‘काम गर्नुपर्यो बा, २० हजार पैसा दिनु भन्यो। हामी गरिब मान्छे, केही गर्ला कि भनेर खोजेरै भए पनि पैसा दिएँ। मामा रामकुमारसँग मिलेर कम्पनी खोल्छु भन्थ्यो। सटर राखेर केही गर्ला कि भन्ने सोचेको थिएँ।’
दोलखाको मेलुङ–१ का रामबहादुर भुजेलले सुनाए।
तर, गत साउन ४ गते २१ वर्षीय छोरा दिलीप भुजेल एक क्विन्टल सुन अवैध रुपमा ल्याएको आरोपमा पक्राउ परेपछि उनी छाँगाबाट खसेजस्तै भए।
मिस्त्री काम गर्छन् रामबहादुर। छोरा दिलीप र जेठान रामकुमारले कम्पनी खोल्ने कुरा गरेपछि उनी २० हजार दिन राजी भएका थिए।
भुजेल परिवारलाई गाउँमा खेती गर्दा २ महिना मात्रै धानिन्थ्यो। बाँकी दिन अरुको घरमा काम गरेर खानुपर्थ्यो। खानै नपुगेपछि उनी छोरालाई लिएर काठमाडौँ आएका थिए।
अहिले उनलाई लाग्छ, काठमाडौँ नआएको भए कमसेकम छोरो त जेल जाँदैनथ्यो।
छोरा पक्राउ परेको खबर सुनेसँगै परिवारमा रुवाबासी चल्यो। उनी विरक्तिए। त्यसपछि उनी गाउँ गए। अब काठमाडौँ फर्केर नआउँजस्तो लागेको उनले सुनाए।
‘त्यो सहरमा खान पुग्ला भनेर गएका थियौँ, छोरालाई नै जेल पु¥याउने भयो,’ उनी फोनमै भक्कानिए।
रामबहादुरले दिएको पैसाले छोरा दिलीप र जेठानले मिलेर दिलीपको नाममा रेडी ट्रेड कम्पनी खोलेका थिए। गत चैत २९ गते रजिस्टार कम्पनीमा दर्ता भएको उक्त कम्पनीले हङकङबाट १ क्विन्टल सुन अवैध रुपमा भित्र्याएपछि कम्पनीका सञ्चालक उनै दिलीप पक्राउ परे।
बिहीबार पक्राउ परेका दिलीप दिनभर सम्पर्कमा नआउँदा बुबा रामबहादुर छटपटिएका थिए। उनले दिलीपले काम गरिरहेको चाउमिन उद्योगका सञ्चालकलाई फोन घुमाए।
‘साहुले दिलीप आएको छैन भनेपछि उसैको मोबाइलमा फोन गरिरहेँ धेरै पटक गरेपछि फोन उठ्यो। छोरो पुलिसले पक्राउ गरेको छ भन्यो,’ उनले सुनाए।
कम्पनी खडा गरे पनि कम्पनीले के गर्छ भन्नेबारे अनविज्ञ रामबहादुर छोराको नामबाट अरुले अपराध गरेको गुनासो गर्छन्।
‘मेरो छोरोले त्यतिधेरै सुन ल्याउनै सक्दैन। खान पनि नपुग्ने हामीले त्यत्रो आँट कसरी गर्न सकौँला र?’ उनी भन्छन्।
छोरा पक्राउ परेपछि उनी गाउँ पुगे, विह्वल भएका परिवार सम्हाल्न। बुबासँगै दिलीप ज्यामी काम गर्थे। बुबा रामबहादुरलाई भने छोराले पनि ज्यामी काम गरेको देख्दा कटक्क मन खान्थ्यो। लाग्थ्यो, पढेलेखेको भए अलिक राम्रो जागिर खान्थ्यो कि?
२१ बर्षका दिलीप बुबासँगै केही समय ज्यामी काम गरेपछि चाउमिन कारखानामा काम गर्न थालेका थिए। पक्राउ पर्दा पनि उनी अघिल्लो दिनसम्म कारखानामै रहेको बुबा रामबहादुर बताउँछन्।
‘कम्पनी खोलेको भने पनि फ्याक्ट्रीमै काम गरिरहेको थियो,’ उनले सुनाए।
गाउँमा एसईई दिएर बसेका भाइ, दिलीपकी श्रीमती र उनकी आमा छिन्।
दिलीपका बुबा रामबहादुर छोरा पक्राउ परेयता काममा जान सकेका छैनन्।
‘६ दिन भयो घर बसेको, अझै हातखुट्टा नै लागेको छैन, अब त छाक टार्न पनि काम गर्न जानै पर्छ,’ उनले सुनाए।
एक क्विन्टल सुन ल्याउने कम्पनीको मालिक बनाएर फसाएको गुनासो गर्छन् दिलीपका मामा भुवन भुजेल पनि।
भन्छन्, ‘हाम्रै अगाडि सामान्य ज्यामी काम गरिरहेको थियो, काठ र टिनले बारेको घरमा छ। कसरी उसले त्यत्रो सुन ल्याउने आँट गर्यो होला र?’
भुवनका भाइ पनि दिलीपसँगै प्रहरीको हिरासतमा छन्। दिलीपका मामा अर्थात भुवनका भाइ रामकुमार भुजेलकै सल्लाहमा कम्पनी खोलेको थाहा पाए पनि कस्तो कम्पनी भन्नेबारे थाहा नभएको बताउँछन् भुवन पनि।
भुवनका अनुसार दिलीप र उनको परिवारको एउटा टिन र काठले बेरिएको घर र २ रोपनी जग्गा छ। दिलीप १० महिनाअघि काठमाडौँ आएका थिए।
अब बुबा रामबहादुरलाई छोराको रिहाइका लागि हिँड्नु कि, परिवारको भोक टार्न काममा फर्कनु भन्ने अन्यौल छ।
‘छोरा पक्राउ परेपछि काम गर्नै सकेको छैन, परिवारको भोक टार्न म काम गर्न जाउँ कि छोरालाई छुटाउन जाउँ?’ उनी प्रश्न गर्छन्।
केही दिन छोरालाई भेट्न नपाइने खबर पाएपछि गाउँ फर्किएका उनी गाउँकै पढेका केही व्यक्तिलाई लिएर छोराको बारेमा बुझ्न काठमाडौँ आउने तयारीमा छन्।
दिलीप हाल राजस्व अनुसन्धान विभागको हिरासतमा छन्।
Shares
प्रतिक्रिया