समाज


लक्ष्मी सुनारको जीवनकथा: पति दुर्घटनामा बिते, छोरा सोतीमा मारिए, भूकम्पले उठायो बास

लक्ष्मी सुनारको जीवनकथा: पति दुर्घटनामा बिते, छोरा सोतीमा मारिए, भूकम्पले उठायो बास

लक्ष्मीलाई डर छ, फेरि छोरालाई न्याय देऊ भनेर चिच्याउनु पर्ने हो कि! तस्बिर : सरोज बैजु


राधिका अधिकारी
पुस ४, २०८० बुधबार ८:४३, काठमाडौँ

उनका गोडा लुगलुग कामिरहेका थिए। बोलीमा कम्पन सुनिन्थ्यो। तर, यो डरलाई जितेर भीडलाई सम्बोधन गर्नु थियो। यही भीडमा माझमा उभिएर ‘धन्यवाद’ भन्न उनी जाजरकोटदेखि काठमाडौँ आएकी थिइन्।

यसअघि कहिल्यै पनि मान्छेहरुका माझमा उभिएर बोलेको सम्झना छैन उनलाई। अघिल्लो रात रात्री बस चढेर काठमाडौं आइपुगेकी लक्ष्मीको निधारमा पुसको चिसोमा पसिना चिटचिट आएका थिए। भन्थिन्, ‘नबोलेका मान्छेलाई बोल्नभन्दा ठूलो डर अर्को हुन्न रहेछ।’

लक्ष्मी सोती हत्याकाण्डमा मारिएका लोकेन्द्र सुनारकी आमा हुन्। छोरो मारिएको ३ वर्षपछि जिल्ला अदालत रुकुम पश्चिमले हत्यामा संलग्नलाई जन्मकैदको फैसला सुनायो। त्यसपछि छोराहरुको न्यायका लागि आवाज उठाउनेहरुप्रति कृतज्ञता जनाउन उनी भिनाजुको साथ लागेर काठमाडौं आएकी हुन्।

‘राजपरिवारको एक चिहान भयो। उनीहरुले न्याय पाएनन्। हाम्रा छोराहरुले कम्तीमा न्याय पाए। सबैले हाम्रो छोराको न्यायका लागि बोलिदिनु भयो,’ उनले आँखाभरि आँसु पार्दै भनिन्, ‘हामीजस्ता गरिबका छोराका लागि पनि राष्ट्रिय रुपमा न्यायको माग भयो। नाम कमाउँछु भन्थ्यो। उसको नाममा अरुले न्याय माग्नु पर्यो।’ 

बोल्दा–बोल्दै लक्ष्मी टाउको समातेर केहीबेर आँखा चिम्म गर्छिन्। भन्छिन्, ‘अस्तिको भूकम्पले टाउकोमा ७ टाँका मारेको छ। धेरै बोल्दा चर्किन छोडेको छैन।’

लोकेन्द्रको हत्या हुँदा लक्ष्मीका श्रीमानको मृत्यु भएको ३ वर्ष पुग्न लागेको थियो। २०७४ सालमा उनका श्रीमानको बस दुर्घटनामा मृत्यु भयो। बुवासँगै यात्रामा रहेकी ५ वर्षकी छोरी घाइते भइन्। लक्ष्मीले श्रीमान् बित्दा पनि शोक मनाउन पाइनन्। घाइते भएकी छोरी लिएर दौडिनु पर्यो। 

‘आमा भएपछि श्रीमानको मृत्युले भन्दा बच्चाको चोटले पोल्दो रहेछ। श्रीमान् त गुमाएँ, छोरी पनि गुमाउनु पर्छ कि भन्ने पीरले मुर्छा पर्थें। त्यतिबेला जेठो छोरो विदेश गएको थियो। मलाई सम्झाउने त्यही लोकेन्द्र त थियो,’ लक्ष्मीले सुनाइन्। 

लोकेन्द्रका बुवाले मजदुरी गरेर छोरो पढाइरहेका थिए। घरमा बिहान खाए साँझ कसरी छाक टार्ने भन्ने समस्या हुन्थ्यो। गरिबीसँग जुधिरहेको आफ्नो परिवारको अवस्था सुधार्न भन्दै उनका जेठा छोरा परदेश लागे। त्यही वर्ष लक्ष्मीका श्रीमानको मृत्यु भयो। दुर्घटनामा घाइते भएकी छोरी राम्रोसँग खुट्टा टेक्ने भएकै थिइनन्, कान्छा छोरा मारिए। 

लक्ष्मीका ३ सन्तान। २ छोरा १ छोरी। उनलाई लाग्थ्यो, ‘दुःख भए पनि परिवार पूर्ण छ।’ तर, सुरुमै परिवारको मूल खाँबो ढल्यो। लक्ष्मीका श्रीमानको मृत्युपछि कलेज पढ्ने भनिरहेका कान्छा छोरा लोकेन्द्रको सपनाको धागो चुँडियो। घर छोडेर नेपालगञ्ज हानिए। कालिगढको काम सिके। नेपालगञ्जमै काम गरिरहेका थिए। 

लोकेन्द्र भन्थे, ‘आमा धेरै पीर गर्नुहुन्छ, अब नगर्नू। म कालिगढ भएरै हजुरलाई सुखले पाल्छु।’ 

हिजोआज लक्ष्मीको कानमा त्यही वाक्य ठोकिन्छ र मुटुमा गाँठो पर्छ। २०७७ साल, जेठ ८ गते लक्ष्मीले छोरालाई घर बोलाइन्। काम गरिरहेका लोकेन्द्र त्यो दिन घर आउन चाँहदैनथे। लक्ष्मीले जिद्दी गरेपछि उनी ९ गते बिहान घर आए। 

भोलिपल्ट बिहानै लक्ष्मी गाउँमा आफन्त मरेको ठाउँमा माना–चामल पु¥याउन हिँडिन। लोकेन्द्र ठूलीआमाको छोरा (नवराज विक)को साथमा चौरजहारी लागेछन्। त्यही राति नवराजको लास सोती किनारमा भेटियो। नवराज लक्ष्मीका दिदीका छोरा हुन्।

‘दिदीको एउटा भएको छोरो पनि मारिदिए, अब मेरा दिदीभिनाजु कसरी बाँच्लान् भनेर रातभरि रोएँ। मैले आफ्नो छोरो घरबाट हिँडेको त बिर्सिहालेछु,’ लक्ष्मी ३ वर्षअघिको त्यो रात सम्झना गर्छिन्। 

लोकेन्द्रको लास ३ दिनसम्म भेटिएन। लक्ष्मीलाई आश लागिरह्यो छोरो भागेर कतै गएको छ, फर्किएर आउँछ। छोराको मृत शरीर भेटिँदा चिनिने अवस्थाको थिएन। दाइको शव देखेपछि लक्ष्मीकी छोरी मुर्छा परिन। भर्खर तंग्रिन लागेकी छोरीलाई केही होला भन्ने त्रासमा उनले छोराको मृत्युमा पनि धक फुकाएर रुन पाइनन्। 

त्यही वर्ष मंसिरमा छोराहरुको सम्झनामा काठमाडौंमा दीप प्रज्वलन कार्यक्रम राखियो। लक्ष्मी काठमाडौं आइन्। माइती नेपालकी अनुराधा कोइरालाले भेट्न बोलाइन्। अनुराधाले ‘सोती हत्याकाण्ड’मा मारिएका कसैका बच्चा भए आफूले पढाइदिने प्रस्ताव राखिन्। लक्ष्मीले आफ्नो दुःख सुनाइन्। बुवा र दाजु दुवै गुमाएकी ६ वर्षे छोरीलाई पढाउने रहर बताइन्। अनुराधाले लक्ष्मीकी ६ वर्षे छोरीको पढाइको जिम्मा लिएर ल्याइन्। 

‘छोरी काठमाडौं आएपछि म एक्लै भएँ। कुनैदिन श्रीमान्, ३ छोराछोरी, मेरो घर भरिपूर्ण थियो। भकारी रित्तो थियो, तर आश जिउँदो थियो। १८ वर्षको लक्का जवान छोरो मारियो। कलिलैमा श्रीमानले छोडेर जानुभयो। गरिबीले काखकी छोरी पनि अर्काको जिम्मा लगाउनु पर्यो। म त खाली भएँ। अभावभन्दा धेरै त रित्तो काख दुख्दो रहेछ,’ अघिल्लो साता काठमाडौंमा भेटिएकी लक्ष्मीले बह पोखिन्।

जति धेरै एक्लोपनले खाए पनि लक्ष्मीलाई छोरी फर्काउने मन थिएन। 

‘कम्तीमा पढ्न पाई भने उसको जीवन त राम्रोसँग बाँच्ली भन्ने लाग्यो। साँवा अक्षर मात्रै चिनेको भए यतै आउँथे नाङ्लो पसल गरेर छोरी पढाउँथे। छोरा र श्रीमानको सम्झनाले चिथोर्ने त्यो ठाउँमा एक्लै किन बस्दी हुँ!’ उनी भन्छिन्।

बहिनी पनि माइती नेपाल पठाएपछि लक्ष्मीका जेठा छोरा गाउँ फर्किए। 

छोराहरुको न्यायको माग गर्दै अदालतमा हालेको मुद्दाको पेसी सरिरहन्थ्यो। लक्ष्मी छोराको मूर्ति स्थापना गरेर कामना गर्थिन्, ‘मेरो छोराको आत्माले शान्ति पाउनेगरी न्याय मिलोस्।’ श्रीमानको मृत्यु भयो। लक्ष्मीले छोरो हेरेर मन बुझाइन्। छोराको हत्या भयो, अर्को छोरो हेरेर मन बुझाउन सकिनन्। घरको भित्ताभरि छोराका ठूला–ठूला तस्बिर बनाएर टाँसिन्। त्यही तस्बिर पनि कार्तिक १७ गते रातिको भूकम्पमा पुरियो 

भूकम्पमा घाइते भएकी लक्ष्मीको घाउ राम्रोसँग निको हुनै पाएको छैन। उनलाई शरीरमा लागेको घाउभन्दा धेरै दुखाएको छ, छोराका हराएका तस्बिरले। ‘अब त त्यही सम्झना पनि मेटिए, तिर्सना लाग्दा के हेरेर मन बुझाउँला?’ भक्कानिएकी लक्ष्मी त्यसपछि निकैबेर मौन रहिन्। 

सोती किनारमा बस्दै आएकी लक्ष्मीलाई भूकम्पले मात्रै होइन, बेलाबेला पहिरोले पनि दुःख दिन्छ। अघिल्लो वर्षको पहिरोमा दुःखजिलो गरेर जोडेका बाख्रा पुरिए। लक्ष्मीलाई हिजोआज लाग्छ आफ्नो जिन्दगी सधैँ अप्ठ्यारोमा अल्झिरहेको छ। भन्छिन्, ‘मलाई दुःख पनि किस्ताकिस्तामा आइलाग्छ। श्रीमान् र सन्तान गुमाइसक्दा पनि दुःख सकिएको रहेनछ, अब त बासै उखेलियो। भूकम्पपछि पालमुनिको बास छ, थाहा छैन अझै कति रात त्यही पालमा बिताउनु पर्छ।’

भूकम्पले भग्नावशेष बनाएको घरमा छोराका सम्झना खोजिरहेकी लक्ष्मीका लागि गएको मंसिर १९ मा खुसीको खबर आयो। जिल्ला अदालत रुकुम पश्चिमले लक्ष्मीका छोराको हत्यामा संलग्न रहेका २४ जनालाई जन्मकैदको फैसला सुनायो। त्यसपछि काठमाडौं आएकी लक्ष्मीलाई अझै पनि पूर्ण न्याय पाएको प्रत्याभूति भएको छैन। 

भन्छिन्, ‘जिल्लाले त सजाय सुनायो। अब पीडक परिवार उच्चमा आउने तयारीमा छन् भन्छन्। फेरि हत्या केसमै जन्मकैद पाएकाहरुले आम माफी पाएका समाचार पनि सुनेकी छु। मलाई डर लाग्छ कतै फेरि मेरो छोरालाई न्याय देऊ भनेर चिच्याउनु पर्ने त होइन!’

लाग्न त लक्ष्मीलाई छोराको न्यायको खबर सुन्नकै लागि भूकम्पमा आफू बाँचेको जस्तो लाग्छ। उनलाई त्रास थियो न्याय पाइँदैन भन्ने। 

‘किनभने उनीहरू राजनीतिक पहुँचवाला थिए। तर, नेपालमा अझै न्याय मरेको रहेनछ। यो फैसलाप्रति सन्तुष्ट छौँ। उच्चमा जिल्लाको फैसला उल्टिन्छ कि भन्ने डर छ। सन्तान गुमाएकी आमाको छातीबाट सन्तापको आगो निभ्दैन रहेछ,’ लक्ष्मीले निराश हुँदै भनिन्, ‘फेरि मेरो छोरालाई न्याय देऊ भन्ने दिन आउनुभन्दा अगावै मर्न पाइयोस्। निर्दोष छोरो गुमाएकी आमाले आफूलाई कसरी सम्हालेकी हुन्छे त्यो मलाई थाहा छ। कम्तीमा न्याय पाइयो भनेर उभिने प्रयत्न गरिरहेकी आमालाई फेरि छोराले अनाहकमा ज्यान गुमाउँदा पनि न्याय पाएन भन्ने दिन आयो भने कसरी उभिनु!’

उमेरभरि उनका जेठा छोराले परदेशमा पसिना बगाए। लक्ष्मीका जिन्दगीका थोरै दिन हातमुख जोर्न सहज भएको थियो। बुवा र भाइको मृत्युपछि उनी पनि परदेश बस्न सकेनन्। आमा सम्झिएर घर फर्किए। भएको झुपडी पनि भूकम्पले भग्नावशेषमा परिणत गर्यो। लक्ष्मीका आमा–छोरासँग पुनः छानो हाल्ने पैसा छैन। 

छोरा रुँदै उनलाई भन्छन्, ‘म त कती अभागी रहेछु नि आमा, घरभरि बुवा, भाइबहिनी छोडेर गएको, म आउँदा रित्तो घर थियो। त्यही पनि भत्कियो। तिमीलाई एकसरो कपडा किनिदिन सकिनँ। अर्काले दिएका जडौरीमा हिँडेकी छौँ। म बाँच्नुको के सार!’ 

लक्ष्मीको मन आत्तिन्छ। तर, उनीसँग छोरालाई हिम्मत दिने पनि केही छैन। उनलाई छोराको आँसुको कारण पनि आफैँ हुँ भन्ने लाग्छ। 

‘जन्माएर पढाउन नसक्ने हाम्रो गरिबीले उसलाई दुःख थियो। उमेरमा पनि परदेश हिँड्न नपरेको भए प्रहरीतिर भर्ती हुँदो हो। अब त उमेर पनि सकियो। कसैले पिउनको जागिर दिए पनि मेरो छोराले आफ्नो जीवन गुजारा त गर्दो हो,’ हिक्का छाड्दै लक्ष्मीले सुनाइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .