ad ad

कारोबार


नाडा अटो सोमा दुईपांग्रेका यी ब्रान्ड : अधिकांशका नयाँ, कसले के ल्याउँदै?

नाडा अटो सोमा दुईपांग्रेका यी ब्रान्ड : अधिकांशका नयाँ, कसले के ल्याउँदै?

वसन्त अर्याल
भदौ १, २०८१ शनिबार १९:६, काठमाडौँ

नाडा अटो सोमा १९ ब्रान्डका दुईपांग्रे मोटरसाइकल तथा स्कुटर सहभागी हुँदै छन्।

सहभागी हुनेमध्ये अधिकांश विद्युतीय दुईपांग्रेको सहभागिता छ। नेपालमा बढी बिक्री हुने बजाज, हिरो, यामाहा, रोयल इन्फिल्ड, भेस्पा अप्रिलासँगै नयाँ विद्युतीय दुईपांग्रेको उपस्थिति छ। 

प्रिमियम बाइकको रुपमा ट्राइम्प, रोयल इन्फिल, बेनेली ब्रान्ड सहभागी छन्। चारपांग्रेको तुलनामा नेपाली बजारमा दुईपांग्रेका विद्युतीयको बजार आक्रामक विस्तार नभए पनि नाडा अटो सोमा विद्युतीय दुईपांग्रेको उत्साहजनक उपस्थिति रहनेछ। 

२०२४ को अटो सोमा सहभागी केही ब्रान्डले नयाँ मोडल ल्याउँदै छन् भने केहीले अहिलेकै प्रोडक्टलाई निरन्तरता दिनेछन्। नेपाली बिक्रेताले भारतीय उत्पादनहरुको विषयमा छलफल गरिरहेकाले सबै मोडल तय भइसकेको छैन।

बजाज
हंसराज एन्ड हुलासचन्द आधिकारिक बिक्रेता रहेको बजाजले नेपालमा सबैभन्दा बढी पल्सर सिरिज बिक्री गर्दै आएको छ। पल्सर, एनएस र एन सिरिज छन्। डोमिनार र एभेन्जर समेत नेपाली सडकमा गुडिरहेका छन्। 

‘बजाज नाडा अटो सोमा नयाँ प्रोडक्टसहित उपस्थिति जनाउँदै छ’, एचएच बजाजका मार्केटिङ हेड अमित चालिसे भन्छन्, ‘प्रदर्शनीकै समयमा लन्च गर्ने तयारी छ।’

हंसराज एन्ड हुलासचन्दले नयाँ प्रिमियम ब्रान्ड पनि सार्वजनिक गर्दै छ। ‘ट्राइम्प’ ब्रान्डको पावरफुल मोटरसाइकल नाडा अटो सोमा प्रदर्शनी गर्दै छ। बेलायती मोटरसाइकल ब्रान्ड हो।

हिरो
सीजी मोटर्स आधिकारिक बिक्रेता भएसँगै पहिलो पटक हिरोको ब्रान्ड नाडा अटो सोमा प्रस्तुत गर्दै छ।

नेपालमै एसेम्बल उद्योग स्थापना गरी बिक्री सुरु कम्पनीले स्कुटर र मोटरसाइकल सोकेसमा राख्दै छ। एक्सपल्स २००, स्पेन्डर र स्कुटरमा जुम ११० रहेको छ। कम्पनीले एक्सपल्स ४ लाख ६० हजार र जुम स्कुटर २ लाख ५३ हजारमा बिक्री गरिरहेको छ। 

‘हिरोको एक्सएमआर र एक्सिट्रम १५६ नाडा अटो सोमा आउने पक्का छ’, सीजी मोटर्सका प्रकाश देवकोटा भन्छन्, ‘भारतीय उत्पादक कम्पनीसँग छलफल भइरहेको छ। अरु कुन प्रोडक्ट हुने अझै फिक्स्ड (निश्चित) हुन सकेको छैन।’

रोयल इन्फिल्ड
नेपालमै एसेम्बल सुरु गरेको रोयल इन्फिल्डका ४ मोडल नेपाली सडकमा गुडिरहेका छन्।

मेटोर ३५०, हन्टर ३५०, क्लासिक ३५० र स्क्रयाम ४११ मोडलका बिक्रीवितरण गर्दै आएको छ। 

‘नाडा अटो सोमा रोयल इन्फिल्डका ४ मोडल प्रदर्शनीमा राख्दै छौँ’, अल्फा मोटोकर्पका एक अधिकारीले भने, ‘नयाँ प्रोडक्ट तत्काल लन्च हुने सम्भावना छैन।’

यामाहा
एमएडब्लु ग्रुपको दुईपांग्रेको रुपमा यामाहाका विभिन्न मोडल प्रदर्शनीमा राख्दै छ।

कम्पनीले अहिले एफजेटका सिरिज, एम १५ र आर १५का सिरिज रहेका छन्। स्कुटरमा रे जेटआर सिरिज बिक्री गर्दै छ। यामाहाले छिट्टै विद्युतीय स्कुटर नेपाली बजारमा ल्याउँदै छ। 

‘विद्युतीय स्कुटर ल्याउने तयारी गरिरहेका छौँ। अहिले परीक्षणकै रुपमा रहेकाले प्रदर्शनीमा हुन्छ/हुँदैन एकीन छैन’, एमएडब्लु इन्टरप्राइजेजका एक अधिकारीले भने, ‘विद्युतीय नभए पनि नयाँ कुनै प्रोडक्ट सार्वजनिक गर्छौँ।’

एथर 
एथर वैद्य अर्गनाइजेसनले नेपालमा बिक्रीवितरण गर्दै आएको छ। एथरको ४५० सिरिजका २ वटा मोडल नेपाली सडकमा गुड्दै आएका छन्।

एक पटकको फुल चार्जमा १५० किमिसम्म गुड्ने भनिए पनि ११० किमि सडकमा सहजै गुड्ने कम्पनीले उल्लेख गरेको छ। ३.७ किलोवाट आवर र २.९ किलोवाट आवर ब्याट्रीमा स्कुटर उपलब्ध छ।

‘नाडा अटो सोमा एथरको ४५० एस सोकेसको रुपमा रहन्छ’, वैद्य इनर्जीका एक कर्मचारीले भने, ‘एथर ब्रान्डको हेलमेट सार्वजनिक गर्छौँ।’

भेस्पा/अप्रिला
नेपालमा डेल्टा अटोकर्पले अप्रिला र भेस्पाका दुईपांग्रे बिक्रीवितरण गर्दै आएको छ।

भेस्पाका १२५ र १५० सीसीका स्कुटर नेपाली बजारमा उपलब्ध छन्।

अप्रिलाका १२५ देखि १६० सीसीसम्मका प्रिमियम स्कुटर उपलब्ध छन्।

सिफमोटो, जिहो 
ऋषि ट्रेड सेन्टरले सीएफ मोटोका मोटरसाइकल र जिहोका स्कुटर बिक्री गर्दै आएको छ।

२५० देखि ४५० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा बिक्री गर्छ। सीएफ मोटोले नयाँ मोटरसाइकल अटो सोमा ल्याउँदै छ।

त्यसबाहेक ९० देखि १६० किमि रेन्जका विद्युतीय स्कुटर छन्। चिनियाँ विद्युतीय ब्रान्ड जिहोको एआई ४ सार्वजनिक गर्दै छ। स्कुटरमा ३ किलोवाटको मोटर छ।

गोगोरो
गोगोरो नेपाल भित्रिएको नयाँ ब्रान्ड हो। नेपालमा ब्याट्री स्वापिङ टेक्नोलोजीसहित नेबुला इनर्जीले यस ब्रान्डका विद्युतीय स्कुटर बिक्रीवितरण थालेको छ। खासगरी राइड सेयरिङ र डेलिभरी गर्ने कम्पनीलाई लक्षित गरिएको छ। 

गोगोरोको क्रसओभर जीएक्स २५० स्कुटर काठमाडौंका सडकमा गुडिरहेका छन्। 

कम्पनीले नेपालमा जुमजुम, फुडमान्डु, गल्ली म्यापलगायतका कम्पनीसँग सहकार्य गरिसकेको छ। नाडा अटो सोमा कम्पनीले यस ब्रान्डको स्वाप टेक्नोलोजी प्रयोगलाई प्राथमिकता दिने भएको छ। 

‘नाडा अटो सोमा गोगोरोका ३ वटा मोडल सोकेस गर्दै छौँ’, गोगोरो नेपालका चिरञ्जीवी शाह भन्छन्, ‘विद्युतीय स्कुटर मात्रै भए। चार्जिङ समस्या देखियो। त्यसलाई समाधान गर्न केही सेकेन्डमै चार्ज हुने प्रविधिको अनुभव दिलाउँछौँ।’

याडिया
नेपालमा विद्युतीय स्कुटर बिक्री गर्दै आएको याडियाले ६ मोडल बिक्री गर्दै आएको छ। जी ६, सी १५, जी ५, एसलाईक, ई८एस प्रो र एम६ मोडल छन्। 

‘याडियाले नयाँ प्रोडक्ट ल्याउने तयारी गरिरहेको छ। अहिले कुन आउँछ निश्चित भइसकेको छैन’, याडियाका एक अधिकारीले भने। 

त्यसबाहेक, भिजी अटो मोबाइल्सले बिक्रीवितरण गरिरहेको सुजुकी २ पांग्रेमा नेपालको जिक्सर मोटरसाइकल चर्चित छन्। यसबाहेक सुजुकीकै एसिस, बर्गम्यान, एभिनस स्कुटर पनि उपलब्ध छन्। 

त्यस्तै अर्को विद्युतीय ब्रान्ड गारोले नेपालका ३५० किमि रेन्ज दिने विद्युतीय स्कुटर गारोले बिक्री गर्दै आएको छ। यसकै डीटी ६० मोडलको स्कुटरले प्रतिघण्टा ५० किमि दूरी पार गर्छ। फुल चार्ज हुन ३ घण्टा लाग्छ।

यसको आधिकारिक बिक्रेता महाराजगन्जमा छ। एनआईयूले नेपालमा विद्युतीय स्कुटर र साइकल बिक्री गर्दै आएको छ। 

यसका एनक्युआई र एमक्युआई सिरिज छन्। कम्पनीले २०१५ बाट विद्युतीय स्कुटर अन्तर्राष्ट्रिय बजारमा बिक्री थालेको थियो। नेपालमा ७ ठाउँबाट बिक्रीवितरण हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .