ad ad

समाज


सुनसरीको इनरुवामा निःशुल्क खाना खुवाउने अभियान सुरु

सुनसरीको इनरुवामा निःशुल्क खाना खुवाउने अभियान सुरु

नेपालखबर
माघ २, २०७६ बिहिबार ६:५५,

प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान सुरु भएको छ।

इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो। पूर्वका विभिन्न शहर र बजारमा गरिब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन्।

अभियानका लागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवी सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ। इनरुवा बसचोकमा शुरु गरिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल रु एक लाखबाट थालिएको आयोजक समितिका संयोजक यादवले बताए।

गरिब, असहाय, विपन्न र बेघर भई सडकमा भौँतारिएर दिन बिताइरहेका समुदायलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान सुरु गरिएको हो। प्रारम्भिक तवरमा तीन दिनका लागि भनि अघि सारिएको अभियानमा सहयोगी दाताको संख्या थपिन थालेकाले आफूहरुलाई हौसला प्रदान भएको अभियानका संयोजक यादवको भनाइ छ।

निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल, भात, अचार, पापड खान पाउनुका साथै निःशुल्क पानीसमेत पिउन पाउने आयोजकले जनाएको छ। इनरुवामा अभियानको उद्घाटन उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले गर्नुभयो । केही दिन अगाडि मोरङको विराटनगरमा रु १० मा पेटभरी खाना खुवाउन थालिएको थियो। विराटनगर बजारमा रहेको कालीमन्दिर अगाडिबाट सुरु तिरुपति क्याटरिङ सेवामार्फत रु १० मा खाना खुवाउन थालिएको छ।

विराटनगरबाट शुरु भएको यो अभियान अहिले प्रदेश १ मा लहरको रूपमा चलेको छ। विराटनगरमा बास्मती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ। एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी भिखारी वा गरीब मानिसलाई खाना खुवाउन चाहेमा जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ।

दमकको मुख्य चोकमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर अगाडिसमेत मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन सुरु भएको छ। भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान सुरु भएको छ। कतै १० रुपैयाँमा त कतै ५ रुपैयाँमा खाना खुवाउने अभियान शुरु भएको बेला सुनसरी सदरमुकाम इनरुवामा भने निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .