पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायण बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएका छ।
सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिएपछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।
सडक पूर्ण रूपमा सञ्चालनका लागि पहाड फोड्नुपर्ने र खोलाको किनारबाट जग उठाउनुपर्ने भएकाले सडक भासिएको दोस्रो दिन पनि मर्मतको काम नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।
मङ्गलबार दिनभर सडक मर्मतको काम गरिएकामा गएरातिको वर्षाले लेदोसहितको माटो सडकमा खसाल्दा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।
बिहीबार बिहान पानी नपरेमा बिहान ८ बजेदेखि मर्मतको काम सुरु गरेर दुई घण्टामा दुईतर्फी नै सडक सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ।
सोमबार साँझ दाउन्ने बजारमा सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहानदेखि पूर्णरूपमा यातायात अवरुद्ध भएको थियो। रासस
Shares
प्रतिक्रिया