ad ad

समाज


पेस्तोल ताकेपछि प्रतिकार गर्दा रोहितको हत्या, गर्दै आएका थिए श्रृंखलाबद्ध लुटपाट

पेस्तोल ताकेपछि प्रतिकार गर्दा रोहितको हत्या, गर्दै आएका थिए श्रृंखलाबद्ध लुटपाट

उजिर कार्की
साउन १७, २०८० बुधबार १७:१५, काठमाडौँ

सुनसरीको धरानस्थित जंगलमा लुटेराको प्रतिकार गर्दा गोली हानी युवकको हत्या भएको खुलेको छ। कोशी प्रदेश प्रहरी कार्यालयले हत्यामा संलग्न २ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। हत्यामा तीन जना संलग्न रहेपछि एक जना अझै फरार छन्।

गत साउन ५ गते साँझ विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको थियो। हत्यामा संलग्न मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दिपक तिमिल्सिना र सुनसरीको धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङ पक्राउ परेका छन्।

रोहितको हत्या उनीहरुले गरेको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ वास्तोलाले बताए। उनीहरुलाई धरान उपमहानगरपालिका १० पुतलीलाइनमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले हत्या तथा लुटपाटमा प्रयोग गरेका सामान समेत प्रहरीले बरामद गरेको छ। एएटा अटोमेटिक चाइनिज पेस्तोल, त्यसको गोली ९ राउण्ड, ५ वटा कालो झोला, महिलाले बोक्ने ब्याग ४ वटा, दुईवटा खुकुरी, बरामद गरेको छ। यस्तै ५ वटा मोबाइल र एउटा औंठी पनि बरामद गरिएको प्रदेश प्रहरी प्रवक्ता एसपी ऋषिराम कंडेलले बताए।

साउन ५ गते बेलुका ५ः१५ बजेतिर ईटहरी उपमहानगरपालिका २० सेउती पुल नजिकको जंगलमा चौधरी र उनीसँगै रहेकी युवतीलाई लुटेराले निशाना बनाए। उनीहरु रोहितको जन्मदिन मनाउन घुमफिर गरेर विराटनगर फर्किने क्रममा थिए।

मोटरसाइकल रोकेर रोहित र युवती पुल नजिकै बसिरहेका थिए। पैदल आएका तीनजनाले सुरुमा युवतीलाई पक्रिए।

त्यसपछि अर्का युवाले रोहीतलाई पक्रिएर पेटमा पेस्तोल ताके। नजिकै युवतीको घाँटीमा खुकुरी ताकेर लुटपाट गर्न थाले। उनका गहना निकाल्न थाले। त्यसपछि रोहीतले प्रतिकार गर्न खोज्दा गोली प्रहार गरेका थिए।

गोली प्रहारपछि रोहीत त्यहीँ ढले। युवतीको गहना लुटपाट गरेर उनीहरु जंगलतर्फ भागेको कंडेलले बताए।

घटनाको खबर पाउनासाथ पुगेको प्रहरीले तत्काल रोहितलाई उद्धार गरी बिपी कोइराला धरानमा उपचारका लागि लगे पनि उनको मृत्यु भइसकेको डाक्टरले घोषणा गरे।

युवतीले दिएको हुलियाका आधारमा प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो। अन्ततः १२ दिनपछि पक्राउ गर्न सफल भयो।

पक्राउ परेका तिमिल्सिना र तामाङ यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रही जेल बसेर छुटेको खुलेको छ। तिमिल्सिना जबरजस्ती करणीको मुद्दामा १० वर्ष कैद भुक्तान गरी दुई महिना अगाडि मात्रै छुटेका थिए। उनी लागुऔषध दुर्व्यसनी समेत रहेको र यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको खुलेको छ।

उनीहरुले लुटपाटकै रकमले पेस्तोल किनेको खुलेको छ। लुटपाट गरेका सामान भारतमा लगेर बेच्ने र भारतबाटै एक महिना अगाडि पेस्तोले किनेको एसपी कंडेलले बताए।

यस्तो छ लुटपाटको श्रृंखला
२०८० असार ८ गते साँझ साढे ६ बजेतिर सुनसरीको धरान उपमहानगरपालिका १७ खैरेनी जंगलमा लुटपाट भएको थियो। एक जना महिलालाई नडाहबाट धरानतर्फ जाँदै गर्दा ३ जना अज्ञात व्यक्तिहरुले लाठी र खुकुरी देखाई उनले लगाएका १ तोलाको सुनको सिक्री, आधा तोलाको सुनको मंगलसुत्र, आधा तोलाको सुनको टप, ओप्पो मोबाइल, उनले बोकेको ब्याग र ६ हजार ५ सय रुपैयाँ लुटापट भएको थियो। लुटपाट गरेर तीन जना फरार भएका थिए।

२०८० असार २३ गते बिहान साढे ९ बजे धरान उपमहानगरपालिका १७ खैरेनी जंगलबाट एक दम्पती लुटपाटमा परेका थिए। धरानबाट प्रकाशपुर जाँदै गर्दा मोटरसाइकलमा रहेका श्रीमान श्रीमतीलाई उक्त जंगलबाट निस्किएर ५ जनाले खुकुरी देखाएर मोटरसाइल रोके। त्यसपछि उनीहरुको साथबाट नगद तथा गरगहना लुटपाट गरे।

२ तोलाको सिक्री, ५ आनाको टिलसहितको सिक्री, आधा तोलाको सुनको नवरत्न औंठी, १ तोलाको बेरुवा औंठी, ५ आनाको कानमा लगाउने पिन्जडा, ४० हजार रुपैयाँ पर्ने घडी, महिलाको पर्स, ल्यापटप ब्याग, रेनकोट, २ थान मोबाइल र १५ हजार रुपैयाँ लुटपाट भएको थियो।

२०८० असार ३१ गते दिउँसो साढे ४ बजेतिर धरान कालाबन्जरा सडकमा लुटपाट गरेका थिए। धरान उपमहानगरपालिका १७ स्थित धरान कालाबन्जरा सडकखण्डमा धरानबाट कालाबन्जरातर्फ जाँदै गरेका एक जना पुरुष लुटपाटमा परेका थिए।

मोटरसाइकलमा रहेका ती पुरुषलाई खुकुरी र पेस्तोल देखाएर मोटरसाइकल रोक्न लगाएका थिए। त्यसपछि उनको साथमा रहेको ५२ हजार रुपैयाँ र ५ हजारको प्रसुती सम्बन्धी औषधि समेत लुटेर फरार भएका थिए। यस्तै, तीन थान चेकबुक, बच्चाका तीन जोर लुगा, इस्टकोट, ज्याकेट र जग्गाको नक्सा लगायतका अन्य कागजातहरु समेत लुटपाट गरेर भागेका थिए।

यसरी १० वर्षदेखि श्रृंखलावद्ध अपराधमा संलग्न समूह फेरि प्रहरीको फन्दामा परेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .