ad ad

समाज


पुरानो कानुनमा टेक्दा बम्जनको कैद ४ वर्ष घट्यो

पुरानो कानुनमा टेक्दा बम्जनको कैद ४ वर्ष घट्यो

नेपालखबर
असार १७, २०८१ सोमबार २१:४६, काठमाडौँ

जिल्ला अदालत, सर्लाहीले तपस्वी भनेर चिनिएका रामबहादुर बम्जनलाई १० वर्ष कैदको फैसला सुनाएको छ।

बाल यौन दुराचारको मुद्दामा दोषी ठहर भएका बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार १० वर्ष कैद ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने सजाय सुनाएको हो।

यसअघि भण्डारीकै इजलासले असार १० गते बम्जनलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि सोमबारका लागि पेसी तोकेको थियो।

सरकारी वकिलले बम्जनलाई १२ देखि १४ वर्ष कैद हुनुपर्ने जिकिर गरेका थिए। मौजुदा कानुनअनुसार उनलाई हुनुपर्ने सजाय पनि यही थियो।

तर पुरानो कानुनमा टेकेर सजाय निर्धारण हुँदा बम्जनले कम सजाय बेहोर्नुपर्ने भएको छ।

जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीका अनुसार बम्जनले बालबालिका सम्बन्धी ऐनको दफा ६६ (३) 'छ' अनुसारको कसुर गरेको ठहर भएको छ।

दफा ६६ मा बालबालिकाविरूद्धका कसुरहरू उल्लेख गरिएको छ। उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुर्व्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ।

र, उपदफा (३) 'छ' मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ। यस कसुरमा जबरजस्ती करणीसहर सजाय हुने भनिएको छ।

जबरजस्तीकरणीको मौजुदा कानुनमा १४ देखि १६ वर्ष उमेरकी किशोरीमाथि बलात्कार भएमा १२ देखि १४ वर्ष कैद सजाय हुने उल्लेख गरिएको छ। मुलुकी अपराध संहिता, २०७४ मा यो व्यवस्था छ। 

यस मुद्दामा बहस गरेका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालका अनुसार, २०७३ साउन २० गते अन्तिमपल्ट ती किशोरीमाथि अपराध भएको थियो। त्यसबखत पीडितको उमेर १५ वर्ष १ महिना थियो।

यस्तो अपराधमा पीडित १८ वर्ष पुगेपछिको एक वर्षसम्म उजुर गर्न पाउँछन्। ती पीडित किशोरीले २०७६ माघमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

न्यायाधिवक्ता दाहालका भनाइमा, बालबालिकासम्बन्धी ऐन, २०४८ कै व्यवस्था पछिल्ला कानुनमा पनि निरन्तर रहेकाले यस मुद्दामा क्षेत्राधिकार र हदम्यादसम्बन्धी कुनै विवाद थिएन। 

सोमबार सजाय निर्धारण गर्दा जिल्ला अदालतले साविक मुलुकी ऐनको जबरजस्तीकरणीको महलको ३ नं अनुसार बम्जनलाई सजाय सुनायो। जसमा १४ देखि १६ वर्षबीचको उमेरकी बालिका पीडित भए ६ देखि १० वर्षसम्म कैद सजाय हुने उल्लेख छ। यस हिसाबले हेर्दा बम्जनलाई अधिकतम हदको सजाय तोकिएको देखिन्छ।

मौजुदा कानुनअनुसार उनलाई यसैगरी अधिकतम सजाय सुनाइएको भए उनलाई १४ वर्ष कैद सजाय हुन्थ्यो। यसअनुसार उनलाई ४ वर्ष कम सजाय भएको देखिन्छ।   

बम्जन अहिले जजेश्वर कारागारमै छन्। उनलाई सीआईबीले २०८० पुस २४ गते काठमाडौँबाट पक्राउ गरेर कारबाहीका लागि सर्लाही पठाएको थियो।  जिल्ला अदालत सर्लाहीले पुस २७ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .