ad ad

समाज


कोटिहोम आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि पशुपतिमा तनाव

कोटिहोम आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि पशुपतिमा तनाव

फाइल तस्बिर : कोटिहोम महायज्ञ स्थल


नेपालखबर
भदौ १, २०८१ शनिबार ७:३१, काठमाडौँ

पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ।  

महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि महायज्ञ स्थल तनावग्रस्त भएको हो। 

विजय कृष्णमूर्तिले शुक्रबार मध्यराति फेसबुक लाइभ गर्दै आफूलाई पक्राउ गर्न गौशाला प्रहरी आएको भन्दै आफ्ना भक्तजन/समर्थकहरूलाई प्रतिकार गर्न आदेश दिएका थिए। 

त्यसलगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए। यस क्रममा सादा पोसाकमा रहेका केही प्रहरीलाई हातपात पनि भएको छ। 

यस विषयमा बुझ्दा काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले शुक्रबार राति पशुपतिमा प्रहरी पठाइएको र केही बेर तनाव भएको पुष्टि गरे। 

उनले भने, ‘केही बुझ्नु थियो, त्यसैका लागि प्रहरी गएको थियो’, एसपी अधिकारीले शनिबार बिहान नेपालखबरसँग भने, ‘तर त्यहाँ तनाव भएछ, केही प्रहरीमाथि हातपात पनि भएको छ।’

तर उनले विषय प्रस्ट खुलाउन चाहेनन्। ‘यस विषयमा हामी वास्तविकता बुझ्दै छौँ’, एसपी अधिकारीले भने। 

अहिलेसम्म कसैलाई पक्राउ भने नगरिएको उनले बताए। 

साउनभरका लागि आयोजित महायज्ञको हिजो (साउन ३२) अन्तिम दिन थियो।  

यसैबीच कथावाचक रामकृष्ण उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘हिजो (शुक्रबार) राति प्रहरी प्रशासनले पशुपतिनाथ मन्दिर, कोटिहोम परिसरमा जे गर्‍यो भनेर बाहिर आयो, सो गलत नै गरेको भन्ने हाम्रो ठहर हो। भित्री कारण अनेकौँ हुन सक्लान्, तर ज्यानमारालाई धरपकड गर्न गएजस्तै गर्नु अधैर्यताको परिणाम हो। भित्री कुरा चाँडै बाहिर आओस्। सन्देश राम्रो गएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .