यतिबेला (सोमबार साँझ) कोसी र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) भएको छ भने बाँकी स्थानमा मौसम आंशिक बदली (पातलो बादल) देखि मुख्यतया सफा (लगभग पूरा आकाश सफा) छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जानकारी दिएको छ।
यसैबीच राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना २० प्रतिशत देखिएको महाशाखाको आकलन छ।
मौसमविद्का अनुसार नेपालमा हाल स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम-उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परिरहेको छ।
सोही कारण मौसम बदली र वर्षा हुने क्रम जारी रहेको हो।
Shares
प्रतिक्रिया