ad ad

समाज


२८ दिन हिरासतमा बसेर धरौटीमा छुटिन् शर्मिला वाइबा

२८ दिन हिरासतमा बसेर धरौटीमा छुटिन् शर्मिला वाइबा

नेपालखबर
चैत १२, २०८० सोमबार १९:१३, काठमाडौँ

अनेक विवादमा मुछिएकी शर्मिला वाइबा २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी छन्।

काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो।

त्यसपछि उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो। ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार
र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै हिरासतमुक्त भएकी हुन्। 

उनले हिरासतबाट निस्किने क्रममा प्रहरीको व्यवहार एकदम राम्रो रहेको बताइन्। 'प्रहरीले मलाई थुनुवा जस्तो व्यवहार गरेनन्, हरेक कुरामा ध्यान दिए', उनले भनिन्, 'मलाई प्रहरीले सक्ने जति सहयोग गरे। मलाई २८ दिनसम्म हिरासत बसेको महसुस भएन। मलाई घरमै बसे जस्तो लागेको छ।' 

आफूले हिरासतमा बस्दा महिला थुनुवालाई नउचालेको बताइन्। 'महिला कैदीलाई मैले उचालेको थिएन। मिडियाले जे पायो त्यही लेखिदिएछन्', उनले भनिन्, 'हिरासतबाट म हौसलासहित निस्किएको छु। न्यायाधीशले मलाई कारागार नै पठाउँछन् जस्तो लागेको थियो तर म छुटेकी छु।' 

उनले हिरासतमा राखिँदा खानामा गुनासो गरेको बताइन्। 'सरकारले ४५ रुपैयाँ दिँदो रहेछ। मैले डीएसपी अमरबहादुरलाई खानामा गुनासो गरेकी थिएँ', उनले भनिन्, 'तर सरकारले दिने नै त्यति रहेछ। म हिरासतमा बसेर बाघ बनेर आएकी छु, मेरो सामाजिक अभियान रोकिँदैन।'

गत फागुनमा सुम्निमाको पक्षमा उत्रिएकी शर्मिलासहितले आफूलाई कुटपिट गरेको भन्दै पवनले महाराजगञ्ज बृत्तमा उजुरी दिएका थिए।

त्यस्तै रितु नामकी अर्की युवतीलाई गर्भवती भएको अभिनय गर्न लगाएर शर्मिलाले पवनसँग रकमको मोलमोलाइ गरेको आरोप पनि लागेको थियो।

शर्मिलाले सीसीटीभी फुटेज दुरुपयोग गरेको घटनामा पनि प्रहरीले अनुसन्धान गरेको थियो। अनुसन्धानमा रहेको विषयमा सम्बन्धित अधिकारीले मात्रै सीसीटीभीफुटेज हेर्न पाइनेमा शर्मिलाले त्यसलाई सामाजिक सञ्जालमै सार्वजनिक गरिदिएपछि साइबर अपराधको मुद्दा चलाइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .