ad ad

समाज


सूर्यविनायकका ३० सामुदायिक स्कुलमा प्रतिस्पर्धाबाट प्रअ : हरायो ‘मर्ज’को बहस, बढ्यो विश्वास (भिडिओ)


रोश्ना सुब्बा
साउन २२ , काठमाडौँ

भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक (प्रअ) नियुक्त गरेको एक वर्ष भएको छ। सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धा गरी प्रअ छनोट गरिएको सम्भवतः देशमै यो पहिलो अभ्यास हो। 

पालिकाका शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवाल भन्छन्, ‘एक वर्षमा विद्यार्थी संख्या ८ प्रतिशतले बढेका छन्। विद्यार्थी संख्या न्यून भएर एकअर्कामा गाभ्नुपर्छ भनिएका आधारभूत विद्यालय गाभिएनन्। बरू सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै गएको छ।’

एक वर्षको समीक्षा गर्दा प्रधानाध्यापकहरूमा केही गनुपर्छ भन्ने हुटहुटी देखिएको उनको भनाइ छ। 

‘प्रतिस्पर्धामार्फत प्रअ भएपछि उहाँहरूमा आत्मविश्वास बढेको छ। प्रशासन चलाउन सहज भएको छ। प्रतिस्पर्धा गरेर आएका सक्षम प्रधानाध्यापक भनेर सहकर्मी तथा समान तहका शिक्षकहरूले उहाँहरूलाई हेर्ने दृष्टिकोण फरक पाइएको छ,’ कटुवालले भने। 

खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक हुँदा आत्मसन्तुष्टि प्राप्त भएको अनुभव प्रअहरूले गरेका छन्। शान्ति निकेतन माविका प्रअ दीपक नेपाल भन्छन्, ‘खुलामा भिडेर आएको हो भनेर आत्मसन्तुष्टि पाइँदो रहेछ। सकारात्मक ऊर्जा थपिएको छ। विद्यार्थीको भविष्य र विद्यालयप्रति गहन जिम्मेवारी महसुस हुँदो रहेछ। एक वर्षमा उल्लेख्य विद्यार्थी संख्या बढेको छ। हामीले विद्यार्थीको विषयगत सिकाइस्तर पहिचान गरेका छौँ र अब सुधारका लागि काम गर्दै छौँ।’ 

अरनिको माविका प्रअ महेन्द्र श्रेष्ठ प्रतिस्पर्धाअघि त्यही विद्यालयका माध्यमिक तह अंग्रेजी विषय शिक्षक थिए। उनी प्रधानाध्यापकको प्रतिस्पर्धामा सहभागी भए। उनले योग्यताक्रमको सूचीमा पहिलो नम्बरमा नाम निकाले। र, आफू कार्यरत विद्यालय छाने। 

प्रअ श्रेष्ठ भन्छन्, ‘पठनपाठन र आर्थिक पारदर्शितालाई विशेष प्राथमिकता दिएको छु।’ 

विद्यालयभित्र आर्थिक सुशासन, कक्षा व्यवस्थापन, विद्यार्थीको सिकाइ स्तर पहिचान, विद्यार्थी संख्या बढाउने लगायतका पाटामा प्रअहरू लागिपरेका छन्। सुधारका लागि प्रयास गरिरहेका छन्। तर विद्यालयभित्र के कस्ता समस्या छन् भनेर उपचारात्मक अनुगमन गरी पालिकाले सहयोग गर्नुपर्ने अपेक्षा उनीहरूले गरेका छन्। 

शिक्षा शाखा प्रमुख कटुवाल भन्छन्, ‘प्रधानाध्यापक नियुक्ति गरेपछि थप वातावरण बनाउन प्रयत्न गरिएको छ। विद्यालयमा टिम बनाइदिने प्रयास पनि भएको छ। सुधारका लागि पालिकाभित्र आन्तरिक शिक्षक सरुवा गरेर हुन्छ कि भनेर छलफल हुँदै छ। सल्लाह सुझाव र सहयोग गर्ने गरी अनुगमनको तयारी पनि भइरहेको छ।’ 

सूर्यविनायक नगरपालिकाले विद्यालय शिक्षा सुधारका लागि आन्तरिक स्रोतबाट ५ करोड रूपैयाँभन्दा बढी छुट्याएको छ। 

‘स्रोत नभएका कारण हिजो काम गर्न सकिएन भन्ने अवस्था थियो। तर प्रअले राम्रो कार्यक्रमको प्रस्ताव ल्याउँदा स्रोतको सुनिश्चितता गरेका छौँ। भौतिक पूर्वाधारका लागि पनि अलग्गै रकम छुट्याइएको छ,’ उनले भने।

शैक्षिक तथा भौतिक विकासका लागि पालिका स्रोत उपलब्ध गराउन तयार रहेको उनले प्रष्ट पारे।  

नगरपालिकाको शिक्षा ऐन २०७५ अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष वा निजले तोकेको सदस्य अध्यक्ष रहने व्यवस्था छ। यो व्यवस्थाले विद्यालयको पहुँचमा स्रोत आवश्यकताअनुसार सजिलै पुग्ने गरेको शिक्षा शाखा प्रमुख कटुवालको भनाइ छ। 

उनी भन्छन्, ‘वडा अध्यक्षले वडाको बजेटबाट नभए कार्यपालिकाबाट समस्या समाधान गर्न प्रयास गर्ने गरेका छन्।’ 

प्रअ दीपक नेपालको अनुभव पनि यस्तै छ। 

‘वडाअध्यक्ष व्यवस्थापन समिति अध्यक्ष हुँदा विद्यालयमा आर्थिक स्रोत जुटाउन सहज भएको छ,’ उनले भने।   

पालिकाले प्रअ भत्ता संघीय अनुदानभन्दा दोब्बर गरेको छ। माध्यमिक तहका प्रअ भत्ता पाँच सय छ। पालिकाले यसमा थप गरी आन्तरिक स्रोतबाट दोब्बर उपलब्ध गराएको छ। सबै तहका प्रअका लागि यो व्यवस्था छ। यसबाहेक प्रोत्साहन भत्ता पनि दिने प्रधानाध्यापक नियुक्ति कार्यविधिमा उल्लेख छ। कटुवालका अनुसार बाह्य पक्षबाट मूल्यांकन गरी यो भत्ता उपलब्ध गराइनेछ। 

पालिकाले प्रधानाध्यापक नियुक्ति कार्यविधि बनाएको थियो। यसैका आधारमा गत वर्ष पालिकाका ३० सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिएको थियो। उनीहरूको पदावधि पाँच वर्षको हुनेछ। छनोटका लागि विज्ञ सम्मिलित  प्रधानाध्यापक छनोट मूल्यांकन समिति बनाइएको थियो। समितिमा प्राडा मनप्रसाद वाग्ले, प्राडा विनय कुसियैत, प्राडा सुसन आचार्य लगायत थिए। 

प्रअ छनोटको मूल्यांकन सय पूर्णाङ्कमा गरिएको थियो। यसमध्ये शैक्षिक योग्यता, ज्येष्ठता, तालिम र अध्यापन नतिजा वापत ३० अंक राखिएको थियो। विद्यालय विकास प्रस्तावका लागि ३०, प्रस्तुतीकरण र छलफलका लागि ३० र अन्तर्वातौका लागि ३० अंक कायम गरिएको थियो। 

शैक्षिक योग्यता, ज्येष्ठता, तालिम र अध्यापन नतिजावापत ३० अंकको मूल्यांकन पालिकाले र बाँकी ७० अंकको मूल्यांकन विज्ञ समितिले गर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ। 

शिक्षा शाखा प्रमुख कटुवाल भन्छन्, ‘विद्यालय सुधारको एउटा एजेन्ट प्रअ हो। सुधारका लागि काम गर्ने उद्देश्यले खुला प्रतिस्पर्धा गरिएको हो। युवा र उर्जाशील शिक्षक आउन् भनेर सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेकाले आवेदन दिन सक्ने व्यवस्था गरियो। छनोटको विधि निष्पक्ष र विश्वसनीय बनायौँ। त्यसैले विवाद भएन।’

सूर्यविनायक नगरपालिकाले २०८० वैशाखमा प्रअ नियुक्त गरेपछि सरकारले पनि आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने उल्लेख गरेको थियो।

सूर्यविनायक नगरपालिकाका शिक्षा प्रमुख रत्नबहादुर कटुवालसँग नेपालखबरले गरेको भिडिओ कुराकानी : 

तस्बिर/भिडिओ : सरोज बैजु

साउन २१, २०८१ सोमबार १९:४२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .