समाज


यसै वर्ष बिहे गर्दै थिए एमबीबीएस विद्यार्थी जयशंकर, कांग्रेस-एमाले द्वन्द्वले बने गोलीको सिकार

यसै वर्ष बिहे गर्दै थिए एमबीबीएस विद्यार्थी जयशंकर, कांग्रेस-एमाले द्वन्द्वले बने गोलीको सिकार

जनार्दन पोखरेल
पुस २१, २०८० शनिबार १०:३४, काठमाडौँ

सर्लाहीको बरहथवा नगरपालिका- ६ का २७ वर्षीय जयशंकर साह आन्दोलन र ढुंगामुढाप्रति चासो राख्ने र त्यस्ता कार्यक्रममा सहभागी हुने मान्छे थिएनन्। 

खासमा उनी एमबीबीएसका विद्यार्थी थिए। बंगलादेशमा एमबीबीएस पढ्दै गरेका उनी दुई वर्षअघि बुवा बंगालीराम साहको मृत्युपछि व्यवसाय सम्हाल्न घर फर्किएका थिए। 

चाँडै विवाह गर्ने तयारीमा रहेका उनै पढेलेखेका वौद्धिक युवा बरहथवा नगर अस्पताललाई प्रदेश सरकार मातहत लैजाने कि नलैजाने भन्ने राजनीतिक द्वन्द्वको शिकार भएका छन्।

अस्पतालको आवरणमा मुख्य रुपमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको राजनीतिक द्वन्द्ले यतिबेला बरहथवामा हिंसा निम्तिएको छ। जसमा एक युवाले ज्यान गुमाएका छन् भने प्रहरीसहित १० जना घाइते भएका छन्।

शुक्रबार दिउँसो प्रहरीको गोली लागेर बरहथवाको सडकमा ढलेका जयशंकर साहको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै लडिरहेको छ। 

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले घटनाको छानविन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन दिएका छैनन्।

शुक्रबार साँझदेखि बरहथवा बजार क्षेत्रमा कर्फ्यु छ। स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मको लागि भनेर लगाएको कर्फ्यु भोलि (आइतबार) बिहान आठबजेसम्मको लागि थप गरेको छ।

बरहथवा- ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको प्रदेश अस्पतालको रुपमा विकास गर्नुपर्ने कांग्रेसको अडान र त्यो प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत लैजान नहुने, नगरअस्पतालकै रुपमा विकास गर्नुपर्ने एमालेबीचको जुँगाको लडाइँले बरहथवामा हिंसा निम्तिएको घटनाक्रमलाई नजिकबाट बुझेकाहरु बताउँछन्।  

‘उनी मेडिकलका विद्यार्थी हुन्। प्लसटुपछि एमबीबीएस पढ्न बंगलादेश गएका थिए। दुई वर्षअघि बुवा बितेपछि एमबीबीएसको पढाईलाई थाती राखेर यता आएका हुन्,’ जयशंकरका छिमेकीसमेत रहेका बहरथवा-६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले नेपालखबरसँग भने, ‘शुक्रबार दिउँसो बिजुलीको बिल तिर्न गएको बेला उसलाई प्रहरीले चलाएको गोली लाग्यो। उसको शव अहिले पनि घटनास्थलमै छ। उनले पार्किङ गरेको राखेको बुलेट बाइक अहिले पनि बिजुली अफिस अगाडि नै ठडिइराखेको छ।’

इलाका प्रहरी कार्यालय बरहथवा नजिकैको साह परिवारले सर्लाही होटल सञ्चालन गरेका छन्। बुवा बितेपछि एक्ला छोरा जयशंकरले नै त्यो होटल सम्हालेका थिए। बुवाले सञ्चालन गर्दै आएको ब्रोइलर कुखुरा (कुखुरा, चल्ला र दाना) को कारोबारलाई पनि उनले निरन्तरता दिएका थिए। 

‘बुवाको मृत्युपछि उनले एमबीबीएसको पढाई पूरा गर्न पाएनन्। युवा व्यवसायीको रुपमा आफूलाई स्थापित गर्दै थिए,’ वडाध्यक्ष आलमले भने, ‘यसैवर्ष उनको विवाह हुने कुरा थियो। छोराको विवाह गरेर बुहारी भित्र्याउने विधुवा आमा र चार दिदीबहिनीको सपना जयशंकरसँगै ढलेका छन्।’

घटनापछि शुक्रबार साँझ कांग्रेस र एमालेले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर बरहथवामा १ जनाको मृत्यु र १० जना घाइते हुनेगरी भएको घटनाको दोष एकअर्कालाई थोपरेका छन्। 

नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह र एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले जारी गरेको विज्ञप्तिमा घटना हुनुमा एकअर्कालाई दोष लगाइएको छ। र, आफूलाई चोखो देखाउने प्रयास गरिएको छ। 

हेर्नुहोस् कांग्रेस र एमालेका जिल्ला अध्यक्षको विज्ञप्ति

 

कांग्रेस-एमालेबीचको द्वन्द्व के हो?

बरहथवा- ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पतालको रुपमा विकास गर्नको लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गएको असोज ९ गते बसेको बरहथवा नगर कार्यापालिका बैठकले गरेको थियो।

बरहथवा नगरपालिकामा एमालेबाट निर्वाचित कल्पना कटुवाल मेयर र रामबाबु प्रसाद साह उमेयर छन्। नगर कार्यपालिकामा पनि एमालेकै बहुमत छ।

बरहथवा क्षेत्रबाट निर्वाचित कांग्रेसका प्रदेश सांसद वीरेन्द्र सिंह यतिबेला मधेश प्रदेश सरकारमा स्वास्थ्यमन्त्री छन्। उनै सिंहले आफू मन्त्री भएपछि बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको अस्पतालको रुपमा विकासा गर्न आफूले बजेट हाल्दिने प्रस्ताव मेयर कटुवालसँग गरे।

त्यसको लागि नगर कार्यपालिकाले निर्णय गर्नुपर्ने प्रस्ताव प्रदेशमन्त्री सिंहले गरेपछि मेयर कल्पनाले ९ असोजमा कार्यपालिका बैठक राखेर प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गराएकी थिइन्।

तर, आफूले तीन महिनाअघि गरेको निर्णयबाट उनी अहिले पछि सर्दा बरहथवामा हिंसा निम्तिएको कांग्रेसका नेताहरुको आरोप छ। 

‘गएको असोज ९ गते नगर कार्यपालिका बैठकले सर्वसम्मत रुपमा नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भनेर गरेको निर्णय उहाँ (मेयर कल्पना कटुवाल)ले यही पुस १७ गते कार्यपालिका बैठक राखेर बहुमतको बलमा उल्ट्याउनु भयो,’ कांग्रेसबाट निर्वाचित बरहथवाका- ६ वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले भने, ‘बरहथवा अस्पताल ५० सैयाको बन्दा त्यसको जस कांग्रेसलाई जान्छ भनेर उहाँ आफ्नो निर्णबाट ब्याक हुँदा यस्तो अवस्था सिर्जना भयो।’

एमालेका बरहथवा नगर कमिटी अध्यक्ष अमरेन्द्र सिंह भने पहिला नगर कार्यपालिकाले सोचबिचार नगरी गरेको निर्णय १७ गतेको कार्यपालिका बैठकले सच्याएको बताउँछन्। 

‘हामीले सम्बन्धित निकायमा बुझ्दा नगर कार्यपालिकाले आफू मातहतको अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्न मिल्दैन भन्ने कुरा आयो,’ सिंहले नेपालखबरसँग भने, ‘त्यसपछि १७ पुसमा बसेको कार्यपालिका बैठकले असोज ९ को निर्णयलाई स्थगित गरी त्यस विषयमा सर्वपक्षिय बैठकपछि मात्रै अर्को निर्णय गर्ने भनेको थियो। २० पुसमा मेयर साहेवकले सर्वदलिय बैठक बोलाउनु भएको थियो। तर, बैठक बस्नै नदिइ कांग्रेसको नेतृत्वमा छलफललाई प्रभावित गर्ने गतिविधि बरहथवामा भए। ’

कांग्रेससहितका राजनीतिक दलले मेयर कल्पना कटुवालको अपरिपक्व व्यहारको कारण बरहथवामा हिंसात्मक झडप भएको आरोप लगाएका छन्। यस विषयमा बुझ्न खोज्दा मेयर कटुवाल भने सम्पर्कमा आउन चाहिनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .