ad ad

समाज


रुसी सेनामा पठाउने हरिबहादुर : पहिलो खेपका फर्किंदा काठमाडौँको जग्गा गयो, दोस्रोमा थुनामै पुगे

रुसी सेनामा पठाउने हरिबहादुर : पहिलो खेपका फर्किंदा काठमाडौँको जग्गा गयो, दोस्रोमा थुनामै पुगे

उजिर कार्की
पुस ४, २०८० बुधबार २२:१५, काठमाडौँ

५ वर्ष नेपाली सेनामा जागिर खाएका उदयपुरका हरिबहादुर विश्वकर्मा यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। नेपालीलाई रुसी सेनामा पठाएर ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

पहिलो पटक ११ जनालाई रुसी सेनामा पठाउने हुँदा काठमाडौंको १० आना जग्गा गुमाएका हरिबहादुरले दोस्रो पटक ११ जनालाई रुस त पठाए तर उनीहरूमध्ये ५ जना फर्किएपछि उनलाई नै हिरासत पुर्‍याएका हुन्। 

उदयपुरको कटारी नगरपालिका ६ घर भएका ४३ वर्षीय हरिबहादुर २०५८ सालको फागुनमा नेपाली सेनामा भर्ती भएका थिए। तर सेनामा पेन्सन नपाक्दै उनले २०६३ सालमा जागिर छाडे। 

सेनाको जागिर छाडेका हरिबहादुर अफगानिस्तान गए। अफगानिस्ताको सेक्युरिटी गार्डमा जागिर खान पुगेका उनले सोचेजस्तो त्यहाँ पनि भएन। एक वर्षमै अफगानिस्तानबाट नेपाल फर्किए। 

२०६४ सालमा नेपाल फर्किएपछि उनी घरायसी काममै अलमलिइरहेका थिए। तर २०६७ सालमा दुबई गए। तीन वर्ष दुबईमा रोजगारी गरेर फर्किएका उनी बिदा मनाएर एक वर्षपछि फेरि दुबई नै पुगे। ८ वर्ष दुबईमा काम गरेर २०७६ फर्किएपछि उनको बाटो बदलियो। यसअघि रोजगारीमा जाने हरिबहादुरले २०७६ सालमा फर्किएपछि भने सिनामंगलको शिखर म्यानपावर कम्पनीमा काम गर्न थाले।

उनी अल्फा सिरामाको पनि एजेन्ट बने। वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीको एजेन्ट बनेको एक वर्षमै उनले अरु तीन जना साथीसँग मिलेर २०७७ सालमा सुमेरा नेपाल भन्ने म्यानपावर कम्पनी काठमाडौंको बाँसबारीमा खोले। 

म्यानपावर कम्पनीमा काम गर्ने क्रममै उनको निरज पाण्डेसँग भेट भयो। निरजसँग चिनजानको माध्यम भने उनकै भाइ बने। नेपालीलाई रुसी सेनामा पठाउने गैरकानुनी काम गर्थे निरज। 

निरज मार्फत नै हरिबहादुरका भाइ लालबहादुर रुस गएका थिए। तर रुसी सेनामा भर्ती हुन पाएनन्। उनलाई रुसबाट फर्काइयो। भाइमार्फत निरजसँग चिनजान भएका हरिबहादुरले व्यवसायमा पनि साझेदारी गर्न थाले।

उनी निरजसँग काममा पनि जोडिए। २०८० सालको दसैँपछि हरिबहादुरले पनि रुसी सेनामा पठाउने काम सुरु गरे। उनले निरजमार्फत रुस पठाउन ११ नेपालीका राहदानी संकलन गरे। 

रननाथ भन्ने निरजलाई सुरुमा हरिबहादुरले ११ जनालाई रुसी सेनामा पठाउनका लागि ८७ लाख रुपैयाँ दिएका थिए। यो रकम उनले ११ जनाबाटै लिएको बयान प्रहरी समक्ष दिएका छन्। 

निरजले रुसी सेनामा पठाउने सेटिङ मिलाउँथे। उनकै सल्लाह अनुसार सुरुमा चार जनालाई नेपालकै विमानस्थलबाट रुस पठाउने तयारी गरे। तर नक्कली कागजातका आधारमा विमानस्थलबाट रुस उड्न लागेका चार जनालाई अध्यागमन विभागले फिर्ता पठाइदियो। अध्यागमन विभागले ४ जनालाई फिर्ता गरिदिएपछि भने यो गिरोहले बाटो बदल्यो। उनीहरूले ११ जनालाई नै भारतको बाटो हुँदै रुस पुर्‍याउने योजना बनाए। यो सबै सेटिङ मिलाउने जिम्मा लिएका थिए निरजले। 

हरिबहादुर भने ११ जनालाई लिएर दिल्ली पुगे। तर उनीहरू दिल्ली पुगेपछि निरजले धोका दिए। उनी सम्पर्कविहीन भए। निरज सम्पर्कविहीन भएपछि हरिबहादुरले ११ जनालाई नै रुस पठाउन सकेनन्। उनीहरूलाई लिएर नेपाल फर्किए। 

तर रुस जान नपाएपछि हरिबहादुरलाई ११ जनाले रकम फिर्ता माग्न थाले। हरिबहादुरले काठमाडौंको बाँसबारीमा जग्गा किनेका थिए। त्यही १० आना जग्गा बेचेर ११ जनाको रकम फिर्ता दिएको हरिबहादुरले अनुसन्धान अधिकारी समक्ष बयान दिएका छन्। 

उनको बयान अनुसार रुसमा बस्ने अनुप र शोभराज भन्ने व्यक्तिले नेपालीलाई रुसी सेनामा भर्ना लगायतको काम गर्थे। हरिबहादुर राजु सुनार मार्फत उनीहरूको सम्पर्कमा पुगेका थिए। त्यसपछि हरिबहादुरले ११ जनाकै कागजात शोभराजलाई रुस पठाइदिए। शोभराजले नै आमन्त्रण कार्ड पठाएका थिए। सोही कार्डका आधारमा काठमाडौंस्थित रुसी दूतावासले एक महिनाको भिजिट भिसा लगाइदिएको थियो। 

शोभराजलाई भिसा, आमन्त्रण कार्ड, रुसमा उनीहरूलाई लगेर जागिर लगाइदिए बापत प्रतिव्यक्ति १८५० अमेरिकी डलर हरिबहादुरले बुझाएका थिए। प्रत्येक व्यक्तिबाट ७ लाख रुपैयाँका दरले उठाएर शोभराजलाई पठाएकोमा कमिसन बापत प्रतिव्यक्ति उनले १५० अमेरिकी डलर पाएका थिए। 

सेटिङ मिलाउने र हवाई टिकट मिलाउने काम पनि शोभराजले नै गरेका थिए। शोभराजले त्यसबापत प्रतिव्यक्ति २ लाख भारुमा मिलाएको हरिबहादुरले बयानका क्रममा भनेका छन्। 

सुरुमा पठाउन लागेका ११ जनालाई भारतबाट फर्काएर रकम फिर्ता गरे पनि यस पटक भने हरिबहादुरले ११ जनाकै अर्को समूहलाई रुस पठाउन सफल भएका थिए। तर रुस पुगेका ५ जना भने फर्किए। रुस पुगेका ५ जना फर्किएर प्रहरीमा उजुरी दिएपछि हरिबहादुरलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। 

रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भएपछि अनुसन्धान थालेको प्रहरीले यो गिरोहका १७ जनालाई पक्राउ गरिसकेको छ। रुसी सेनामा पठाएर आफन्तलाई बिचल्ली पारेको भन्दै १५ जनाले काठमाडौं परिसरमा उजुरी दिएका छन्। उजुरीमाथि अनुसन्धान भइरहेको र आरोपितहरूको खोजी भइरहेको एसपी ढुंगेलले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .