ad ad

समाज


रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ आरोपको विवरण

रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ आरोपको विवरण

नेपालखबर
भदौ २, २०८१ आइतबार १५:२, काठमाडौँ

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेलविरूद्ध अख्तयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

युवराज सफलले खरेलविरूद्ध नक्कली सुराकी खडा गरी कमिसन लिएको दाबी गरी अख्तियारको टंगालस्थित मुख्यालयमा उजुरी दिएका हुन्।

उनले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवं सुराकी कमिसनबापत भुक्तानी गरिएको रकमको विवरणका साथै त्यस्तो रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई अनुसन्धान गर्नुपर्ने उजुरीमा भनेका छन्।

उक्त निवेदन भदौ २ गते अख्तियारमा दर्ता भएको छ। दर्ता नम्बर सी–०१०४०८ रहेको छ।

सही सुराकीलाई नदिईकन नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिनेदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा खरेलसाई तत्काल प्रकाउ गरी लिएको रकम राज्यकोषमा दाखिला गर्न लगाउन पनि उनले माग गरेका छन्।

खरेलले श्रीमतीका नाममा सुराकी खर्च लिएको कुरा विभिन्न टेलिभिजन अन्तर्वार्ताहरूमा स्वीकार गरेका छन्।

खरेल २०७९ को निर्वाचनमा सुशासन पार्टी गठन गरी काठमाडौँ-१ मा उम्मेदवार थिए भने २०८० वैशाखको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा-२ मा उम्मेदवार भएका थिए। ती दुवै चुनावमा उनी पराजित भएका थिए।

पछिल्लोपल्ट उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरूद्ध उजुरी दिएर चर्चामा आएका थिए।

यस्तो छ उजुरीको व्यहोराः
माननीय प्रमुख आयुक्तज्यू
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,केन्द्रीय कार्यालय, टंगाल, काठमाडौँ।

विषय :- नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकम बारे छानबिन गरी आवश्यक कारबाही गरी पाउँ।

महोदय,

उपर्युक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले सुराकीवापत कमिसन खाएँ भन्ने अभिव्यक्ति दिएकोप्रति देशभक्त राष्ट्रवादी नागरिक म युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ। कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनवापत दिने व्यवस्था गरे तापनि निज रमेश खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको कुरा बताएका थिए। सही सुराकीलाई  नदिईकन नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिनेदिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेलसाई तत्काल प्रकाउ गरी निजले राज्यकोषबाट लिएको रकम कति हो, सो राज्यकोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन बमोजिम कडा कारबाही गर्न माग गर्दछु।

साथै विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआाइबीले बरामद गरेको ३५ किलो सुनलगायत हालसम्म जफत गरेका सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीहरूले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तहरूको नाममा करोडौँ रुपैयाँ सुराकी कमिसन दिएको भनी विभिन्न सञ्चार माध्यमहरूमा समाचार प्रकाशन प्रसारण भएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी भएकै हुनुपर्छ।

अतः सुराकी कमिसनको नाममा हुँदै नभएको नक्कली सुराकी गरी हालसम्म अर्बौँ रूपैयाँ घोटाला भई राज्यकोषमा घाटा लाग्न गएकोले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवम् सुराकी कमिसनवापत भुक्तानी गरिएका रकम एवम् रकम प्राप्त गर्नेहरूको विस्तृत विवरणको सक्कल फाइल झिकाई नक्कली सुराकी बनेर निजहरूले लिएका रकमहरू अविलम्ब राष्ट्रिय ढुकुटीमा ल्याई निजहरुलाई नक्कली सुराकी खडा गरी सुराकी कमिसन लिएको नाममा कानुन बमोजिम हदैसम्मको कारबाही गर्न गराउन एक सचेत, इमान्दार, स्वाभिमानी र देशभक्त नागरिकको तर्फबाट प्रस्तुत उजुरी पेस गरेको हुनाले यस उजुरीउपर आवश्यक अनुसन्धान गरी दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दछु।

निवेदक
युवराज सफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .