समाज


भूपू सेनासँग बिहे गरिदिने भनेर बोलाएकाले नै गरेका थिए अप्सराको हत्या

६ वर्षपछि एकजना जेलबाट, अर्का भारतबाट समातिए
भूपू सेनासँग बिहे गरिदिने भनेर बोलाएकाले नै गरेका थिए अप्सराको हत्या

हत्यामा संलग्न दुई अभियुक्त र ज्यान गुमाएकी अप्सरा (इन्सेटमा)


उजिर कार्की
पुस ६, २०८० शुक्रबार २१:४८, काठमाडौँ

मकवानपुरको हाँडीखोलाकी अप्सरा भन्ने नारायणी तिमल्सिनाको हत्या २०७४ पुस २९ गते हत्या भएको थियो। तर, उनका हत्यारासम्म पुग्न प्रहरीले ६ वर्ष मिहिनेत गर्नुपर्यो।

अप्सराको हत्यापछि भारत भागेकालाई प्रहरीले त्यहीँ पुगेर ल्यायो। अनि पत्ता लाग्यो, जसले बिहे गरिदिन्छु केटा हेर्न आऊ भनेर बोलाएका थिए, उनैले हत्या गरेर फालिदिएको रहस्य। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न दुवै आरोपीलाई सार्वजनिक गरेको छ। 

अप्सराको हत्या अभियोगमा प्रहरीले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–३ तल्लो पोखरीका ४६ वर्षीय शिवराम अधिकारी र अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई सार्वजनिक गरेको हो। 

भूपू सेनासँग बिहेको लोभ देखाएका थिए शिवरामले
२०७४ पुस ३० गते दिउँसो साढे ४ बजेतिर काठमाडौँको बल्खुस्थित भुवनेश्वरी मन्दिरपछाडि बोक्सी दह डाँडामा बेवारिसे अवस्थाको शव फेला पर्यो। करिब ५० वर्षकी देखिने महिलाको टाउको र अनुहारमा गहिरो चोट थियो। 

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले महिलाको हत्या भएको निष्कर्ष निकालेको थियो। अनुसन्धान गर्दै जाँदा शवको सनाखत पनि भयो। 

ती महिला मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोला घर भई काठमाडौँमा ज्यामी काम गर्दै आएकी अप्सरा भन्ने नारायणी तिमिल्सिना रहेको खुल्यो। त्यसबेला हत्यामा संलग्नको पहिचान गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन। 

तर, घटनाको ६ वर्षपछि दुवैजना पक्राउ परेसँगै घटना कारण पनि प्रहरीले पत्ता लगाएको छ। मृतक नारायणी र शिवराम अधिकारीबिच पुरानै चिनजान थियो। उनीहरु एकै ठाउँमा ज्यामी काम गर्थे। 

नारायणीका श्रीमानको मृत्यु भइसकेको थियो। नारायणीले दोस्रो विवाह गर्ने चाहनामा रहेको शिवरामलाई सुनाएकी थिइन्।

आफूजस्तै एकल पुरुष भेटे बिहे गर्ने भनेकी नारायणीलाई त्यस्तो केटो खोज्न सहयोग गर्ने बचन शिवरामले दिए। 

घटना भएको दिन (२०७४ पुस २९) शिवरामले उनलाई केटो भेटेको र उसले कुरा गर्न चाहेकाले आउन भने। भूपू सेनासँग विवाहका लागि कुरा भएको भन्दै उनले भेट्न बोलाएका थिए। फोनमै उनले भनेका थिए, ‘१५/२० हजार रुपैयाँ बोकेर, गरगहना लगाएर राम्री भएर आउनू।’ 

त्यसदिन माछापोखरीमा तीनजनाको भेट भयो।  त्यहीँको एक होटलमा २/३ घण्टा गफ गरे। त्यसपछि तीनैजना चक्रपथको गाडी चढेर बल्खुमा झरे। 

शिवरामले त्यसदिन बेलुकाको खाना सँगै खाने प्रस्ताव गरे। नारायणीले पनि स्वीकारिन्। ललितपुरको कुसुन्ती पुगेर बेलुकाको खाना खाए। 

खाना खाएर बल्खुको भुवनेश्वर मन्दिर पछाडि पुगे। शिवरामले भूपू सेना भनेका व्यक्ति थिए, जगत विक। उनी वास्तविक पूर्वसैनिक भने थिएनन्। 

उनलाई मन्दिरनजिकै बस्न लगाएर शिवराम र नारायणी पछाडितिर गएका थिए। उनीहरु गएको दुई घण्टापछि जगत त्यही ठाउँमा पुगे। जगत जाँदा दुवैजना सुतिरहेका थिए। त्यसपछि दुवै मिलेर नारायणीको टाउकोमा ढुंगाले हानी हत्या गरेको प्रहरीको निष्कर्ष छ। 

शिवराम र जगतले ढुंगाले टाउकोमा हानेर हत्या गरेपछि नारायणीले लगाएका सुनका मुन्द्रा र खल्तीमा भएको नगद ६/७ सय रुपैयाँ लगेका थिए।

नारायणीको साथको रकम लिएका उनीहरु गाडी चढेर गोंगबु बसपार्कको एक गेस्ट हाउसमा बसेका थिए। 

भोलिपल्ट बिहानै गाडी चढेर दुवैजना उदयपुरको कटारी पुगे। प्रहरीले भने पत्ता लगाउनै सकेको थिएन। घटनाको लामो समय हुँदा पनि अनुसन्धान जारी थियो। 

जेलभित्र भेटिए शिवराम, अनि खुल्यो रहस्य
सुरुमा मृतकको सनाखत हुन सकेको थिएन। तर, शरीर खानतलासी गर्दा किप्याड भएको सानो मोबाइल फेला परेको थियो।

मोबाइलमा आफन्तको नम्बर भेटियो। त्यसकै सहयोगमा प्रहरी उनका आफन्तसम्म पुगेर शवको सनाखत गरायो। 

मोबाइलले मृतकको सनाखतमा मात्रै सघाएन, हत्यारासम्म पुग्न प्रहरीले प्रमाण पनि त्यसबेलै फेला पारेको थियो। 

घटनाको दिन शिवरामको नारायणीसँग बारम्बार फोन सम्पर्क भएको तथ्य फेला परेको थियो। तर, शिवराम घटनापछि फरार थिए। 

घटनाअघि बारम्बार सम्पर्कमा रहेर लगत्तै फरार हुनुले शिवराम नै संलग्न रहेको प्रहरीले पत्ता लगाइसकेको थियो। 

प्रहरीले परिवारका सदस्यसँग शिवरामबारे बुझ्दा २०७४ पुस २९ गतेदेखि उनी घर नगएको पत्ता लाग्यो। परिवारका सदस्यले फोन सम्पर्क पनि नगरेको जानकारी गराएका थिए। त्यसपछि प्रहरीले शिवरामको खोजी गरिरहेको थियो।

घटनापछि उदयपुरको कटारीमा बसेका शिवराम प्रहरीले खोजिरहेको सुइँको पाएर सिराहाको मिर्चैया गए।

त्यसको केही दिनपछि मकवानपुर पुगे। मकवानपुरबाट उनी धादिङको सल्यानटार गएका थिए। प्रहरीले पिछा गरिरहे पनि उनलाई भेट्न सकेको थिएन। 

घटनापछि प्रहरीको निरन्तर खोजीका क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ पनि पुगेको थियो। तर, फेला पार्न सकेको थिएन।

प्रहरी निरन्तर सक्रिय थियो। पछिल्लो समय काठमाडौँको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पायो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली त्यस क्षेत्रमा पुगेर स्थानीयसँग सोधखोज गर्यो, शिवरामको फोटो पनि देखायो।

फोटो हेरेपछि स्थानीयले हाल ती व्यक्तिलाई नदेखेको बताए। तर उनका परिवार रहेको टहरा स्थानीयले देखाइदिए। 

प्रहरी त्यो टहरामा पुग्दा शिवराम थिएनन्। शिवरामकी श्रीमती नानीमाया अधिकारी भने भेटिइन्। त्यसपछि प्रहरीले नानीमायाको मोबाइल फोन चेक गर्यो। उनले केन्द्रीय कारागारमा बारम्बार फोन गरेको देखियो। 

त्यसपछि प्रहरीको अनुसन्धान कारागारतर्फ सोझियो। तर, कारागारको रेकर्डमा हेर्दा नानीमायाले फोन गर्ने व्यक्ति शिवराम नभएर अर्जुन अधिकारी रहेछन्।  

प्रहरीले खोजेको थियो शिवराम तर भेटिए अर्जुन। त्यसपछि फेरि प्रहरी आफन्ततिरै फर्कियो। अर्जुन अधिकारी भनिएका

व्यक्तिबारे प्रहरीले आफन्तसँग सोधखोज गर्यो। आफन्तले नै उनी थानकोटमा चोरी गर्दा पक्राउ परेको पुष्टि गरिदिए। 

केन्द्रीय कारागारमा प्रहरीले पत्राचार गरी उनकोबारे जानकारी माग गरेको थियो।

कारागारले २०७९ कात्तिक ६ गते चोरी गर्दागर्दै थानकोट प्रहरीले पक्राउ गरेको तथ्य दियो। यसका साथै २०७९ कात्तिक २९ गते नकवजनी चोरी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको बतायो। त्यही सजाय भुक्तान गर्न उनलाई केन्द्रीय कारागारमा राखिएको जानकारी आयो। 

त्यसपछि अर्जुन भनिएका व्यक्तिको फोटो प्रमाणित गर्न प्रहरी जनप्रतिनिधिदेखि परिवारसम्म पुग्यो। अन्ततः पुष्टि भयो, शिवरामले नाम फेरेर अर्जुन भनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेको। 

त्यसपछि प्रहरीले उनीमाथि थप अनुसन्धान सुरु गर्यो। अर्जुनले हत्यामा जगत विश्वकर्माको पनि संलग्नता रहेको खुलाइदिए।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली जगतको खोजीमा लागेको गियो। 

जगत भने भारतको गोवामा बस्दै आएका थिए। तर नेपाल प्रहरीको टोली भारतीय प्रहरीसँग समन्वय गरेर त्यहीँ पुग्यो। नारायणीको हत्याका दुवै आरोपीलाई बिहीबार कार्यालयले सार्वजनिक गरेको छ। 

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न अहिले कालिमाटी वृत्त पठाइएको एसएसपी सोमेन्द्र राठौरले बताए।

उनीहरुविरुद्ध मृतक अप्सराका आफन्तले गत साउन २४ गते जाहेरी दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .