ad ad

समाज


सामाजिक विषयमा धेरै विद्यार्थी फेल हुनुको कारण (भिडिओ)

प्रअ महेन्द्र विष्टको समीक्षा : मुख्य कारण शिक्षक

रोश्ना सुब्बा
भदौ १ , काठमाडौँ

यो वर्षको विद्यालय तहको अन्तिम परीक्षा (कक्षा १२) मा अनिवार्य अंग्रेजी विषयपछि सामाजिक अध्ययनमा धेरै विद्यार्थी नन ग्रेडेड (एनजी) मा परेका छन्। तीन लाख ९० हजार परीक्षार्थीमध्ये अंग्रेजीमा एक लाख दुई हजार विद्यार्थीको एनजी आएको छ। सामाजिक अध्ययनमा ५२ हजार विद्यार्थी एनजीमा परेका छन्। 

कक्षा १० को परीक्षा (एसईई)मा गणित, विज्ञान र अंग्रेजीपछि धेरै विद्यार्थी सामाजिक अध्ययनमा अनुत्तीर्ण भएका थिए। एसईईमा चार लाख ६४ हजार विद्यार्थीमध्ये करिब ७४ हजार विद्यार्थीको सामाजिकमा एनजी आएको थियो।   

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र विष्ट भन्छन्, ‘कमजोर नतिजा आउनुमा शिक्षण सिकाइमा ठूलो कमजोरी छ। यसको मुख्य कारण शिक्षक नै हो। सामाजिक अध्ययनलाई रुचिपूर्ण विषय बनाउन सकिएको छैन। सिकौँ सिकौँ, बुझौँ बुझौँ लाग्ने गरी शिक्षण सिकाइ गर्न सकिएको छैन। यो विषयको पालो आएपछि विद्यार्थी रुचि नमानेजस्तो गर्छन्। कक्षाकोठामा कताकता हराएझँै लाग्छन्।’

सामाजिक अध्ययनको विद्यालय तहको पाठ्यक्रमको मर्म ‘गर र सिक’ भन्ने छ। पाठ्यक्रमअनुसार खोजी, छलफल, अवलोकन, प्रस्तूति, प्रतिवेदन तयारी, परियोजना कार्य लगायतका विभिन्न विधि र क्रियाकलापबाट शिक्षण सिकाइ गनुपर्ने उल्लेख छ। तर व्यवहारमा किताब पढ्ने, पढाउने र कण्ठ पार्ने अभ्यासमा बढी केन्द्रित छ। 

विष्ट सामाजिक अध्ययन विषय शिक्षक पनि हुन्। पाठ्यक्रम निर्माणमा पनि उनको अनुभव छ।

प्रशिक्षक समेत रहेका प्रअ विष्ट भन्छन्, ‘धेरै शिक्षक तालिमप्राप्त छौँ। तर तालिम कक्षाकोठामा पुगेको छैन। कहीँ धेरै विद्यार्थी भएकाले सामग्री र क्रियाकलाप तयार गर्न सकिएन भन्ने छ। कतै धेरै पिरियडको लोड भएर सामग्री र क्रियाकलाप तयारी गर्न भ्याइँदैन भन्ने पनि छ। तर विद्यार्थी र लोड धेरै नभएको ठाउँमा पनि तालिम कम प्रयोग भएको छ।’ 

विद्यार्थीलाई परिवार, समाज, देश, भूगोल, इतिहास, संस्कृति आदि बुझाउनेदेखि उनीहरूमा तर्र्क, चिन्तन, अनुसन्धान गर्ने क्षमता र सीप विकास गर्ने अनि असल नागरिक बनाउनेसम्म पाठ्यक्रमको उद्देश्य छ। 

प्रअ विष्टको विश्लेषणमा नतिजा कमजोर आउनुमा परीक्षा प्रणाली अर्को कारण हो। 

उनी भन्छन्, ‘सामाजिक अध्ययन बुझाउने विषय हो। सिकाउने विषय हो। यो विषयले सिकाइ केन्द्रित शिक्षण खोज्छ। सिकाइ विभिन्न क्रियाकलापबाट आउँछ। तर परीक्षा प्रणालीले तीन घण्टे लिखित परीक्षालाई मान्यता दिन्छ। तीन घण्टामा लेखेकोे कुरालाई आधार मानियो। त्यसैले नोट लेखाउने रट्ने रटाउनेमा सिकाइ केन्द्रित भयो।’ 

आन्तरिक मूल्यांकनलाई महत्त्व नदिइएको उनको ठम्याइ छ। 

‘विद्यार्थीमा विकास भएको तर्क गर्ने क्षमता, अभिव्यक्ति सीप, सामाजिक व्यवहार लगायत विभिन्न जीवनोपयगी सीप हेरेर गरिने आन्तरिक मूल्यांकन नतिजामा समावेश गरिएन। देखाउन मात्र राखियो। सैद्धान्तिकमा आउने अंकमा आधारमा नतिजा निकालियो। एनजी गरियो। यसले पनि नतिजामा प्रभाव पारेको छ,’ उनले भने। 

लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सबै विषयका सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक ल्याउन नसके एनजी हुने व्यवस्था छ। कक्षा १० र १२ को परीक्षामा विद्यालयबाट २५ प्रतिशत आन्तरिक मूल्यांकन गर्ने गरिन्छ। 

विद्यार्थीको उमेर र तिनको व्यावहारिक जीवनमा उपयोग हुने दृष्टिकोणबाट सामाजिक अध्ययनका कतिपय विषयवस्तु बुझ्न निकै गाह्रो भएको पाइन्छ। यसकारण पनि तल्लो कक्षादेखि नै धेरै विद्यार्थीले यसलाई गाह्रो विषयका रूपमा लिने गर्छन्। 

जस्तोः कक्षा ६ का विद्यार्थीले वि.सं २००७ सालदेखि हालसम्मका राजनीतिक घटनाक्रम र उपलब्धिका बारेमा पढ्नुपर्छ। कक्षा ७ का विद्यार्थीले नेपालको वर्तमान संविधानका विशेषता, प्रदेश सरकारका कार्यको बारेमा पढ्नुपर्छ। यस्ता विषयवस्तु उनीहरूले बुझनेभन्दा रट्नुपर्ने बाध्यता छ। 

प्रअ विष्ट स्वीकार्छन्, ‘सामाजिक अध्ययनप्रति रुचि नहुनुको कारण यस्ता विषयवस्तु पनि हुन्। आफूसँग सम्बन्धित नभएका कुरामा रुचि हुँदैन। कतिपय शब्द उनीहरूले बुझ्न पनि सक्दैनन्। पाठ्यक्रममा कतिपय विषयवस्तु जटिल छन्। सरलीकृत गर्न सकिन्थ्यो।’ 

कसरी गर्न सकिन्थ्यो?
यो प्रश्नको जवाफ उनी यसरी दिन्छन्, ‘नेपालको संविधानको विशेषता नभनीकन धारणा दिन सकिन्थ्यो। कक्षामा नियम हुन्छ। विद्यालयमा नियम हुन्छ। घरमा पनि नियम हुन्छ। यी ठाउँमा नियममा चल्दा सबै कुरा व्यवस्थित हुन्छ। त्यस्तै, राज्यको पनि नियम हुन्छ। त्यही नियम संविधान हो भनेर उनीहरूलाई धारणा दिए मात्र पुग्थ्यो।’

माथिल्ला कक्षामा पनि कतिपय विषयवस्तु निकै गाह्रो भएको शिक्षकहरू बताउँछन्। आफूले पढाउन नसकेर अरुको सहायता लिने गरिएको पनि केही शिक्षकले बताएका छन्। प्रअ विष्टको अनुभवमा पनि पाठ्यक्रममा सुधारको आवश्यकता छ। 

सामाजिक अध्ययनमा किन विद्यार्थीको नतिजा कमजोर आएको हो? कसरी सुधार गर्न सकिन्छ? यसै सेरोफेरोमा सरस्वती माध्यमिक विद्यालय, ललितपुरका प्रअ महेन्द्र विष्टसँग नेपालखबरले गरेको भिडियो कुराकानी
 

साउन ३२, २०८१ शुक्रबार २१:४८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .