायमाझीबाहेक त्यो कोठामा कारागारको आन्तरिक प्रशासनका कर्मचारी छन्। जेलका नाइके र भाइ नाइकेसँगै बस्छन् उनीहरु। ४ जना अरु कैदीसँग राखिएका रायमाझीका आफ्नै छोरा सन्दीप भने अर्कै कोठामा छन्। 

उनले कारागार प्रशासनसँग बाबुछोरालाई एउटै कोठामा राखिदिन आग्रह गरेका थिए। तर प्रशासनले उनको आग्रह मानेन। अर्कै कोठामा राख्यो। 

अहिले बाबुछोरा हरेक दिन भेट्छन्। दिउँसो उनीहरु कोठाबाहिर सँगै हुन्छन्। तर रात परेपछि फरकफरक कोठामा जान्छन्। 

नाइके र भाइनाइकेले कारागारभित्रको सबै व्यवस्था मिलाउँछन्। उनीहरुसँगै रहेका बालकृष्ण र टोपबहादुरका लागि पनि सबै कुरा उनीहरुले नै मिलाइदिएका छन्। खाना पनि उनीहरुले पैसा थपेर राम्रै चामलको खान्छन्। 

खाँणले अहिले आफ्नो लेखान्तै यस्तो रहेछ भनेर चित्त बुझाउने गरेका छन्। आफूलाई भेट्न जानेसँग उनी यस्तै कुरा गर्छन्। तर टोपबहादुरको भने गुनासो छ। 

उनी आफूलाई मिडिया र राज्य लागेर फसाएको आरोप लाउँछन्। जेल पुगेको दोस्रो दिन उनलाई भेट्न पुगेका कर्मचारीसँग पनि यस्तै गुनासो गरे। 

जेलमा बस्दाको सजिलोअप्ठेरो सोध्न आइतबार जेलरसहितको टोली पुगेको थियो। उनले त्यो टोलीसँग पक्राउ पर्नुअघिदेखि जेल जाँदासम्मको दुखेसो सुनाए। 

पक्राउ परेर भोलिपल्ट म्याद थपका लागि सरकारी वकिल कार्यालय लैजाँदै गर्दा उनले विजयी नेताको शैलीमा हात उठाएर अभिवादन गरेका थिए। तर त्यसपछि आएका समाचारले आफूलाई नराम्रो लागेको सुनाए। 

‘घोसेमुन्टो लगायो भने पनि दोषी नै रहेछ, अपराध स्विकारिसक्यो भन्दिन्छन्। त्यही भएर मैले हात हल्लाएर राम्रोसँग गएको। पछि मलाई अपराध गरेर पनि अझै विस्मात छैन भने। मिडियाले जसरी पनि लखेटे मलाई,’ उनले जेलरसहितका कर्मचारीसँग भने, ‘यो मुद्दामा म दोषी छँदै छैन। सुरुमा मिडियाले खेदो खने, पछि राज्य लाग्यो।’

खाँणले भने त्यो टोलीसँग ठट्यौली गरे, गुनासो गरेनन्। 

‘जेल भनेको यस्तै त हो, यहाँ के सुविधा पुगेन भन्नु र। त्यही पनि अहिले त धेरै राम्रो भएछ। यहाँ गरिने व्यवहार पनि फेरिएछ।’

यसअघि पञ्चायतकालमा पनि आफूहरु सँगै यही जेलमा बसेको किस्सा खाँण र रायमाझीले सुनाए। 

तर, उनीहरुको पहिलेको र अहिलेको जेलगमनमा आकास–पातालको फरक छ। उतिबेला उनीहरु व्यवस्था बदल्ने राजनीति गर्दा जेल पुगेका थिए। जेलमा पनि उनीहरुको शिर गर्वले ठाडो थियो।

अहिले उनीहरुमाथि ठगी र आफ्नो नागरिकलाई शरणार्थी बनाउने निकृष्ट अपराधमा संलग्न भएको अभियोग छ। उनीहरुमाथि राज्यविरुद्धको कसुरको आरोप छ। जुन राजनीति गर्ने व्यक्तिका लागि सबैभन्दा ठूलो अभियोग हो। 

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले अब उच्च अदालतमा निवेदन दिनेछन्। उच्च अदालतले जिल्लाको आदेश बदर नगरे उनीहरुको जेल जीवन लम्बिने छ। उच्चको आदेशपछि दुवै पक्षलाई सर्वोच्च जाने बाटो खुला हुनेछ। 

थुनछेक आदेशको यो चरण सकिएपछि फेरि फैसलाको प्रक्रिया सुरु हुनेछ। जिल्ला अदालतले फैसला गरेपछि पनि उच्च र सर्वोच्चसम्म यो प्रक्रिया पुग्नेछ। त्यसअघि नै रायमाझी संसदबाट भने निलम्बित भइसकेका छन्। फैसला नटुंगिएसम्म उनको निलम्बन फकुवा हुनेछैन।

अदालतले यी आधार देखाउँदै पठायो जेल
रायमाझीलाई थुनामा पठाउने आदेशमा अदालतले केही आधारहरु देखाएको छ। जसमा आर्थिक लेनदेनदेखि म्यासेज आदानप्रदानसम्म छन्। 

सानु भण्डारीको बयान र डायरी पनि टोपबहादुरको जेल यात्राका आधार बने। 

भण्डारीले बयानका क्रममा १ करोड ६० लाख नगद र ४० लाख रुपैयाँ बैंकमार्फत दिएको बताएका थिए। टोपबहादुर संलग्न देखिए भन्ने आदेशमा सानु भण्डारीबाट बरामद भएको डायरीमा उल्लेख रकम दिएको कुरालाई पनि प्रमाणका रुपमा लिइएको छ।

‘सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा यी प्रतिवादीलाई विभिन्न मितिमा रकम दिएको भन्ने उल्लेख भएको देखिन्छ। जाहेरवाला प्रेमराज पन्थीको जाहेरी व्यहोरामा टंककुमार गुरुङको रेस्टुरेन्टमा टोपबहादुर रायमाझी, निजको पीए लीला जिसी, केशवप्रसाद दुलाल, सानु भण्डारी र भेषराज शर्मा समेतको घण्टौं मिटिङ गरी अब तपाईंहरुको काम हुन्छ भनेका र बानेश्वरको एभरेस्ट होटलमा टोपबहादुर रायमाझीले टेन्सन नलिनु तपाईंहरुको काम पक्का हुन्छ भनेको र संसद् विघटन भएपछि सरकार परिवर्तन भएकाले अब हाम्रो सरकार आएपछि मात्र तपाईंहरुको काम हुन्छ भन्ने उल्लेख गरेको, सहप्रतिवादीहरु सानु भण्डारी, केशवप्रसाद दुलाल र टेकनाथ रिजालको बयान समेतबाट यी प्रतिवादीको आरोपित कसुरमा संलग्नता रहेको देखिन्छ,’ आदेशमा उल्लेख छ। 

यसअघि बयानका क्रममा रायमाझीले इन्कार गरेका थिए। उनका वकिलले पनि रायमाझीविरुद्ध जाहेरी नपरेको र उनी निर्दोष रहेको दाबी गरे। तर तत्काल प्रमाणबाट रायमाझी निर्दोष रहेको मान्न नसकिने भन्दै अदालतले थुनामा पठाउन आदेश गर्यो।

न्यायाधीश न्यौपानेले पूर्वगृहमन्त्री खाँणलाई पनि पुर्पक्षका लागि थुनाबाहिर राख्न मिल्ने ठानेनन्। त्यसका लागि उनले आदेशमा केही आधारहरु उल्लेख गरेका छन्। 

तत्कालीन गृहमन्त्री खाँण बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलको प्रतिवेदन किर्तेदेखि अर्को कार्यदल बनाउनेसम्मका काममा संलग्न देखिएका छन्। 

यस्तै विवादित रहेको अवस्थामा पन्थी प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदमा पेस गर्न स्वीकृति दिएको, छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गराएको, कार्यदेश थप भएको जस्ता कार्यमा खाण संलग्न रहेको अदालतको ठहर छ।

बालकृष्ण खाँण गृहमन्त्री रहेका बखत मन्त्रिपरिषदबाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्को नक्कली समानान्तर प्रतिवेदन गृह मन्त्रालयमै तयार भएको अभियोगमा उल्लेख छ। 

यस्तै सहप्रतिवादी केशवप्रसाद दुलालले गृहमन्त्री हाम्रै मान्छे हुन् गृहमन्त्री र गृह सचिवसँग कुरा भइरहेको छ, अब रकम फिर्ता गर्ने होइन अमेरिका जाने हो भन्ने उल्लेख गरेको, केशवप्रसादल दुलाल र टेकनारायण पाण्डेका बीचको संवादलाई पनि अदालतले उनलाई थुनामा पठाउने आधार मानेको छ। 

खाँण गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेको बयानले पनि उनलाई जेल पुर्‍याउन सहयोग गर्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .