ad ad

समाज


६० किलो सुन प्रकरण : तत्कालीन भन्सार प्रमुख पोखरेलसँग सीआईबीले गर्‍यो सोधपुछ

६० किलो सुन प्रकरण : तत्कालीन भन्सार प्रमुख पोखरेलसँग सीआईबीले गर्‍यो सोधपुछ

विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल


नेपालखबर
भदौ १९, २०८० मंगलबार १४:९, काठमाडौँ

गत साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग सोधपुछ गरेको छ।

हङकङबाट ६० किलो सुन तस्करी गरेर नेपाल छिराउँदा बिदामा रहेका पोखरेल अहिले काममा फर्किएका छन्। 

उनलाई बिदामा रहँदै अर्थ मन्त्रालयलले विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाएर तानेको थियो।

सुन तस्करीको आरोपमा विमानस्थल भन्सारका केही कर्मचारी र भन्सार एजेन्ट पनि पक्राउ परेका छन्। 

उनीहरुलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ। तर त्यतिबेला बिदामा रहेका भन्सार प्रमुखसँग पनि सीआईबीले सोधपुछ गरेको हो। 

यसअघि विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा भन्सारले पक्राउ गरेको भेपको ९ किलो सुन गायब भएको थियो। त्यतिबेला समेत विमानस्थल भन्सारको प्रमुख रहेका पोखरेलसँग सोधपुछ भएको हो। 

यस्तै उनीमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गरिसकेको छ। 

‘हामीले यो विषयमा विमानस्थल भन्सारका तत्कालीन प्रमुखसँग पनि सोधपुछ गरिसकेका छौँ। उहाँ पहिले पनि आउनु भएको थियो। फेरि बोलाएर हामीलाई सोधपुछ गरेर पठाइदियौँ’, सीआईबी स्रोतले नेपालखबरसँग भन्यो। 

सुन तस्करी प्रकरणमा जोडिएका भन्सारका कर्मचारीसँगै अन्यलाई पनि सीआईबीले बोलाएर सोधपुछ गरिरहेको छ। 

हङकङबाट कार्गोमा सुन ल्याउने विमानका कर्मचारीलाई पनि सीआईबीले बोलाएर सोधपुछ गरेको छ। 

सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ चिनियाँसहित २७ जना पक्राउ परेका छन्। सोमबार मात्रै सीआईबीले रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको थियो। 

हङकङ र भारतमा पुगेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ। हङकङबाट ब्रेकप्याडमा ल्याएको करिव ६० किलो सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो। सुन बरामद गरेसँगै यसमा संलग्न केही व्यक्ति तत्काल पक्राउ परेका थिए। 

तर १८ दिन अनुसन्धान गरेर यो मुद्दा राजश्व अनुसन्धान विभागले प्रहरीलाई बुझाएको थियो। राजश्वले पक्राउ गरेका १७ जनालाई पनि सीआईबीको जिम्मा लगाएको थियो। 

सीआईबीले पछि ६ चिनियाँसहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ।

सीआईबीले यो मुद्दा अब यही महिनाभित्रमा सरकारी वकिल कार्यालयमा बुझाउनु पर्छ। संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ।

६० दिनभित्रमा अदालतमा मुद्दा बुझाउनु पर्ने बाध्यताका कारण सीआईबीले त्यसअघि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन पर्छ। 

प्रतिवेदन बुझाउने अवधि नजिकिँदै जाँदा सीआईबीले यसमा जोडिएका व्यक्तिहरुको पनि कागजा गराईरहेको सीआईबी स्रोतले जनाएको छ। 

बरामद भएको ६० किलो सुन प्रकरणमा अहिलेसम्म मुख्य योजनाकारका रुपमा चिनियाँ मात्रै पक्राउ परेका छन्। 

अनुसन्धान जारी रहे पनि अन्य व्यक्तिको संलग्नता पुष्टि भइनसकेको सीआईबीले जनाएको छ। 

पक्राउ परेका चिनियाँमध्ये तीनजनाले यसअघि भारतमा पनि सुन तस्करीमा पक्राउ परेर कारबाही भुक्तान गरेको खुलेको छ। 

त्यसपछि उनीहरु नेपालमा आएर तस्करी गर्न थालेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .