ad ad

समाज


राति चोर आयो भनेपछि छिमेकी भेला भए, बिहानै विष्णुकुमारी मृत फेला परिन्

हत्या र लुटपाट आरोपमा ५ जना पक्राउ
राति चोर आयो भनेपछि छिमेकी भेला भए, बिहानै विष्णुकुमारी मृत फेला परिन्

उजिर कार्की
जेठ १७, २०८१ बिहिबार १५:३४, काठमाडौँ

वैशाख २५ गते राति काठमाडौँमा रहेका छोरालाई चोर आए भन्दै फोन गरेकी झापाको विर्तामोड नगरपालिका ४ शिवनगरकी ६७ वर्षकी विष्णुकुमारी विष्ट बिहान मृत फेला परिन्। 

कचनकवल गाउँपालिका २ स्थायी ठेगाना भएकी विष्णुकुमारी शिवनगरस्थित आफ्नै घरमा एक्लै बस्थिन्। उनको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा घटनामा मुख्य संलग्नता देखिएका झापाको विर्तामोड नगरपालिका ४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका सहयोगी २३ वर्षीय महेश राजवंशी, चोरेको सामान लुकाउन सहयोग गर्ने गंगाकी श्रीमती २० वर्षकी वर्षा राजवंशी, चोरेको सामान बेच्न सहयोग गर्ने ३३ वर्षका ज्याक भन्ने भगीरथ माझी र चोरीका गहना किन्ने अर्जुनधारा नगरपालिका ६ का ४३ वर्षीय धनबहादुर कामी रहेका छन्। 

उनीहरूविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए। 

चोर आयो भन्दै गुहार माग्दा हत्या
त्यो रात साढे ११ बजे उनले काठमाडौँमा अध्ययनरत छोरा प्रकाश विष्टलाई फोन गरेर घरको आसपास चोरहरू हिँडडुल गरिरहेको आशंका गरेकी थिइन्। छोरालाई फोनमा भनेकी थिइन्– घरको आसपास चोरहरू पो हिँडडुल गर्दैछन् कि क्या हो? घरको झ्याल ड्याङड्याङ पारिरहेका छन्।’

छोरा प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई फोन गरेर आग्रह गरे, ‘हाम्रो घरमा चोर पसेजस्तो छ, एकछिन हेरिदिनुस् न।’

श्रीप्रसाद विष्टको घरमा गएर केहीबेर बसे। विष्णुकुमारीसँग गफ गरेर फर्किए। विष्णुकुमारीले फेरि छोरालाई फोन गरेर श्रीप्रसाद आएर हेरेर गएको र सबै सामान्य रहेकाले अब सुत्छु भन्दै सुनाइन्। 

तर वैशाख २६ गते बिहान अबेरसम्म पनि विष्णुकुमारी उठिनन्। श्रीप्रसाद घरमा हेर्न जाँदा उनी सुत्ने कोठामा रगताम्य अवस्थामा मृत फेला परिन्। श्रीप्रसादले प्रकाशलाई र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए। 

जानकारी आइसकेपछि घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कोसी प्रदेश अनुसन्धान समूह विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको टोली खटियो। 

सुरुमा प्रहरीले घटनास्थलमा लगेर डग स्निफिङ गराएको थियो। लागुऔषध दुर्व्यसनी, विगतमा चोरी तथा आपराधिक घटनामा संलग्नहरू र कारागारबाट कैद भुक्तान गरेर छुटेका कैदीहरूको विवरण संकलन गरेर प्रहरीले अनुसन्धान गर्न थाल्यो।

अनुसन्धानका क्रममा खुल्यो, घटनाको दिन साँझ ६ बजेतिर विर्तामोड ४ का २३ वर्षीय महेश राजवंशी, २३ वर्षकै गंगाप्रसाद राजवंशीको घरमा गई चोर्न जाने योजना बनाएका थिए। डीएसपी चन्दका अनुसार बेलुका ९ बजेतिर घरबाट सिटी सफारीमा टायर खोल्न प्रयोग हुने फलामे मार्तल र रेञ्ज ३ थान बोकेर गएका थिए। 

राति ११ बजेदेखि १२ बजेको समयमा गंगाप्रसाद राजवंशी र महेश राजवंशी चोरी गर्न सुमन राजवंशीको घरमा गएका थिए। तर त्यहाँ चोरी गर्न नसकेपछि उनीहरू विष्णुकुमारीको घरतर्फ मोडिएका थिए। 

महेशले घरको कम्पाउन्डबाहिर बसेर रेखदेख गरे। गंगाप्रसाद भित्र पसेर घरको पश्चिमपट्टिको झ्याल खोल्न खोज्दा विष्णुकुमारीले फोनमा बोलेको सुने। विष्णुकुमारीले चोर आएजस्तो छ भनेको कुरा उनले सुने। 

त्यसपछि उनी हामफाल्दै कम्पाउन्डबाट बाहिर भागेका थिए। महेशले आफूले बोकेको मार्तल नजिकै झाडीमा फाले। छिमेकी विष्णुकुमारीको घरमा भेला भएपछि उनीहरूले नजिकै रहेको डम्बरकुमारी प्रसाईंको घरको झ्यालबाट हात छिराएर कोठामा रहेको झोला निकाले। झोलामा भएको सामान फाले र त्यहाँ भएको ७ सय रुपैयाँ लगे। आफूसँग भएको रड र रेञ्चु सोही झोलामा राखेर नजिकै मकैबारीमा लुकेर बसे।

भेला भएका छिमेकीहरू पौने १२ बजेतिर आ आफ्नो घरतिर गए। घरमा विष्णुकुमारी मात्रै भएपछि गंगाप्रसाद फेरि पहिलेकै स्थानबाट पर्खाल नाघेर भित्र गए। महेश भने कम्पाउन्डबाहिर एक घण्टाजति रेखदेख गर्दै गंगाप्रसादलाई कुरेर बसे। त्यसपछि आफ्नो घरतर्फ लागे। 

१२ बजेर १० मिनेटतिर विष्णुकुमारी बाहिरको बत्ती बालिन्। ढोका खोलेर उनी शौचालय जाँदा गंगाप्रसाद ढोकामा रहेको रड लिएर घरभित्र प्रवेश गरे। 

कोठाभित्र पसेपछि उनी खाटमुनि एक घण्टाजति लुकेर बसे। विष्णुकुमारी फोनमा बोल्न थालिन्। विष्णुकुमारी फोनमा कुरा सकेर सुत्न खोज्दा गंगाप्रसाद घरबाट बाहिर निस्कन खोज्दा विष्णुकुमारीले देखिन्। उनले चोर आयो चोर भन्दै चिच्याउन थालिन्। गंगाप्रसादले हातमा भएको रडले विष्णुकुमारीको टाउकोमा प्रहार गरे। विष्णुकुमारी भुईंमा ढलेपछि उनले लगाएका गरगहना निकाले। सोही रडले दराज फोडेर त्यहाँ रहेका सुनका गहना र मोबाइल झोलामा राखेर टेबलमा रहेको साँचोले मूलढोका खोलेर पौने ३ बजेतिर घर गए। मोबाइल स्विच अफ गरेर सम्पूर्ण सामान खाटमुनि बोराभित्र राखे।

प्रहरीले वैशाख २७ गते नै गंगाप्रसादलाई सोधपुछको लागि प्रहरी चौकी विर्ता बजारमा लगेको थियो। तर उनले त्यतिबेला घटनामा संलग्नता स्वीकार गरेनन्। प्रमाणबाट पुष्टि नभएपछि प्रहरीले छाडेको थियो। उनले आफ्नो श्रीमती वर्षा राजवंशीलाई बोरा खोलामा फाल्न लगाएको खुलेको पनि डीएसपी चन्दले बताएका छन्। 

गंगारामले २८ गते ३ बजेतिर औँठी झिकेर अन्य सामान घरको दक्षिणतर्फ रहेको कलको नालामा रहेको स्ल्याबमुनि लुकाएर राखेको र उनकी श्रीमतीले पनि देखेको खुलेको छ। 

जेठ १६ गते सुनको औँठी गंगाप्रसादले ज्याक भन्ने भगीरथ माझीको सहयोगमा झापाको अर्जुनधारा ६ स्थित हनुमान सुनचाँदी पसलमा सञ्चालक धनबहादुर कामीलाई बेचेको पनि खुलेको छ। 

प्रहरीले घटनामा प्रयोग भएका सामान र लुटिएका सामान पनि बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .