रुपन्देही सदरमुकाम भैरहवामा बोराले च्याप्दा चार जनाको मृत्यु भएको छ। मृत्यु हुने एकै परिवारका सदस्य हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहार, बलिया जिल्ला, तपनी गाउँका ३० वर्षका सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षकी सद्धाव खातुन, ६ वर्षका छोरा सुल्तान रजा र दुई वर्षकी छोरी सहिना खातुन छन्।
बुधबार राति सुतेको अवस्थामा बोराको खात ढलेरले च्याप्दा निस्सासिएर चारै जनाको मृत्यु भएको हुनसक्ने प्रहरी निरीक्षक केशव ज्ञवालीले जनाए। मृतक परिवारले बोरा संकलन गर्ने र आफूहरु बस्ने कोठामा बोराको खात बनाएर राखी बिक्री गर्दै आएको जनाइएको छ।
कोठाको तीनतिर भित्तातर्फ बोरा खात लगाएर राखेर उनीहरु बीचमा सुत्ने गरेको र सोही बोराले उनीहरुलाई च्याप्दा निस्सासिएको हुनसक्ने प्रहरी अनुमान छ। मृतक चारै जनाको भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम्का लागि ल्याइएको छ।
प्रतिक्रिया