ad ad

समाज


भरतपुर अस्पतालमा दसैँको टीकाको दिन २० शिशुको जन्म

भरतपुर अस्पतालमा दसैँको टीकाको दिन २० शिशुको जन्म

नारायण अधिकारी/रासस
कात्तिक १०, २०८० शुक्रबार १०:२२, चितवन

बडादसैँको दिन (कात्तिक ७ गते) चितवनको भरतपुर अस्पतालमा २० शिशुको जन्म भएको छ। सबैतिर दसैँको टीका चलिरहँदा भरतपुर अस्पतालमा भने एकैदिन २० शिशुको जन्म भएको हो। 

एकैदिन २० महिला प्रसूति भएपछि दसैँको टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी सुत्केरी आमा र शिशुको उपचार र रेखदेखमा खटिएका थिए। 
 
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा.सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए। 
    

टीकाका दिन छ जना महिलाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने  अन्य १४ जनाले साधारण प्रसूतिबाटै शिशुलाई जन्म दिएका हुन्। 

भरतपुर अस्पतालमा नवमीका दिन पनि २० महिलाले शिशुलाई जन्म दिएका थिए। जसमध्ये आठ जनाको शल्यक्रिया गरिएको थियो। त्यसैगरी अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो। तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले जानकारी दिए।
 

प्रसूति विभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाइकर्मीलगायत कर्मचारी चाडपर्व पनि नभनी निरन्तर काममा खटिएका थिए। 

काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहपछि सबैभन्दा धेरै महिलालाई भरतपुर अस्पतालले नै प्रसूति सेवा प्रदान गर्दै आएको छ। गत आर्थिक वर्ष भरतपुर अस्पतालमा १२ हजार सात सय शिशुको जन्म भएको थियो। 

चितवनसहित छिमेकी जिल्लाबाटसमेत भरतपुर अस्पतालमा प्रसूति सेवाका लागि महिलाहरु पुग्ने गरेका छन्। चितवनका अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पन्न व्यक्तिले समेत प्रसूति सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको प्रमुख पोख्रेलको भनाई छ। 

यो विभागमा १२ विशेषज्ञ चिकित्सक, २५ नर्सिङ स्टाफसहितको अनुभवी समूह परिचालित रहेकामा ३० वर्षभन्दा लामो समयदेखि प्रसूति गराउँदै आएका अनुभवी नर्सिङ स्टाफसमेत रहेका छन्। यस अस्पतालमा अन्य समयमा दैनिक ५० हाराहारी शिशु जन्मने गर्दछन्। तीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुँदै आएको छ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ। जहा चौबिसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ। 

मेडिकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालले नियमित प्रसूति सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप बढी भएको हो।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेक अन्य सेवासमेत दसैँमा नियमित गरिएको बताए। अस्पतालमा छ घण्टा डायलासिस सेवा रोकिए पनि अन्य सेवा भने सञ्चालन भइरहेका थिए। 

सुपरिटेन्डेन्ट प्राडा पौडेललका अनुसार अस्पतालमा कार्यरत एक हजार ४५ चिकित्सक कर्मचारीमध्ये आधाले दसैँमा काम गरेका र तीमध्ये सबैभन्दा बढी नर्सिङ स्टाफ रहेका थिए।

अस्पतालमा कार्यरत चार सय नर्समध्ये तीन सयले दसैँको बेलामा समेत काम गरेका छन्। त्यस्तै सरसफाइ र सुरक्षाकर्मी एक सय ९५ मध्ये एक सय ३८ तथा दुई सय चिकित्सकमध्ये एक सयले काम गरेका थिए। 

दसैँको समयमा बहिरङ्ग सेवा सञ्चालन नहुँदा अस्पताल आएका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए । अस्पतालका बीमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार स्वास्थ्य बीमामार्फत् आकस्मिक सेवा लिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रहेको छ। उनले भने, ‘दसैँको टीकाको दिन पनि हामीले बीमामार्फत् आकस्मिक र अन्य सेवा सहजै उपलब्ध गरायौँ।’

यो सङ्घीय अस्पताल हो । यहाँ छ सय शय्या सञ्चालनमा छन्। सङ्घीय अस्पताल भए पनि एक सय ५० शय्या बराबरको जनशक्ति सरकारले उपलब्ध गराएको छ भने अन्य जनशक्ति अस्पताल विकास समितिले व्यवस्थापन गर्दै आएको छ। 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार राजधानी बाहिरबाट पनि बहिरङ्ग सेवामा सबैभन्दा धेरै बिरामी भरतपुरमा उपचारका लागि आउने गर्दछन् । धेरै बिरामी आउँदा दैनिक झण्डै तीन हजार हाराहारी बिरामी पुग्ने गरेको छ।

भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम र विशिष्टीकृत सेवाका कारण बिरामीको चाप बढ्दै गएको छ । गत आवमा तीन लाख सात हजार एक सय २१ जनाले बहिरङ्ग सेवा लिएका थिए। तीमध्ये ३१ हजार एक सय ३७ जना भर्ना भएर उपचार गराएका थिए। 

अस्पतालको शय्या ‘अकुपेन्सी’ ८१ प्रतिशत रहेको छ । बीमा कार्यक्रममा यो अस्पताल देशकै उत्कृष्ट रहेको छ । गत वर्ष कूल बहिरङ्ग सेवामा आएका तीन लाख सात हजार एक सय २१ मध्ये दुई लाख २१ हजार तीन सय ३१ जना स्वास्थ्य बीमा गरेका बिरामी थिए। 

अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिरामी स्वास्थ्य बीमा गरेका हुने गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .