ad ad

समाज


१४ किलो सुन लिएर आएका घले १० महिनामै ५ पटक दुबई पुगेका थिए

१४ किलो सुन लिएर आएका घले १० महिनामै ५ पटक दुबई पुगेका थिए

उजिर कार्की
मंसिर २२, २०८० शुक्रबार १३:३५, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित पक्राउ परेका व्यक्ति बिगत एक वर्षमा ५ पटक युएई ओहोर–दोहोर गरेको पाइएको छ।

विमानस्थलस्थित अध्यागमन कार्यालय र विमानस्थल सुरक्षा प्रहरी कार्यालयले बिहीबार राति गोरखाको बारपाकका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको छ।

उनको साथबाट अन्दाजी १४ किलो सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले जानकारी दिए।

पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ। उनी यो वर्ष सन् २०२ ३ मा मात्रै ५ पटक दुबई ओहोर-दोहोर गरेको पाइएको छ।

उनी नेपालबाट दुबई पुगेको तीन दिनमै फर्किएका छन्। पछिल्लो एक वर्षयताको रेकर्ड अनुसार उनी पहिलो पटक गत माघमा दुबई पुगेको तथ्य फेला परेको छ।

२०७९ माघ २४ गते (फेब्रुअरी ७) दुबई गएका घले त्यसको तीन दिनमै नेपाल फर्किएका थिए। उनी माघ २७ गते (फेब्रुअरी १०) मा काठमाडौं फर्किएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

त्यसको तीन महिनापछि फेरि उनी दुबई पुगेका थिए। २०८० वैशाख २७ गते गएका उनी वैशाख ३० गते फर्किएका थिए। यसपटक पनि उनी तीन दिनमै फर्किएको रेकर्ड भेटिएको छ।

यस्तै २०८० भदौ १७ गते तेस्रो पटक यूएई गएका घले दुई दिनपछि अर्थात् १९ गते काठमाडौं फर्किएको प्रमाण भेटिएको छ। भदौमा दुबई पुगेर दुई दिनमै फर्किएका घले अर्को महिना पनि पुगेका थिए।

फेरि उनी असोज २८ गते दुबई गएर कात्तिक १ गते फर्किएको भेटिएको छ। पाँचौँ पटक उनी मंसिर १८ गते दुबई गएका थिए। दुबईबाट चार तीन दिनमै फर्किएका घले बिहीबार राति १४ किलो सुन लिएर काठमाडौं ओर्लिँदा पक्राउ परे।

बिहीबार राति ११ः ४० बजे फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट उनी काठमाडौं आएका थिए। सुन लिएर आउँदै गरेको पूर्वसूचनाका आधारमा विमानस्थल भन्सार कर्यालयका प्रमुख र प्रहरी प्रमुखसहितको टोलीले उनलाई भन्सार जाँचका क्रममा पक्राउ गरेको हो।

उनले ७ वटा बिस्कुट आकारमा ७ थान सुन ल्याएका थिए। तत्काल जोख्दा १४ किलो भएको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए।

पक्राउ परेका घलेले आफू सुन ल्याउने व्यक्ति मात्रै भएको बताएका छन्। उक्त परिमाणको सुन अर्कै व्यक्तिको भएको घलेले बताएका छन्।

उनले दिएको सूचनाका आधारमा उक्त सुन ल्याउन लगाउने व्यक्ति गोरखाकै मीनबहादुर घलेलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको छ।

सम्बन्धित समाचार

बरामद सुन परीक्षणका लागि भन्सार विभागमा लगिएको छ। यस्तै भन्सार कार्यालयले यसको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ।

पाँच दिनको कार्यादेश पाएको छानबिन समितिमा विमानस्थलका एक जना प्रहरी अधिकारी पनि छन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतप्रकाश निरौला, डिल्लु प्रसाद शर्मा, शाखा अधिकृतमञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छानबिन समितिमा छन्।

एक वर्षमै पाँचौँ पटक दुबई-काठमाडौं रुटमा यात्रा गरेका घलेले यसअघि पनि सुन भित्र्याउन सफल भएको उनको यात्रा विवरणले देखाएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .