समाज


चितुवाले झम्टिएर भीरमा लडिन्, होहल्लापछि पञ्जाबाट फुत्किइन्

चितुवाले झम्टिएर भीरमा लडिन्, होहल्लापछि पञ्जाबाट फुत्किइन्

गोकुल जोशी
भदौ २१, २०८० बिहिबार १६:४०, कञ्चनपुर

बैतडीको पञ्चेश्वर गाउँपालिका- ३ बजरेडीकी १७ वर्षीया पूजा सुनार घाँसदाउरा गर्न गइरहन्छिन्।

घर नजिकै रहेको तालीगाडाको जंगल घाँसदाउरा गर्ने ठाउँ हो। दिनहुँ उनीसँग गाउँका अन्य छिमेकी पनि घाँसदाउरा जान्छन्।

बिहीबार बिहान १० बजेतिर खाना खाएर छिमेकीसँगै घाँस ल्याउन तालीगाडातर्फ गएकी थिइन्, पूजा। उनी बिहीबार दिउँसो घाँस काट्दै गर्दा चितुवाको आक्रमणमा परिन्।

‘घाँस काट्ने बेला एक्कासी चितुवा आएर घाँटीमा झम्टियो, चितुवासँगै छोरी नजिकै भीरमा लडिन्,’ पूजाका काका दिलीपले भने, ‘सँगै रहेका अरुले देखेपछि होहल्ला गरे, त्यसपछि चितुवा पूजालाई छोडेर गयो।’

चितुवाको पञ्जाबाट फुत्किएकी पूजा गम्भीर घाइते छन्। उनको घाँटी र हातमा चोट लागेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको काका नाता पर्ने दिलीपले बताए।

चितुवाको आक्रमणपछि स्थानीयले पूजालाई उद्धार गरेर उपचारका लागि मेलौली अस्पताल पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि अहिले उनलाई डडेल्धुरा अस्पताल ल्याइँदैछ।

बेलाबेला देखिने चितुवाको बजरेडी गाउँमा त्रास छ। कतिबेला के हुन्छ? भनेर घाँसदाउरा तथा घर बाहिर निस्किन डराउँछन्, स्थानीय।

‘चितुवा यसअघि पनि बेला बेला देखिन्थ्यो, तर अहिलेसम्म कसैमाथि आक्रमण गरेको थिएन,’ स्थानीय सुरज सुनारले भने, ‘यो आक्रमणको पहिलो घटना हो, घटनापछि स्थानीय घरबाहिर निस्किन डराएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .