ad ad

समाज


बेइजिङबाट विश्वमाझ नेपाल चिनाइरहेको सेतो गुम्बा

बेइजिङबाट विश्वमाझ नेपाल चिनाइरहेको सेतो गुम्बा

प्रसिद्ध नेपाली कलाकार अरनिकोले ७ सय वर्षअघि बेइजिङमा निर्माण गरेको सेतो गुम्बा (तस्बिरः सीताराम बराल)


सीताराम बराल
कात्तिक ४, २०८० शनिबार ७:५७, बेइजिङ

चीनको राजधानी बेइजिङको उत्तरपश्चिमतर्फ एउटा विशाल गुम्बा छ। चिनियाँहरु यो गुम्बालाई मिआओ यिङ सी बाइ त नामले चिन्दछन्। 

अन्य दिनझैँ बुधबार (१ कार्तिक) पनि यहाँ उल्लेख्य संख्यामा चिनियाँ र विदेशी पर्यटकहरु घुम्न, प्रार्थना गर्न एवं अवलोकनका लागि पुगेका थिए। 

यो धार्मिक एवं पर्यटकीय स्थलको नेपालसँग गाढा साइनो छ। किनकि यो स्मारक खासमा गुम्बा हो, जुन प्रसिद्ध नेपाली कलाकार अरनिकोले ७ सय वर्षअघि निर्माण गरेका थिए।

चिनियाँ नाम यिङ सी बाइ त भए पनि सम्पूर्ण विश्वले चिन्ने यसको नाम ह्वाइट प्यागोडा (सेतो गुम्बा) हो।

खासमा चीनको राजधानी बेइजिङ गगनचुम्बी भवनहरुले भरिएको आधुनिक सहर हो। यहाँ विश्वका सबैभन्दा अग्लामध्येमा पर्ने भवनहरु छन्। पचास वर्षयता बेइजिङले यो आधुनिक स्वरुप ग्रहण गर्नुअघि यहाँका भवनहरु निकै होचा थिए।

त्यो बेला अरनिकोले निर्माण गरेको यो सेतो गुम्बा बेइजिङका अग्ला स्मारकहरुको सूचीमा अगाडि थियो।

त्यसो त अहिलेपनि फुछंगमन इलाकाका अग्ला स्मारकहरुसँगको प्रतिस्पर्धामा सेतो गुम्बाको उचाइ कम लाग्दैन। ६० मिटरभन्दा अग्लो सेतो गुम्बालाई वरिपरि सबै ठाउँबाट सहजै देख्न सकिन्छ। 

१६ वर्षको छँदा अरनिको सुरुमा तिब्बतमा गुम्बाहरुको निर्माणका लागि लगिएका थिए। अरनिकोले त्यहाँ यति धेरै प्रख्याति कमाए कि, त्यही कारण त्यस्तै गुम्बाहरुको निर्माणका लागि उनलाई चीनका तत्कालीन बादशाह कुब्ला खाँले बेइजिङ निम्त्याए। 

सेतो गुम्बा परिसरभित्र अरनिकोको प्रतिमासँगै राखिएको शिलालेखमा उल्लेख भए अनुसार बेइजिङ बसाइका क्रममा अरनिकोले सेतो गुम्बाजस्तै तीन वटा विशाल चैत्य, नौवटा बौद्ध बिहार र अनगिन्ती मूर्ति निर्माण गरे। चित्रहरु पनि बनाए। त्यसमध्ये अहिलेसम्म अस्तित्वमा रहेको यही सेतो गुम्बा हो।

अरनिकोको प्रतिभा र क्षमताबाट बादशाह कुब्ला खाँ यतिधेरै प्रभावित भए कि, उनलाई चीनको कला र संस्कृति क्षेत्र हेर्ने विभागको नेतृत्व नै दिइयो। 

आफ्नो पुस्तक कलाकार अरनिको मा स्व. सत्यमोहन जोशीले उल्लेख गरे अनुसार बादशाहबाट उनले प्राप्त गरेको यो जिम्मेवारी मन्त्रीसरहको पद थियो। त्यो बेला उनको बसोबास कुब्ला खाँको दरबारभित्रै गरिएको थियो। 

चिनियाँ सांस्कृतिक क्रान्तिको दौरान लाल सेनाले यहाँका दर्जनौँ प्राचीन सम्पदाहरु ध्वस्त बनाए। तर, तत्कालीन प्रधानमन्त्री चाउ एनलाइको नेपाल र नेपालीप्रतिको लगाव र स्नेहका कारण अरनिको निर्मित सेतो गुम्बा सुरक्षित रहन सक्यो। 

भनिन्छ, उद्दण्ड लालसेनाहरुको आक्रमणमा यति महत्वपूर्ण कलाकृति नपरोस् भनेर यसको ढोका सांस्कृतिक क्रान्तिकालभर बन्द गरिएको थियो।

स्मरणीय छ, चाउ एनलाइले विसं २०१३ र २०१७ मा गरी नेपालको दुई पटक भ्रमण गरेका थिए। 

यसरी त्यो कठिन स्थितिमा पनि सुरक्षित रहन सकेको सेतो गुम्बा अहिले दैनिक हजारौँ चिनियाँ एवं विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनिरहेको छ।

खुसीको कुरा के छ भने सेतो गुम्बा परिसरमा चीन सरकारले एउटा संग्रहालय पनि निर्माण गरिदिएको छ। त्यहाँ प्रदर्शनीमा राखिएका तस्वीर र श्रव्यदृश्य सामग्रीहरुबाट विदेशीहरुले अरनिको, उनीमार्फत् विकसित भएको नेपाल–चीन सांस्कृतिक सम्बन्ध आदिबारे जानकारी प्राप्त गर्न सक्छन्।

यस हिसाबले अरनिको र उनी निर्मित सेतो गुम्बाले बेइजिङबाट नेपाललाई विश्वभर चिनाइरहेका छन्। 

वरिपरिका अन्य स्मारकहरुको तुलनामा सेतो गुम्बा अग्लो र भव्य छ। यसको उचाइ र भव्यताले हामी नेपालीको मनलाई पनि उचो बनाइदिँदो रहेछ।

मेहनत गर्ने हो भने हामी पनि विश्वका अन्य मुलुकका नागरिकभन्दा सीप र क्षमताका कम रहेनछौँ भन्ने आत्मविश्वास जगाइदिँदो रहेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .